site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण : प्रतिवद्धता पूरा भएनन्, समझदारी उल्लेखनीय छैनन् 
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला चीन भ्रमणमा छन् । असोज ६ गतेबाट सुरु भएको उनको चीन भ्रमण असोज १३ गतेसम्म चल्ने छ ।  तर महत्वपूर्ण राजनीतिक भेटवार्ता र बैठक भने यो तीन दिनमा सम्पन्न भइसकेका छन् । अब बाँकी दिन उनले विभिन्न स्थानको अवलोकनमा बिताउने छन् । 

चीन पुगेकै दिन उनले हाङ्जाओमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए ।  सोही दिन उनी १९ औं एसियन गेमको उद्घाटन कार्यक्रममा सहभागी बने ।  

असोज ७ गते बेइजिङ पुगेका उनले सोही दिन त्यहाँका व्यापारिक समुदायलाई एक कार्यक्रममा सम्बोधन गरे । उनल सोमबार बिहान चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गरे । 

Dabur Nepal
NIC Asia

झाओसँग भेटवार्ता सकिएपछि प्रधानमन्त्री प्रचण्डले चिनियाँ समकक्षी ली छियाङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागिता जनाएका थिए । 

त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा दुई देशका सम्बन्धित अधिकारीले १२ वटा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

“हस्ताक्षर भएका समझदारीपत्र उल्लेखनीय छैनन्,” पूर्वराजदूत दिनेश भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गर्दै बाह्रखरीसँग भने, “प्रमुख कुरा नेपालबाट जानुअघि उहाँले यहाँ के भन्नुभएको थियो, ती पूरा भए कि भएनन् भन्ने हो । मलाई ती कुरा केही परेजस्तो लाग्दैन ।”

भ्रमणमा जानुअघि के भनेका थिए ? 

प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणको औपचारिक घोषणा अगावै विभिन्न कार्यक्रममा एजेन्डाहरुबारे बोलेका थिए ।  चीन भ्रमणमा निस्कनुअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणमा दुई विषयलाई उच्च प्राथमिकतामा राखेको जनाएका थिए । 

ती थिए– पहिलो, चीनसँगको सीमा नाका कोभिड–१९ पूर्वको अवस्थामा सुचारु गर्ने तथा नयाँ नाका खोल्ने र दोस्रो, नयाँ सम्झौता भन्दा पनि पुराना सम्झौताको कार्यान्वयनमा जोड दिने । “प्रधानमन्त्रीले नाका खोल्ने र विगतका सम्झौताको कार्यान्वयनमा जोड दिने बताउनु भएको थियो । सोमबार हस्ताक्षर भई सार्वजनिक भएका समझदारी तथा सम्झौतापत्रमा ती कुरा भेटिदैनन्,” पूर्वराजदूत भट्टराईले भने । 

प्रधानमन्त्री प्रचण्डले भदौ १२ गते प्रतिनिधिसभा बैठकलाई चीन भ्रमणका बेला नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सहज बनाउन दुई देशबीच रहेका सीमा नाकाहरुको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषयहरु कार्यसूचीमा रहेको बताएका थिए । 

प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले सडक, उर्जा, विज्ञान तथा प्रविधि तथा व्यापार र विकास लगायतका क्षेत्र, कनेक्टिभिटी, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रका परियोजनाहरुमा चीनको सहयोग विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखिएको जनाएका थिए । 

“निकट भविष्यमा हुने मित्रराष्ट्र चीनको भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाईँमा पु¥याउँदै नेपालको सामाजिक, आर्थिक विकासको लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने छ । भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनमा जोड दिइने छ,” प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जानुअघि भनेका थिए ।  

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले उत्तरी सीमासँग जोडिएको मुगुको नाम्चे लाग्ना नाका खोल्ने विषयमा छलफल हुने निश्चित भएको बताएका थिए । 

यसअघि भदौ ४ गते वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चीन भ्रमणका बेला सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका थिए । यो सडक भने सोमबार भएको सम्झौता भित्र परेको छ । 

“कृषि क्षेत्रसँग सम्बन्धित समझदारीपत्र ठिकै छन् । तर नेपाललाई ठूलै फाइदा हुने किसिमको समझदारीपत्रमा हस्ताक्षर भएको देखिँदैन,” पूर्व राजदूत भट्टराईले भने । 

समझदारी के–के मा भयो ? 

प्रधानमन्त्रीको चीन भ्रमणमा सोमबार नेपाल र चीनबीच १२ वटा समझदारीपत्रमा हस्ताक्षर भयो ।  दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा ती समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । भ्रमणको बेला एउटा पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छैन । 

सोमबार चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्य सम्बन्धी समझादीपत्रमा हस्ताक्षर भएको थियो ।  नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी प्रमाणपत्र आदानप्रदान (२०१७) पनि भयो । 

यस्तै, चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भयो ।   चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । 

चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  

pm-china-1695647957.JPG

चीनको भन्सार सम्बन्धी सामान्य प्रशासन मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि नेपालबाट जडिबुटी निर्यात गर्ने सम्बन्धी समझदारीपत्रमा दुई देशका अधिकारीले हस्ताक्षर गरेका छन् । 

चीनको प्रेस तथा प्रकाशन विभाग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

प्रकोप सामग्री हस्तान्तरण सम्बन्धी लेटर अफ एक्सचेन्ज, हिल्सा–सिमिकोट सडक परियोजना तथा नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन् प्रोजेक्ट सम्बन्धी समझदारीपत्र र मानव संशाधन विकास जनशक्ति आदान–प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा सोमबार नेपाल  र चीनबीच हस्ताक्षर भएको छ । 

भ्रमण कस्तो भयो त ? 

असोज ६ गते चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री प्रचण्डले भने, “चिनियाँ राष्ट्रपतिसँग मेरो फलदायी भेटवार्ता भयो । हामीले द्विपक्षीय सम्बन्ध र पारस्परिक हित तथा सहयोगका विभिन्न विषयहरूमा विचार आदानप्रदान गर्‍यौँ ।”  

विकास र समृद्धिका लागि दिगो मित्रतालाई सुदृढ गर्न, नेपाल–चीन सम्बन्धलाई घनिष्ट बनाउन र अगाडि बढाउन सहमत भएको दाबी सामाजिक सञ्जालमार्फत उनले गरेका थिए । भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्टरुपमा छलफल भएको उल्लेख छ । 

एक घण्टा लामो भेटमा राष्ट्रपति सीले नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएको दाबी सचिवालयको छ । 

प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सिले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताएका थिए । 

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अंगिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पारेको उनको सचिवालयले जनाएको छ ।   हाङ्जाओबाट असोज ७ गते बेइजिङ पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ चिनियाँ उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरेका थिए । 

त्यसपछि वेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा उनले भने, “अब चिनियाँ लगानी नेपालमा भित्रन्छ ।”  

नेपालमा लगानी गर्न नीतिगत र कानूनी जटिलता नरहेकोप्रति चिनियाँ उद्योगी–व्यवसायी आश्वस्त भएको जनाउँदै उनले भने, “विश्वासको एउटा राम्रो वातावरण बनेको छ ।” 

भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ र प्रधानमन्त्री लीसँग छुटुटाछु्ट्टै भेटवार्ता गरेका थिए ।  भेटमा चिनियाँ प्रधानमन्त्रीले भने, “नेपाल–चीन सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ ।”

उच्चस्तरीय भेटवार्तामा जुन गहन विषयमा छलफल भएको र आश्वासन पाएको अभिव्यक्ति नेपाली पक्षले दिएको छ त्यो सोमबार दुई देशबीच भएको समझदारीपत्रमा नझल्केको टिप्पणी पूर्वराजदूत भट्टराईको छ । 

“अब संयुक्त विज्ञप्तिमा थपिएर केही आयो भने छ्ुट्टै कुरा नत्र अहिले भएका समझदारीपत्र कुनै पनि उल्लेखनीय छैनन्,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu