
काठमाडौं । दुईवटा गोडा सुन्निएर चलाउनै नमिल्ने भएको छ । हातमा लौरो टेकेका छन्, टिसर्ट, हाफ पाइन्ट र चप्पलमात्रै लगाएर उभिन लागेको नौ दिन भइसक्यो ।
राम्रोसँग उभिन पनि नसक्ने अवस्थामा पुगिसकेका छन् उनी । दिउँसोको घाम र रातिको चिसोले उनको मुहार पटपटी फुटेर छाला उप्किन थालेको छ । तर पनि बेपर्वाह उनी उभिइरहेका छन् ।
महानगरपालिकाको गेटैमा लगातार उभिँदा उभिँदा उनका खुट्टा सुन्निएर चप्पल लगाउन पनि गाह्रो भएको छ ।
खाना खाने बेलामा उनी कुर्सीमा बस्छन् । राति पाँच घण्टा त्यही कुर्सीमा बसेर आराम गर्छन् । बाँकी समय उभिएर आफ्ना माग पूरा हुनुपर्ने अडानमा छन् ।
“मैले जति पीडा भोगिरहेको छु, त्यो भन्दा बढी पीडा त सडक व्यवसायीले भोगिरहेका छन्,” उनी भन्छन् ।

काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँबाट सडक व्यवसायीलाई हटाएको विरोधमा उनी अर्थात् सामाजिक अभियन्ता ईः ले शान्तिपूर्ण विद्रोह थालेको आज नौ दिन भयो ।
सुरुमा त उनले ७७ घण्टामात्रै उभिने निधो गरेका थिए ।
त्यसबेलासम्म मेयर बालेन शाहले आफ्ना माग पूरा गरिदिने सोचेका थिए होलान् सायद !
७७ घण्टा त के आठ दिनसम्म पनि महानगरले गेटैमा उभिएका ईः लाई देखेन । उनको कुरा सुन्न तयार भएन ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोल त्यही गेटबाट भित्र–बाहिर गर्दा ईःलाई लाग्थ्यो आफ्नो अभियानमा साथ दिँदै उनीहरु माग पूरा गर्न तयार हुनेछन् ।
तर आठौं दिनमात्रै उपमेयर डंगोल आएर माग वार्तामार्फत् सबै समस्या समाधान गर्नुपर्ने बताइन् ।
आठौं दिन सातघण्टा वार्ता भयो अन्तिममा सहमतिको ड्राफ्टमा मेयरको कैँची चल्यो ।
उनले थालेको अभियानमा स्वतःस्र्फुतरुपमा समर्थन गर्नेको संख्या बढ्दो छ ।
उनको अघिल्तिर भुइँमा ब्यानरहरु छन्, जसमा लेखिएको छ, ‘सरकारले हेरेन, समाजले देख्ला ?’, ‘गरिबलाई कुट्नु हाम्रो धर्म हो ?’, ‘गरिब मास्न पाइँदैन ।’
उनलाई समर्थन गर्न आउनेहरुले प्ले कार्ड बोकेका छन् । त्यसमा लेखिएको छ– ‘बालेन बन्ठे हुँदै गयौ । सुनीता ? गरीबको चमेली....’, ‘हिजो गरिबको गीत गाउने मान्छे, आज किन बन्ठे भयौ ?’
बालेन हिजोको रुपमा नरहेको भन्दै फेरिएको बालेनको ध्यानाकर्षण गराउन खोजिएको समर्थकको प्रतिक्रिया छ ।
...
