काठमाडौं । गएको असारमा ‘मनसुन अवधि – सेप्टेम्बरसम्म’ भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले माउन्टेन फ्लाइट (पर्वतीय उडान)मा लगाएको रोक जारी नै छ । प्राधिकरणले सुरक्षाको कारण देखाउँदै माउन्टेन, सिलिङ र पुष्पवृष्टि उडानमा निषेध गरेको हो । यो अवधिमा विशेष प्रकृतिको हेलिकोप्टर उडानमा समेत प्रतिबन्ध लगाइयो ।
हेलिकोप्टर दुर्घटनाका कारण नेपाली आकाश असुरक्षित रहेको सन्देश गएकाले उडानमा कडाइ गरिएको प्राधिकरणले जनाएको थियो ।
मारमा पर्यौँ : व्यवसायी
प्राधिकरणले माउन्टेन फ्लाइटमा रोक लगाउँदा आफूहरू समस्यामा परेको पर्यटन व्यवसायीले गुनासो गरेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोलाले सरोकारवालासँग समन्वय नगरिँदा व्यवसायी मर्कामा परेको बताए ।
“त्यस्तो नियम लगाउनु हुँदैन थियो । नियम बनाउनुभन्दा पहिला सरोकारवाला निकायसँग छलफल गर्नुपर्थ्यो,” उनले बाह्रखरीसँग भने, “सेफ्टी सेक्यिुरिटी अपनाउनुपर्छ । तर, सेफ्टी सेक्युरिटी हो भन्दैमा सम्बन्धित सरोकारवाला निकायसँग छलफल नगरेर लागु गर्नु हुँदैन ।”
माउन्टेन फ्लाइट बन्द गरिँदा पर्यटन व्यवसायी समस्यामा परेको टानकै उपाध्यक्ष प्रदीप पण्डितले बताए । “हाई पेइङ क्लाइन्टहरू हेलिकोप्टरबाट सिधा एभरेस्ट बेसक्याम्प जाने, एक/दुई घण्टा बसेर वा एक दिन बसेर फर्किने थियो,” उनले भने, “माउन्टेन फ्लाइट बन्दको कारण हाई पेइङ क्लाइन्टहरू मर्कामा परेका छन् । जसले गर्दा हामी व्यवसायीहरूलाई समस्या परेको छ ।”
हिमालय क्षेत्रमा ट्रेकिङ गएका पर्यटक बिरामी हुँदा उद्धारमा समेत समस्या झेल्नुपरेको उनको भनाइ छ । प्राधिकरणबाट उडान अनुमति लिन समय लाग्ने उनले बताए ।
“कति क्लाइन्टहरू माउन्टेन क्षेत्रमा ट्रेकिङ गएका हुन्छन्, उनीहरू त्यहीँ बिरामी हुन्छन् । उनीहरूको उद्धार हेलिकोप्टर पठाउनुपर्ने हुन्छ । त्यसका लागि प्राधिकरणबाट अनुमति लिनुपर्ने हुन्छ । आपत्कालीन उडान प्रमाणित गर्नुपर्ने हुन्छ । प्रमाणित गर्न समय लाग्छ । जसले गर्दा हामी व्यवसायीले समस्या झेल्नुपरेको छ,” पण्डितले भने ।
प्राधिकरण भन्छ– मनसुन सकिएपछि निर्णय गर्छौँ
जल तथा मौसम विज्ञान विभागले मनसुन सकिएको ‘डिक्लियर’ गरेपछि यसबारेमा निर्णय गरिने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । “मनसुन समय अवधिको लागि थियो, अब जल तथा मौसम विज्ञान विभागबाट मौसम सकियो भनेर डिक्लियर गरेपछि हामीले निर्णय गर्छौँ,” उनले भने ।
नेपालमा हरेक वर्ष मनसुन भित्रिने सरदर मिति जुन १३ हो । मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ लाई मानिएको मौसमविद्को भनाइ छ ।
सहप्रवक्ता भुलका अनुसार मनसुन अवधिका निम्ति उक्त निर्णय गरिएको थियो । “विभागले यसपालि मनसुन एक हप्ता ढिलो जान्छ भनेको छ, मनसुन सकिएपछि हामीले त्यो निर्णय गर्छौँ । हामीले सेप्टेम्बरसम्म हैन, मनसुन अवधिभरको लागि भनेर निर्णय गरेका छौँ ।”