site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
उठ्नै नसकेको नेपाली सिनेमाको ‘पब्लिसिटी’
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा भदौ १५ गते ‘नारायण रायमाझी सांगीतिक साँझ–२०८०’ कार्यक्रम थियो । लोक गीत/संगीतकर्मी तथा यसका पारखीहरूको बाक्लो उपस्थितिले हल खचाखच भरिएको थियो । त्यही कार्यक्रममा एउटा गीति नाटक देखाइयो । त्यो नाटकको नाम थियो– ‘बिदाइ’ । विषय थियो चलचित्र ‘परदेशी–२’ को कथा सार ।

सांगीतिक साँझमा नाटक किन र चलचित्रको कथा सार नै नाटकको विषय किन ? यसबारे परदेशीका कलाकारसमेत रहेका प्रकाश सपूतले भनेका थिए, “यही नाटकबाट हाम्रो चलचित्र ‘परदेशी–२’ को आजबाट औपचारिक रूपमा प्रचारप्रसार सुरु गरेका छौँ ।’ यो सिनेमाका नायक प्रकाश सपूत हुन् । उनीसँगै सोही स्टेजमा उपस्थित् थिइन् अभिनेत्री केकी अधिकारी पनि ।

अहिले यो सिनेमाका मुख्य कलाकार प्रकाश, केकी र निर्देशक नारायण रायमाझीलगायतको समूह देशका विभिन्न ठाउँमा पुगिरहेको छ । चलचित्रको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’ विभिन्न विद्यालय र कलेजमा मञ्चन गरिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रकाशको गृहजिल्ला पुगेर पहिलोपटक सिनेमाको प्रिमियर गरेको निर्माण पक्षले गत बिहीबार र शुक्रबार पोखराका विभिन्न विद्यालय र कलेजमा नाटक मञ्चन गरेर सिनेमाबारे जानकारी दियो ।

‘परदेशी–२’ का निर्देशक रायमाझी नेपाली मेकरले पुरानो शैली पनि छोड्न नसकेको र थप नयाँ तरिकाले पनि अगाडि बढ्न नसकेको बताउँछन् । कतिपय चलचित्र एक/दुईवटा प्रेसमिट गरेर पनि रिलिज भइरहेको उनी सुनाउँछन् ।

Global Ime bank

“यसका पछाडि पनि थुप्रै कारण होलान् । नेपाली सिनेमा यसै पनि न्यून बजेटमा बन्छन् । थोरै बजेटमा बन्ने सिनेमाको बजेट कति हुन्छ, त्यसले पनि अर्थ राख्छ,” उनी भन्छन्, “अर्को त नयाँ तरिकाले कसरी पब्लिसिटी गर्ने भन्ने पनि होला । पब्लिसिटीको नयाँ आइडिया नभएर पनि होला ।”

पोस्टर, रेडियो, टेलिभिजनमा विज्ञापन तथा ट्रेलर र टिजर तथा युट्युब इन्टरभ्यूको भरमा सिनेमा रिलिज भइरहेको उनी स्वीकार्छन् ।

“सिनेमा यो दिनमा रिलिज हुँदै छ भनेर गाउँगाउँमा आम नागरिकलाई जानकारी दिन सक्नुपर्छ । तर, त्यो भइरहेको छैन कि भन्ने लाग्छ,” नारायण भन्छन्, “अहिले सामाजिक सञ्जालबाट पनि केही हदसम्म पब्लिसिटी भइरहेको हुन्छ । तर, यसमा पनि कसरी अझै प्रभावकारी रूपमा अगाडि बढ्न सकिन्छ, काम भएजस्तो मलाई लाग्दैन ।”

केही सिनेमाले फेसबुक प्रोफाइल फ्रेमको समेत प्रयोग गरेको पाइन्छ । उनै नारायण आफूले पुरानो समयको सम्झनाका लागि गाउँगाउँमा हाते माइकबाट माइकिङ गरिरहेको भिडियो सामग्री तयार पारेको बताउँछन् ।

भएका पुरानै प्रचार शैलीमा पनि विकल्प खोज्नु पर्ने बाध्यात्मक अवस्था आइसकेको छ । काठमाडौं महानगरपालिकाले अहिले सिनेमाको पोस्टर टाँस्न प्रतिबन्ध लगाएको छ । यसले प्रचारका लागि पोष्टरको भर पर्ने मेकरलाई धक्का दिएको छ । त्यसैले यसको विकल्प खोज्नुपर्ने बाध्यात्मक अवस्था आइसकेको छ ।

