site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बीपी जयन्ती’मा विश्वेश्वरको खोजी 
Tiktok banner adTiktok banner ad

बीपी जन्मेको एक सय दश वर्ष पुगेको सन्दर्भ पारेर नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा ‘बीपी साहित्य महोत्सव—२०८०’ आयोजना गरेको रहेछ । बीपीसँग सम्बन्धित केही नयॉ पुस्तक पनि पाइन्छ कि भनेर म एकजना मित्रसहित त्यहाँ पुगेको थिएँ ।

अन्तरक्रिया पनि जारी थियो । मञ्चमा आगन्तुक अतिथिहरू बोल्दै थिए बीपीका बारेमा । मलाई उनीहरूका विश्लेषणले निराश बनाउँथ्यो । त्यसैले त्यता जाने रुचि भएन ।

पछि पत्रिकामा उनका परिवारका सदस्यहरूको बीपीसँगका संस्मरणका केही विवरण भने पढेँ ।

मैले भोला चटर्जीको ‘विश्वेश्वरप्रसाद कोइराला’सम्बन्धी पुस्तक खोजेको थिएँ, तर साझा प्रकाशनको काउन्टरमा बसेका व्यक्तिले बोल्ने पनि जाँगर देखाएनन् । भर्खरका ठिटा थिए । भन्दै थिए, ‘सिद्धियो । भोलि आउन सक्छ ।’

यस्तो लाग्थ्यो– उनले बीपीलाई अहिलेका लेखक तथा नेताहरूजस्तै ठाने । सायद उनले बीपीको कुनै पुस्तक पढेकै थिएनन् ।

म भने त्यहाँ साँच्चिकै थप केही सामग्री पाइएला कि भनेर गएको थिएँ । तर, सबैभन्दा उपेक्षित त्यहाँ त्यही पुस्तक प्रदर्शनी थियो । कतिसम्म भने त्यहाँ बीपीको ‘जेल जर्नल’ र ‘आत्मवृतान्त’ समेत थिएन ।

मैले जिज्ञासा राख्दा भन्दै थिए, ‘अघि भर्खर हामीलाई फोन गरेर किताब राख्दिनु भनेका थिए । साझामा भएका केही किताब खोजतलास गरेर यतिसम्म गरियो । के गर्नु, हैरान भइएको छ ।’ उनमा बोल्ने पनि जाँगर थिएन । 

मैले धेरै वर्षअगाडि पढेका बीपीका दुई पुस्तक पुनः किनेँ, ‘हिटलर र यहूदी’ अनि ‘सुम्निमा’ । साथीले पनि यिनै दुई पुस्तक किने ।

साथीको अन्तरक्रियामा बस्ने मन रहेछ । म भने नेताका चुरीफुरी अनि वक्ताका दृष्टिकोणविहीन सतही उत्तर सुनेर सोच्दै थिएँ– साँच्चिकै बीपी आफैँले बोलेको भए यी प्रश्नको उत्तर के आउँथ्यो होला ? सायद यही नै हुनुपर्ने थियो यो पुस्ताको परिकल्पनाको बीपी बहस ।

साहित्य र राजनीति दुवैमा जब देशमा बीपी बहस चल्छ, मलाई यो कुरा एकदमै खट्किन्छ । मैले बीपीका उपलब्ध प्रायः सबै कृति पढेको छु । हिटलर र यहूदी भने कलेजको सुरु अवस्थातिर पढेको थिएँ ।

घरमा आएपछि हिटलर र यहूदी फेरि पढ्न सुरु गरेँ । आजभन्दा झन्डै साठी वर्षअगाडि लेखिएको यो पुस्तक बेजोड छ । विभिन्न पात्रहरूमार्फत बीपीले उपन्यासमा प्रस्तुत गरेको दृष्टिकोण र विचारको मनोविश्लेषण अद्भुत छ ।

पात्रहरूको चयन सशक्त छ । पढ्दा त्यही देशमा पुगेर हेरेको र अनुभव गरेको जस्तै लाग्छ । उपन्यासमा फरक मानवका फरक मनोविज्ञानहरू ठ्याकै छुट्टाछुट्टै मानिसहरूले व्यक्त गरेजस्तो लाग्छ । घटना, स्थान र परिवेश बिलकुल यथार्थजस्तो लाग्ने उपन्यासमा ।

पानीजहाजमा गरिएको लामो (एघार दिन) यात्राभित्रका विभिन्न पात्रहरूबीचको बहस र रोमान्स । लामो यात्राका क्रममा मानव मस्तिष्कभित्र गुज्रिने अनेकैँ मनोभावहरू । परस्त्रीसँगको यौनसंसर्ग र त्यसको मनोविश्लेषण ।

आफ्नी जीवनसँगिनीप्रतिको माया, प्रेम र कर्तव्य । धेरै घटना र परिवेशमा फरक प्रकृतिले प्रकट हुने यौनमनोविज्ञान र त्यसको भोग कति सामान्य रूपमा लेखकले प्रस्तुत गरेका छन् उपन्यासमा ।

के साँच्चै लेखक स्वयम् नै उपन्यासका प्रमुख पात्र हुन् त ? हुन त प्रमुख पात्र (म) क्यान्सरको राम्रो उपचारको खातिर भारतदेखि लन्डनसम्मको यात्रा अनि काठमाडौंदेखिको बन्दोबस्ती लेखकसँग मिल्दोजुल्दो छ ।

तर, यी लेखक (बीपी) महान् द्रष्टा हुन् । उनको समग्र सामाजिक, राजनीतिक चेत र विश्लेषण त्यस समयको कुरा छाडौँ, आजसम्म पनि यति सशक्त यस देशमा अरू देखिँदैनन् ।

पुस्तान्तरणको सर्वव्यापी नियमले भन्न त भन्छ– आउने पुस्ता अझ सशक्त र बुद्धिमान् हुनेछ । साँच्चिकै कल्याणकारी राजनीतिको खातिर त यो देशमा नेताको सरापै परेको रहेछ । यो लेखकीय स्वरूप र गुण भएको नेता यो देशमा सायद आजसम्म जन्मेन ।

प्रतिभा वंशाणुगत पुस्तान्तरण हुन्थ्यो भने मलाई अन्तरक्रियाको अन्तिम दिन त्यहाँ जाने इच्छा हुन्थ्यो । तर, म विश्वस्त थिएँ, बीपीका परिवारिक सदस्यहरूले त्यस्तै नै अनुभव सुनाउनेछन्– बीपीसँग बजार घुमेको, पाइन्ट किन्न खोज्दा बीपीले किन्न नदिएको, घरमा आउने मान्छेको भीड आदि इत्यादि ।

हामीलाई त बीपीले जस्तो देख्ने, लेख्ने र गर्ने मानिस, लेखक र नेता चाहिएको हो ।

त्यस बेलाको हिटलर र यहूदीको घटना तथा कथाहरू त सामान्यतः सबैलाई थाहा नै छ । कसरी हिटलरले बर्बरतापूर्वक यहूदीहरूको हत्या गरे, ग्यास चेम्बरभित्रको आततायी नृसंस हत्या । 

मानिसको शरीरको बोसो पग्लिएर भट्टीमा दन्किएको आगोको लप्का । पढ्दा आङ नै जिरिंग हुने घटनाको बयान उपन्यासमा जीवन्त देखिन्छ ।

त्यसभन्दा पनि बढी उपन्यासमा पृथक् मनोविज्ञानको सूक्ष्म मनोविश्लेषण । बाँकी समय बीपीले किताबै मात्र लेखेको भए अरू कस्ताकस्ता पुस्तक लेख्थे होलान् !

जस्तो, यही उपन्यासमा हिटलरले त्यसो नगरेको भए उसको कर्तव्य के थियो त ? हिटलरलाई किन एक बंगालीले समर्थन गर्छ ? उपन्यासको प्रमुख पात्रलाई हिटलरले सपनामा किन आफ्नो कर्तव्य यही नै थियो भन्ने बोध गराउँछन् ?

साझा प्रकाशनले लेखेको छ, ‘यो पुस्तक बीपीको अपूर्ण पुस्तक हो । पूरा नभएको पुस्तक । मुख्य पात्र इजरायल ओर्लिएपछि उपन्यास टुंगिएको छ । सायद त्यस बेला बचेखुचेका यहूदीहरू आफ्नो देश इजरायल फर्कंदै थिए ।’

एकछिन म पनि सोचमग्न भएँ– साँच्चिकै बीपीले अब इजरायल यात्राअगाडि भेटेका र थप भेटिने पात्रहरूमार्फत कसरी मनोविश्लेषण गर्थे होलान् ?

(उपप्राध्यापक/त्रिभुवन विश्वविद्यालय)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro