ल्हासा । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन् ।
सिछ्वान एअरलाइन्समार्फत स्थानीय समयअनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण भएका हुन् । गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकीसहित भव्य स्वागत गरिएको छ ।
कार्यक्रमको सूचीअनुसार आज साँझ प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन् ।
सचिव वाङले प्रधानमन्त्री प्रचण्डको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गर्नेछन् । चीनसङ सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा ल्हासाको भ्रमण गरेका हुन् ।
तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर (ताल) एवं कैलाश पर्वतको भ्रमणसमेत गर्ने कार्यक्रम छ । ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।