कात्तिक ४ गते रिलिज हुने चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ले काठमाडौंमा पोस्टर टाँस्न नपाउने भएपछि विकल्पमा सार्वजनिक सवारीसाधनलाई रोजेको छ । निर्देशक दीपेन्द्र के खनाल काठमाडौं उपत्यकाका विभिन्न रुटमा चल्ने सार्वजनिक यातायतमा ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को पोस्टर टाँसेको बताउँछन् ।

“पोस्टर टाँस्न नपाउने भएपछि हामीले उपत्यकाका विभिन्न रुटमा चल्ने सयवटा सार्वजनिक बसमा पोस्टर टाँसेका छौँ,” उनले भने, “हामीले एजेन्सीलाई जिम्मा दिएका थियौँ । एजेन्सीले सयवटा गाडीमा पोस्टर टाँसेको जानकारी दिएको छ ।”

नेपालमा सिनेमाको प्रचारप्रसारका लागि अब नयाँ विकल्प खोज्ने समय आइसकेको उनको भनाइ छ । समय, शैली र प्रविधिको विकाससँगै सिनेमाले पनि पब्लिसिटीको डिजाइनमा फरकपन दिनुपर्ने उनको भनाइ छ । तर, यसमा अहिलेसम्म खासै धेरै काम हुन नसकेको उनी बताउँछन् ।

प्रविधिको विकास र प्रयोगले फड्को मारे पनि नेपाली मेकरले यसलाई सिनेमा प्रचारमा खासै प्रयोग गर्न सकेका छैनन् । पब्लिसिटीका लागि पत्रकार सम्मेलन, सञ्चारमाध्यममा अन्तर्वार्ता, पोस्टर, ट्रेलरकै भरमा अहिलेसम्म मेकरले प्रचार अभियान चलाइरहेका छन् ।

चाहे लभस्टोरी, कमेडी वा डार्क स्टोरी सिनेमा होस्, सबै मेकरले प्रचारका लागि एउटै तौरतरिका अपनाइरहेका हुन्छन् । जबकि, सिनेमाको जानराअनुसारको दर्शक हुन्छन् । सिनेमा कुन लक्षित वर्गका लागि हो, सोहीअनुसारको पब्लिसिटी डिजाइन हुनुपर्नेमा यसतर्फ मेकरको ध्यान गएको छैन । पञ्चिङ सिनेमा र सोसल रियालिजममा बनेका सिनेमाको पब्लिसिटीका लागि मेकरले एउटै शैली अपनाइरहेका छन् ।

“मेरो सिनेमा युवा वा बृद्धबृद्धाका लागि हो ?, कुन वर्गका लागि हो भनेर सुरुमा छुट्टयाउनु पर्छ । तर, नेपालमा न मेरो सिनेमा यो हो भनेर वर्गीकरण गरेर त्यहीअनुसारको प्रचार गरिन्छ,” निर्माता छविराज ओझा भन्छन्, “तर, यहाँ त्यो गर्ने अभ्यास नै छैन । एकजना मिडिया कोअर्डिनेटर लिने र उसैले के–के गर्छ छोड्दिने प्रचलन छ ।”

नेपालमा पब्लिसिटी डिजाइन गर्ने कम्पनी नै नभएको उनको भनाइ छ । कुन सिनेमा कस्तो हो र कसरी आम दर्शकमा पुग्ने भनेर डिजाइन गर्ने पब्लिसिटी कम्पनी नै नभएको उनको गुनासो छ ।

“अहिले कुन सिनेमा कहिले आउँछ भन्ने नै धेरैलाई थाहा हुँदैन । धेरै सिनेमा रिलिज हुन्छन् । तर, कुन दिन कुन सिनेमा आउँदै छ भन्ने नै थाहा नहुने अवस्था छ,” छविराज भन्छन्, “सिनेमाको मेकरले कसरी हुन्छ आम जनतासम्म पुग्नु पर्छ ।”

सुरुसुरुका वर्षमा ठूलो संख्यामा सिनेमाका पोस्टर गाउँगाउँसम्म टाँसिने, चोकचोकमा ठूलठूला होर्डिङबोर्ड लाग्ने, ६ महिना अगाडिदेखि गीत सार्वजनिक गर्ने र थोरै सिनेमा रिलिज भएकाले कुन सिनेमा कहिले आउँछ भन्ने धेरैलाई थाहा हुने गरेको उनको अनुभव छ ।

“अहिले पोस्टर पनि टाँस्न नपाइने भयो । हलमा प्रदर्शकले एक/दुई हप्ता पोस्टर राख्ने फरक कुरा भयो । त्यो पनि उसले आफूले चाहेको सिनेमाको राख्छ,” छविराज भन्छन्, “यसमा पनि सानो ब्यानरमा बनेका र नयाँ सिनेमाले कमै स्थान पाउँछन् । हिन्दी र अंग्रेजी भाषाका सिनेमाले नै प्राथमिकता पाउने हो ।”

नेपाली, हिन्दी, अंग्रेजी र दक्षिण भारतका सिनेमा नेपालीसँगै एकसाथ रिलिज हुँदा त्यसको छायामा नेपाली सिनेमा पर्ने गरेको उनको भनाइ छ ।

“बलिउड र हलिउडका सिनेमाको बजार वर्ल्डवाइड छ । बजार ठूलो भएपछि पब्लिसिटीका लागि उनीहरूको बजेट पनि त्यही अनुपातको हुन्छ,” छविराज भन्छन्, “उनीहरूसँग मार्केटिङ कम्पनी नै हुन्छ । ठूलो बजेटमा मार्केटिङ गर्ने भएकाले त्यसको छायामा हाम्रा सिनेमा पर्छन् ।”

समयसँगै सिनेमा प्रचारको शैलीमा पनि बदलाब आउनुपर्नेमा उनको जोड छ ।

“अहिले हरेक नागरिकको हातहातमा एन्ड्रोइड फोन छ । हरेक व्यक्ति सामाजिक सञ्जालका प्रयोगकर्ता छन् । त्यसैले डिजिटल पब्लिसिटीमा अहिले मेकरकेन्द्रित हुुनुपर्छ,” उनी भन्छन्, “फेसबुक र टिकटकमा केही सिनेमाको प्रचार भइरहेको पनि छ । तर, अहिले जति र जसरी भइरहेको छ त्यतिले मात्रै पुग्दैन । जसरी हुन्छ आम नागरिकले कुन नेपाली सिनेमा कहिले रिलिज हुँदै छ भनेर थाहा पाउनु पर्छ ।”

केही समयदेखि हलमा पुगेपछि मात्रै कुन नेपाली सिनेमा लागिरहेको रहेछ भनेर थाहा पाउने अवस्था रहेको उनको टिप्पणी छ । बलिउड र हलिउडका सिनेमाको रिलिज डेट अधिकांश दर्शकलाई याद हुने गरेको तर नेपाली चलचित्रको रिलिजबारे अनविज्ञ हुने तीतोसत्य रहेको उनको भनाइ छ । आम नागरिकले जसरी पनि रिलिज डेट थाहा पाउने गरी प्रचारप्रचार गर्नुपर्नेमा छविराजको जोड छ ।

नेपालमा कोभिड–१९ अघि सामान्य अवस्थामा प्रत्येक वर्ष करिब सयवटा चलचित्र रिलिज हुने गरेका छन् । ‘कबड्डी’, ‘छक्का पञ्जा’ सिरिजलगायत केही चलचित्रको रिलिज डेट थाहा हुने गरे पनि अधिकांश चलचित्रको रिलिज अधिकांशलाई थाहा नहुने गरेको छविराजको भनाइ छ ।

पछिल्लो समय केही चलचित्रका निर्माता निर्देशक र मुख्य दुई/तीनजना कलाकारलाई लिएर सिनेमा हल भएका केही मुख्य–मुख्य सहरमा जान थालेका छन् । तर, हरेक सिनेमा तिनै सहरमा त्यसैगरी करिब–करिब उही कलाकारलाई लिएर हिँड्ने गरेका छन् । त्यसैले यो पनि पछिल्लो समय ‘बिरालो बाँधेर श्राद्ध’ गर्ने उखान जस्तै भइसकेको चलचित्रकर्मीहरूले नै टिप्पणी गर्न थालेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement