दुर्व्यसनी
“हिजो आएछ त, कति दिनको दिन घर मुन्टियो यो !,” विजयप्रसादजीले भने ।
“पाँच दिनमा आउनुभयो,” बुहारीले भनिन् ।
“हजुरबाबा, स्कुल जान ढिला भयो,” नितुले बोल्दै आइन् । भर्खरै उठेर आँखा राताराता पार्दै पूर्ण पनि आयो ।
“आज ड्याडीसँग जाऊ,” विजयप्रसादले भने ।
“जान्नँ म । यस्तै ल्याङल्याङ गर्छन् र मलाई घर आउन मन लाग्दैन,” पूर्णले भन्यो ।
“आफ्नी छोरी एक दिन स्कुल पुर्याउनुपर्दा ल्याङल्याङ हुने ? कि भाँडा माजेर बस्, बुहारीले छोरी लिएर जान्छिन् । हैन भने खेतमा पानी लगाउन जा, म जाउँला । कि नुहाएर आमाको बत्ती कात्न जा, आमा जान्छिन् । घरमा कसको फुर्सद छ र ?,” विजयप्रसादले चर्कै गरी भने ।
‘ल हिँड्’ भन्दै पूर्णले नितुलाई तान्यो ।
“झोला आफूले बोक्, राम्रोसँग लैजा,” विजयप्रसादले फेरि भने ।
बिहान छोरी स्कुल पुर्याउन हिँडेको पूर्ण घर फर्केन ।
“बुहारी, नितुलाई लिन स्कुल जाऊ है, म आज टारी गाउँ जानुपर्ने भयो,” विजयप्रसादले भने ।
उनी छोरीको स्कुल गइन् । छोरी स्कुलबाहिर निस्केपछि सोधिन्, “छोरी, तिम्रो चाचा खोइ ?”
“बिहान ड्याडीले फुकालेर लैजानुभएको हो,” नितुले आफ्नो कानमा हात लगिन् ।
०००
युट्युबर
“दाइ, यहाँ किन हल्ला भएको ?,” उसले सोध्यो ।
“खास केही हैन,” हर्कबहादुले भने ।
“मानिसहरू जम्मा भएका छ्न् त,” उसले घरको पेटीमा बसेका मान्छेहरूतर्फ संकेत गर्यो ।
“ऊ, बाटापारि चिया पसल देखेनौ ? चिया खान पालो कुरेका । बिहानको हिँडाइमा डाँडा उक्लेर झर्ने तीनवटा बाटोको चोक यहीँ पर्दछ । जताबाट माथि गए पनि तल ओर्लंदा यही बाटो आउँछन् र मिठो चिया खान रोकिन्छ्न्,” हर्कबहादुरले नौलो मान्छेको सम्भावित प्रश्नहरूको जवाफ समेत अग्रिम दिए ।
तर, नौलो मान्छेको ध्यान घरको भित्रबाट आएको चर्को आवाजतिर नै थियो । उसलाई झगडा गरेजस्तो लाग्यो । उसले घरभित्र चियाउँदै खल्तीबाट मोबाइल निकालेर खिच्न थाल्यो ।
“भाइ, के खिच्न लागेको ?,” चिया पिउँदै गरेका नरजंगले सोधे ।
“भित्र ठूलै झगडा परेजस्तो भएकोले एकपटक खिचौँ भनेर,” उसले भन्यो ।
“किन ?,” प्रश्न सोधियो ।
“युट्युबमा राख्न,” उसले भन्यो ।
घरभित्र भने कान नसुन्ने हजुरबा र नातिको कुराकानी हुँदै थियो ।
०००
कोट
“साहुजी, आराम हुनुहुन्छ ?,” उसले नमस्ते गर्दै भन्यो ।
“ठिकै छ,” सधैँ आउने भएकाले ऊ परिचितझैँ लाग्न थाल्यो ।
“कता गएर आएको ?,” मैले सोधेँ ।
“कामबाट फर्केको नि, कताबाट आउनु !,” उसले भन्यो ।
आज पनि उसले पसलबाहिरको पुतला (डमी)लाई लगाइदिएको कोटलाई ध्यानपूर्वक हेर्यो ।
“के काम गर्छौ ?,” मैले सोधेँ ।
“पढ्न सकिएन । आफ्नो मान्छे छैन । के गर्नु, म त ज्यामी हो साहुजी । यो काम पनि पाउन मुस्किल छ,” उसले भन्यो ।
“बाहिरको कपडा खुब मन दिएर हेर्यौ त, तिमीलाई महँगो छ यहाँ त,” मैले भनेँ ।
हैसियत नभएकाले मेरो पसलको सामान दिनदिनै हेरेकामा रिस पनि उठ्न थाल्यो । म काठमाडौंको व्यापारी । उसको पेसा थाहा भएपछि मेरो व्यापारी मनले पनि हाँसो र बोलीको हिसाबकिताब गर्न थाल्यो ।
एक पैसाको व्यापार नदिनेसँग के बोलिराख्नु ! मनमा कुरा खेलाउँदै म अन्त हेर्न थालेँ ।
‘साहुजी’ सम्बोधनले मलाई ऊतिर फर्कन बाध्य बनायो । उसले भन्यो, “यो कोट घामले उग्लिएर फाल्ने बेला भएपछि मलाई सम्झनुहोला है !”