‘साविकमा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्नेछ ।
काठमाडौं महानगरपालिकाका प्रतिनिधि र सामाजिक अभियन्ता ईःका प्रतिनिधिबीच मंगलबार सात घण्टासम्म भएको वार्तापछि सहमतिको चौथो बुँदा थिए ।
जसमा लेखिएको छ, ‘कोटेश्वर चोकबाट जडिबुटी जाने बाटो, तिलगंगा अगाडि, चाबहिल मालपोत पछाडि, बालाजु क्षेत्र, भृकुटीमण्डप र सम्भावित अन्य क्षेत्रसमेतमा दसैं–तिहार र छठसम्मका लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा आजको मितिले एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरुलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइनेछ ।’
ती बुँदा मेयर बालेन शाहको टेबलमा जब पुग्यो, त्यही बुँदामा उनले कैँची चलाए ।
महानगरमा दिनभर दुवै पक्षबीच भएको छलफललाई बेवास्ता गर्दै बालेनले सहमतिको चौथो बुँदामा रहेको उक्त विषयलाई काट्दै थपे–साविकमा फूटपाथ÷सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि आजको मितिले एक हप्ताभित्र उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले पहल गर्नेछ ।’
बालेनले थप गरेको यो विषयमा सामाजिक अभियन्ता ईःको आपत्ति रह्यो । वार्ता समितिबीच भएको सहमतिमा कैँची चलाएर भाँड्न खोजेको आरोप बालेनमाथि लाग्यो ।
सात घण्टा बसेर तयार पारिएको ड्राफ्टमा कैँची चलेपछि ईःले आफ्नो अभियान जारी राखे वार्ता समितिमा रहेका व्यक्तिहरु घरतर्फ लागे ।
वार्तामा ईः, अधिवक्ताद्वय सन्जय अधिकारी र प्रज्वला कार्की तथा फुटपाथ व्यापारीहरूका तर्फबाट सुजन गिरी, विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण, सहरी पूर्वाधार विज्ञ राज महर्जन सहभागी भएका थिए ।
महानगरका तर्फबाट दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यलगायत थिए ।
महानगरभित्र सडक व्यवसाय गरिरहेका व्यापारीहरुलाई वैकल्पिक व्यवस्था गरिनुपर्ने, उनीहरुलाई निश्चित समय, स्थान र शुल्क लिएर भए पनि व्यवसाय गर्न दिनुपर्ने विषयमा सकारात्मक तरिकाले नै छलफल भएको सहमतिको ड्राफ्ट तयार पारिएको थियो ।
सुरुमा ७७ घण्टाका लागि भनेर उभिएका ईः नौ दिनदेखि सोही माग राखेर उभिइरहेका छन् ।
उनले फुटपाथबाट अन्यायपूर्वक हटाइएका व्यवसायीलाई व्यवस्थित गर्नुपर्ने मुख्य माग राखेका छन् ।
सहमतिमा एउटा समिति बनाएर अध्ययन गर्ने भनिएको थियो । उक्त समितिमा महानगरपालिकाले तोकेको तीनजना, ई. को तर्फबाट तोकिएको प्रतिनिधि दुईजना, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि एक जना, सहरी विकास मन्त्रालयका प्रतिनिधि एक र ट्राफिक प्रहरीका प्रतिनिधि एकजना रहने प्रस्ताव गरिएको थियो ।
वार्तामार्फत् दुवै पक्षबीच सौहार्दपूर्ण तरिकाले निष्कर्ष निकालिएको भए पनि मेयरले कैँची चलाएका कारण सहमति भंग भएको आरोप ईः पक्षधरको छ ।
मेयरको कारण वार्ता निष्कर्षविहीन भएको पनि ईः ले बताए ।
“महानगरको तर्फबाट वार्तामा आउनु भएका प्रतिनिधिहरुलाई एकदमै धन्यवाद भन्न चाहन्छु । उहाँहरुको सबैसँग लचक हुनुपर्छ भन्ने भूमिका देखियो । तर सहमति जब मेयरको टेबलमा पुग्यो । उहाँले महत्वपूर्ण बुँदा काटेर पठाउनु भयो । त्यो सहमतिपत्रमा भएको सबै कुरा काटेर कंकालमात्र बाँकी राखेर हस्ताक्षर गर्न भनेर हामीलाई पठाउनु भयो । तर, अनि निष्कर्षविहीन भयो,” ईःले बाह्रखरीसँग भने ।
तर बालेनको सचिवालयले भने मेयरमाथि लागेको आरोपको खण्डन गरेको छ ।
सचिवालय स्रोत भन्छ, “कैँची उहाँले लगाएको होइन, वडाध्यक्षहरु उहाँको कार्यकक्षमा आएर हाम्रो वडामा फुटपाथ व्यवसाय गर्न दिँदैनौँ भनेपछि उहाँ रोकिनुभएको हो ।”
मेयर शाहले यो विषयलाई राजनीतीकरण गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
“उहाँलाई राजनीतीकरण गरियो भन्ने लागेको छ,” वार्ताको विपक्षमा उहाँ पनि हुनुहुन्न । बस्नै हुँदैन भन्ने पनि होइन । उहाँ आफैँ पनि एक एक गरेर भेटौँ भनेरै बोलाउन पठाउनुभएको हो । ईः नै नआएपछि रोकिएको हो । आज पनि वार्ताको पहल हुँदैछ ।”
ईः नजिकका व्यक्तिहरुले बालेनकै हठका कारण वार्ता रोकिएको बताउँछन् । तर पनि वार्ताको विकल्प नभएको बताउँदै ईःले माग पूरा नभएसम्म जस्तोसुकै कठोर अवस्थाको सामना गर्न तयार रहेको बताएका छन् ।