काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्याह्न स्वदेश फर्किएको हो ।
स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भएको बताए । उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए ।
विश्व रेकर्ड बन्दा टिम धेरै नै खुसी भएको भन्दै उनले आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए । टी–२० विश्वकप छनोटमा पाँचवटै खेल फाइनल सरह रहेको उनको भनाइ छ ।
त्यस्तै, क्रिकेटर दीपेन्द्रसिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुसी भएको बताए । उनले अहिले टिम एकजुट भएर खेलिरहेको भन्दै अनुभव बटुल्ने मौका भएकाले आगमी खेलमा झनै राम्रो गर्ने बताए ।
एसियाड गेममा सहभागी भएर स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजासहित स्वागत गरिएको थियो ।
एसियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो खेलमा मंगोलियामाथि फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।