site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

कोभिड - १९ को कहरले थला परेको पर्यटन व्यवसाय विश्वव्यापीरूपमै लयमा फर्केको छ । दुनियाँका उत्कृष्ट गन्तव्यमध्येको नेपालमा पनि त्यस लहरको प्रभाव पर्नु स्वाभाविकै हो ।   

नेपालमा पर्यटकको आगमन यस वर्ष उत्साहप्रद देखिएको छ । अध्यामन विभागको तथ्याङ्कअनुसार यस वर्ष सन् २०२३ का नौ महिनामा ७ लाखभन्दा बढी पर्यटक नेपाल आइसकेका छन् । 

पर्यटकको आगमनले पर्यटन व्यवसायीहरू पक्कै उत्साहित भएका होलान् । यस्तै, सम्बन्धित सरकारी निकायका पदाधिकारी पनि यसबाट हौसिएकै हुनुपर्छ । राजस्व सङ्कलनमा पनि यसको पक्कै सकारात्मक प्रभाव पर्नेछ ।  

नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायको योगदान पनि महत्त्वपूर्ण छ । प्रत्यक्ष र परोक्षरूपमा पर्यटन क्षेत्रमा लाखौंले रोजगारी पाएका छन् भने अरू धेरै व्यवसायलाई पनि भरथेग भएको छ । 

विडम्बना, यति महत्त्वपूर्ण भएर पनि राज्यले पर्यटन व्यवसाय प्रवर्धनका लागि गरेको योगदान भने खासै देखिँदैन । अर्थात्, प्रवर्धनका लागि राज्यले उचित अग्रसरता लिएको भए पर्यटकको सङ्ख्या निकै बढी हुने रहेछ ।

अहिले नेपाल भ्रमणका आएकाभन्दा दोब्बर बढी पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार तयार भएको दाबी पर्यटन व्यवसायीले गर्दैआएका छन् । यसले पनि नेपाल आउने पर्यटकको सङ्ख्या बढाउन खासै कठिन नहुने देखाउँछ ।

परन्तु, आवासमात्रै त पर्यटक आकर्षणका लागि पर्याप्त हुँदैन । प्राकृतिक विविधताका कारण नेपालको सबैजसो भूभाग पर्यटनका लागि आकर्षक गन्तव्य हुन् । दुर्भाग्य, उपत्यकाभित्रै पनि यातायात सुविधा भने सडकका दृष्टिले मानवोचितसम्म पनि छैन ।  

काठमाडौं उपत्यकापछि सबैभन्दा धेरै पर्यटकले रुचाउने पोखरा सडकबाट जान निकै नै कठिन हुनपुगेको छ । मूलतः पृथ्वी राजमार्गमा सडक सुधारका नाममा थालिएको निर्माण कार्य अत्यन्त अव्यवस्थित हुँदा यात्रा कष्टकर र अनिश्चित हुनेगरेको देखिन्छ ।

पोखरापछिका गन्तव्यहरूमा पनि सडकबाट जानआउन सजिलो छैन । राष्ट्रिय निकुञ्जहरू सबै नै पर्यटकीय स्थल पनि हुन् तर तिनको भ्रमण पनि अपेक्षाकृत कठिनै छ । त्यसमाथि न पर्याप्त प्रचारप्रसार नै गरिएको छ न आवश्यक सुविधा नै उपलब्ध हुन्छ ।

अर्थात्, सरकारी प्रयासबाट पर्यटकका लागि ‘असुविधा’ बढाउने काममात्र भएको देखिन्छ । पर्यटन विकासका लागि गठित नेपाल पर्यटन बोर्ड तालुकवाला मन्त्रीकै बक्रदृष्टिमा परेर शिथिल प्रायः देखिएको छ ।

अर्थात्, पर्यटन व्यवसायमा भएको खर्बौं रुपियाँको लगानी जोगाएर उचित प्रतिफल लिने हो भने सरकारले तत्कालै केही प्रवर्धनात्मक काम गरिहाल्नुपर्छ । सबैभन्दा पहिले यातायात व्यवस्थामा सुधार गर्ने र पर्यटकका लागि अनावश्यक र अनुचित बन्देजको अन्त्य गर्नुपर्ने देखिन्छ ।

पृथ्वी राजमार्गलगायतका सडकमा भइरहेका निर्माण कार्यलाई यात्रुले सास्ती भोग्न नपर्नेगरी व्यवस्थित बनाउनु आवश्यक छ । मर्मत गर्ने सडक सबै एकैपटक भत्काएर असजिलो बनाउने तर निर्माण बिस्तारै गर्ने ठेकदारको सुविधामुखी निर्माण अभ्यासमा परिवर्तन गरी थोरै भत्काउने र बनाइसकेपछि मात्रै अरू भत्काउने गरेमा सडक यातायातको सास्ती अपेक्षाकृत कम हुनेछ ।

यसैगरी थोरै पर्यटकसँग सकेसम्म थेरै दोहन गर्ने ‘भुटानी’ शैली नेपालका लागि उपयुक्त देखिँदैन । हवाई यातायातमा पर्यटकसँग धेरै भाडा लिनेदेखि निषेधित क्षेत्रका नाममा ‘लुट्न’ पनि छाड्नुपर्छ । निषेध गर्नै पर्ने ठाउँमा त धेरै पैसा लिएर पनि जान दिनु हुँदैन ।   

'सुरक्षाका कारण देखाएर रकिएको  माउन्टेन फ्लाइट' कहिले खुल्छ अनिश्चित छ । कम्तीमा  पर्यटक आउने याममा सकेसम्म छिटो खोल्ने प्रयास गर्न सकिन्थ्यो । छिटो नहुने नै भए पनि मिति निश्चित गरे हिमाली दृश्यावलोकनमा जानेगरी पर्यटक र व्यवसायीले समय मिलाउन सक्थे । 'सिमसिमे राजा'को पालामा जस्तो हाकिमी शैलीले प्रतिस्पर्धात्मक बजारमा टिक्न र टिकाउन सकिँदैन भन्ने हेक्का सरकारी अधिकारीले पनि राख्नुपर्छ ।   

हवाई यात्रा अपेक्षाकृत सस्तो बनाउन सके अहिले सडकको सास्तीबाट तर्सेका पर्यटक पनि काठमाडौंबाहिर जान उत्साहित हुनेछन् । नेपाल वायुसेवा निगमबाट भैरहवा, पोखराजस्ता विमानस्थलमा ठूला जहाजबाट आन्तरिक उडान गरेमा पनि भाडा घटाउन र सुविधा बढाउन सहज हुनेछ ।

यस्ता अरू पनि उपाय हुनसक्छन् तर सरकार चलाउनेहरूमा इच्छाशक्ति भएमात्र तिनीहरूको कार्यान्वयन हुन्छ । तालुकवाला मन्त्रीको ध्यान कार्यकर्ता पोस्नमा केन्द्रित हुने र पर्यटन बोर्ड मन्त्रीकै शब्दमा ‘भ्रष्टाचार’मा लिप्त हुने हो भने पर्यटन व्यवसाय पनि ‘भगवान भरोसा’मा निर्भर हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro