site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्ययनले भन्छ– लगातारका धक्काले ठूला भूकम्पको जोखिम कम गर्दैन 
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं ।  पछिल्ला वर्षहरुमा नेपालको पश्चिम क्षेत्र (मर्स्याङ्दी नदीदेखि सुदूरपश्चिमसम्म) मा ठूलो भूकम्प नगएकोले त्यहाँ भूकम्पको जोखिम बढी रहेको तर्क भूकम्पविदहरुले गर्दै आएका छन् । खासगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्प गएपछि नेपालको पश्चिम क्षेत्रमा भूकम्पको जोखिम बढी रहेको बताइँदै आइएको छ ।

त्यसो त भूकम्प यति नै बेला यति म्याग्निच्युडको जान्छ भनेर ठोकुवा गर्न सकिँदैन ।  तर अनुसन्धानले भूकम्पको जोखिम कहाँ बढी र कम छ भन्ने देखाउँछ । र, त्यो जोखिम कतिबेला बाहिर आउँछ भन्न सकिंदैन । 

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बिहीबार बिहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा यस्तै जोखिमको संकेत गरेका थिए । 

KFC Island Ad
NIC Asia

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उपस्थित रहेको बैठकमा महानिर्देशक घिमिरेले भने, “पश्चिम नेपालमा विगत ५०० वर्ष यता ठूलो भूकम्प गएको छैन । त्यसक्षेत्रमा कुनै पनि बेला अझ ठूलो भूकम्प जानसक्ने भएकोले पूर्वतयारीमा जोड दिनुपर्छ ।” 

बझाङमा मंगलबार गएको ६.३ म्याग्निच्युडको भूकम्पले गरेको क्षति र राहत तथा उद्धार कार्यका विषयमा छलफल गर्न परिषद्को बैठक बसको थियो । 

Royal Enfield Island Ad

“यो भूकम्पलाई संकेतका रुपमा लिई सुदूरपश्चिम क्षेत्रमा भविष्यमा आउनसक्ने यस्तै खालका विपत्तिको पूर्वतयारी गर्न पूर्वसूचना प्रणालीको स्थापना र सञ्चालनका लागि सरोकारवालाहरुलाई निर्देशन दिन्छु,” प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए । 

खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरे र प्रधानमन्त्री प्रचण्डको धारणाले नेपालको पश्चिम क्षेत्रमा भूकम्पको जोखिम कति छ भन्ने स्पष्ट संकेत गर्छ । 

पश्चिम क्षेत्रमा भूकम्पको जोखिम 

गत मंगलबार (असोज १६) गते बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार बझाङ भूकम्पबाट गएको पहिरोमा परी एकजना महिलाको मृत्यु भएको छ । 

भूकम्पपछि भागदौड गर्दा र संरचना भत्किँदा २७ जना घाइते भएका छन् ।  पोखरेलले भूकम्पबाट ३७८ निजी आवास, ७ वटा विद्यालय भवन, २५ वटा सरकारी कार्यालय भवन र एउटा स्वास्थ्य भवन गरी कुल ४११ वटा भवन क्षतिग्रस्त भएको जनाए । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार मंगलबार दिउँसो २ः४० बजेदेखि बिहीबार दिउँसो १ः३० बजेसम्मको अवधिमा २७४ वटा परकम्पन आएका छन् । यीमध्ये १२ वटा त ४ म्याग्निच्युडभन्दा माथिका भूकम्प छन् । 

मंगलबारको भूकम्पले ठूलो जनधनको क्षति नगरे पनि त्यस क्षेत्रको जोखिम सम्झाइदिएको छ ।  एक वर्षअघि २०७९ कात्तिक महिनामा सुदूरपश्चिम प्रदेशको डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । 

तर ठूलो जनधनको क्षति भने भएन । मर्स्याङ्दी नदीदेखि सुदूरपश्चिमसम्म भूकम्पको जोखिम बढी किन छ त ? 

वरिष्ठ भूकम्पविद् अधिकारी भन्छन्, “नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प (८ म्याग्निच्युडभन्दा ठूलो) नगएको ५ सय वर्षभन्दा बढी भएको छ । त्यहाँ भूकम्प जाने ठूलो शक्ति जम्मा भएको छ । यसैकारण जुनसुकै बेला ठूलो भूकम्प जानसक्छ र जोखिम बढी छ भनिएको हो ।” 

नेपालको पश्चिम क्षेत्रमा वि.सं. १५०५ पछि ठूलो भूकम्प गएको छैन । यसैकारण गोरखादेखि पश्चिम भारतको देहरादुनसम्मको क्षेत्रमा अझै पनि ८ म्याग्निच्युडभन्दा माथिको भूकम्पको जोखिम कायम छ ।  तिब्बतीयन प्लेट करिब–करिब स्थिर छ । इन्डियन प्लेट तिब्बतीयन ब्लेटको मुनितिर घुसिरहेको छ । 

तिब्बतीयन प्लेटलाई कसैले युरोसियन पनि भन्छन् । यहाँ प्रत्येक वर्ष दुई सेन्टिमिटरको दरले इनर्जी सञ्चित भएर रहेको छ ।  यो इनर्जी कति बेला रिलिज हुन्छ भन्न सकिँदैन । यस्तो इनर्जी सञ्चित हुन थालेको ५ सयभन्दा बढी भएको छ । 

मध्यम भूकम्पले ठूलोको जोखिम घटाउँदैन 

पश्चिम क्षेत्रमा स–साना र मध्यम खालका भूकम्प गइरहेका छन् । यस्ता भूकम्पले ठूला भूकम्पको जोखिम कम गर्ने अन्य देशमा देखिए पनि नेपालमा भने अध्ययने त्यस्तो देखाएको छैन । 

“नेपालमा गरिएको हाम्रो अध्ययनले स–साना र मध्यम खालका भूकम्प जाँदैमा ठूलो भूकम्पको जोखिम नघट्ने देखाउँछ,” वरिष्ठ भूकम्पवीद अधिकारीले भने । 

अधिकारीका अनुसार ६ म्याग्निच्युडको भूकम्पभन्दा ८ म्याग्निच्युडको भूकम्पले रिलिज गर्ने इनर्जी एक हजार गुना बढी हुन्छ । अर्थात् जहाँ ८ म्याग्निच्युडको भूकम्प जाने जोखिम छ त्यो जोखिम कम हुनको लागि एकहजार वटा ६ म्याग्निच्युडको भूकम्प जानुपर्ने हुन्छ । 

नेपालको पश्चिम क्षेत्रमा पछिल्ला वर्षहरुमा ६ म्याग्निच्युडभन्दा बढीका भूकम्प निकै सानो संख्यामा मात्र गएका छन् । त्यसैले यसले ठूलो भूकम्पको जोखिम नघटेको वरिष्ठ भूकम्पविद् अधिकारीको दाबी छ । 

अधिकारीका अनुसार नेपालको पश्चिम क्षेत्रमा ८ ग्याग्निच्युड भूकम्पको जोखिम कम गर्न ३२ हजार वटा ५ म्याग्निच्युडको भूकम्प जानुपर्ने हुन्छ ।  यस्तै ८ म्याग्निच्युड भूकम्पको जोखिम कम हुन ७ म्याग्निच्यूडका ३२ वटा भूकम्प जानुपर्ने हुन्छ । 

“पाँच सय वर्ष ठूलो भूकम्प नगएका कारण छिट्टै ठूलो भूकम्प जान्छ नै भन्ने छैन । अझै पाँच सय वर्ष ठूलो भूकम्प नजान पनि सक्छ । तर यस्तो हुँदा ठूलो भूकम्प जाने इनर्जी भने सञ्चित भइरहेको हुन्छ, जुन यति नै बेला रिलिज हुन्छ भन्ने भन्न सकिँदैन,” वरिष्ठ भूकम्पविद् अधिकारीले भने ।

जोखिम कसरी कम गर्ने ? 

भूकम्पलाई रोक्न सकिँदैन । तर भूकम्प गएपछि हुने क्षति भने कम गर्न सकिन्छ । भूकम्प आफैले कसैको ज्यान लिँदैन तर भूकम्पका कारण कमजोर संरचना भत्किदा ठूलो जनधनको क्षति हुनेगर्छ । 

प्रधानमन्त्रीले प्रचण्डले बिहीबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा भनेझै मंगलबारको भूकम्पलाई संकेतमा रुपमा विपत्तिको पूर्वतयारी र पूर्वसूचना प्रणालीको स्थापना र सञ्चालन नै जोखिम कम गर्ने प्रमुख उपाय हुन् । 

“भूकम्पको जोखिम कम गर्ने उपाय भनेको पूर्वतयारी राम्रोसँग गर्नु नै हो । विकसित प्रविधिको प्रयोग, अनुसन्धान र पूर्वसूचना प्रणालीको स्थापन गरी तयारी अवस्थामा बस्नुपर्छ,” खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बाह्रखरीसँग भने । 

नेपालमा भूकम्पको जोखिम कम गर्न जीपीएस स्टेसन–नेटवर्क स्टेसनको संख्या बढाउनुपर्ने धारणा घिमिरेको छ ।  एउटा भूकम्पको सही विवरण मापन गर्न तीनवटा स्टेसन आवश्यक पर्ने उनी बताउँछन् । 

“हरेक वर्ष कति सेन्टिमिटर हलचल भइरहेको छ सुक्ष्म अध्ययन गर्नुपर्छ । यसको लागि जीपीएस स्टेसनको सहयोग आवश्यक पर्छ,” उनले भने । 

२०७२ वैशाख १२ गतेसम्म नेपालमा २१ वटा मात्र सेस्मिक स्टेसन थिए । २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएपछि २१ वटा सेस्मिक स्टेसन थप गरी ४२ पु¥याइएको थियो । सेस्मिक स्टेसनले भूकम्प र आणविक विस्फोटबाट उत्पन्न भूकम्पीय तरंगसहित जमिनको गति मापन गर्छन् ।

“नेपालभित्र भूकम्प कता गयो, कति म्याग्निच्युडको गयो भन्ने थाहा पाउन हामीसँग रेकर्ड गर्ने प्रणाली छ,” वरिष्ठ भूकम्पविद् अधिकारी भन्छन्, “तर भूकम्पको सुक्ष्म अध्ययन गर्नका लागि हामीसँग स्टेसन छैनन् । अब यतातिर ध्यान दिनु पर्छ ।” 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार भूकम्पको जोखिम कम गर्ने अर्को उपाय हो – भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माण । 

“भुकम्पले मान्छे मार्दैन । भूकम्पका कारण कमजोर संरचना भत्किदा त्यसले थिच्दा मान्छेको मृत्यु हुन्छ । यसैकारण संरचना (घर, स्कुल, पूल, अस्पताल आदि) बनाउँदा भूकम्पले भत्काउने खालको बनाउन भएन,” कार्यकारी प्रमुख पोखरेलले भने । 

संरचना बलियो बनाउने हो भने भत्कदैन । संरचना नभत्किए मान्छेलाई किच्दैन र मार्दैन । 

उनले थपे, “नयाँ बनाउने घर मात्र भूकम्प प्रतिरोधात्मक बनाउने होइन । बनिसकेका घरहरुमा पनि भूकम्पीय जोखिम छ–छैन जाँच गर्नुपर्छ । जोखिम भएका घरलाई प्रवलीकरण (रेट्रोफिटिङ) गरेर बलियो बनाउन सकिन्छ ।”
 
प्रवलीकरण गर्न नमिल्ने घरहरु भत्काएर भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्ने सुझाव उनको छ । 

उनी भन्छन्, “पूर्वतयारी घरबाटै सुरु हुनुपर्छ ।” 

भूकम्प प्रतिरोधात्मक घर बनाउन लगानी बढी लाग्ने धेरैको बुझाई छ ।  तर वास्तविकता त्यस्तो होइन । तोकिएको विधि र मापदण्ड अपनाएर सस्तो मूल्यमा पनि भूकम्प प्रतिरोधात्क घर बनाउन सकिन्छ । 

“ढुंगा र माटोले बनाएको घर पनि भूकम्प प्रतिरोधात्मक हुन्छन् । तर यसको लागि घर बनाउने विधि र मापदण्डको पालना गर्नुपर्छ,” कार्यकारी प्रमुख पोखरेलले भने ।

यसका साथसाथै भूकम्पको जोखिम कम गर्न भूकम्प आइहाले कस्ता संरचना भित्र बस्न मिल्छ, अन्य कस्ता ठाउँहरु सुरक्षित हुन्छन् भन्ने जानकारी सर्वसाधरणलाई दिनुपर्ने उनी बताउँछन् ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro