काठमाडौं । भारत र क्यानडाबीचको बढ्दो तनाव मंगलबार फेरि सतहमा देखिएको छ । सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले एक सिख अभियन्ताको हत्यामा भारतीय संलग्नताको आरोप लगाएका थिए । भारतको विदेश मन्त्रालयले क्यानडाको यो आरोप अस्वीकार गरेको थियो ।
यसै घटनालाई लिएर क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू – रअ)का अधिकारी पवनकुमार राईलाई देशबाट निष्कासन गरिएको घोषणा गरेकी थिइन् ।
त्यसकै बदलास्वरूप मंगलबार भारतले क्यानडाका एक उच्चायुक्तलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ ।
गएको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियामा सिख पृथकतावादी अभियन्ता हरदीप सिंह निज्जरको हत्या गरिएको थियो । क्यानडाले घटनामा भारतीय सरकारी एजेन्टको संलग्नताको आरोप लगाएसँगै दुई देशबीचको सम्बन्ध बिग्रिएको देखिएको छ ।
को हुन् हरदीप सिंह निज्जर?
ब्रिटिस कोलम्बियाको सरे सहरमा सिख मन्दिरबाहिर ४५ वर्षीय निज्जरको गोली हानी हत्या गरिएको थियो । भारतको पञ्जाब राज्यलाई टुक्र्याएर एक अलग सिख देश ‘खालिस्तान’ बनाउनुपर्ने माग राख्दै सुरु गरिएको आन्दोलनका निज्जर प्रमुख अभियन्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतीय अधिकारीले खोजी गरिरहेका निज्जरलाई सन् २०२० जुलाईमा ‘आतंकवादी’ घोषणा गरिएको थियो ।
क्यानडाले खालिस्तानको माग गर्दै अभियान चलाउनेहरूलाई खुला छोडेको छ । आन्दोलन गर्न दिएको छ । त्यसैले भारत पहिलेदेखि नै क्यानडासँग असन्तुष्ट छ ।
निज्जरको नियोजित वा लक्षित गोलीबारीमा हत्या गरिएको आरोप लगाउने विश्व सिख संगठनका अनुसार क्यानडाको खुफिया एजेन्सीले उनीविरुद्ध खतरा रहेको चेतावनी दिएको थियो ।
भारतको पञ्जाब राज्यमा ५८ प्रतिशत सिख र ३९ प्रतिशत हिन्दु जनसंख्या छ । सन् १९८० को दशक र सन् १९९० को सुरुतिर पञ्जाबमा जातीय–धार्मिक सार्वभौम राज्य खालिस्तानको माग गर्दै आन्दोलन चर्काइएको थियो । आन्दोलनका क्रममा हजारौँ नागरिकको ज्यान गएको थियो ।
हाल विशेष गरी विदेशमा बस्ने पञ्जाबी मूलकाहरूले खालिस्तानको माग गर्दै आन्दोलन गर्ने गरेका छन् ।
क्यानडामा किन केन्द्रित छ खालिस्तान ‘मुभमेन्ट’ ?
भारतीय मूलका नागरिक सबैभन्दा बढी भएको देश हो, क्यानडा । करिब चार करोड क्यानडाली जनसंख्यामा १४ लाख भारतीय मूलका छन् ।
सन् २०२१ को जनगणनाको तथ्यांकानुसार क्यानडामा सात लाख ७० हजार सिख धर्मावलम्बी छन् । पञ्जाबपछि सिखहरूको सबैभन्दा बढी जनसंख्या क्यानडामा छ ।
सिख कट्टरपन्थीले विद्रोह गर्न खोजिरहेको भन्दै भारतले पटक–पटक क्यानडा सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।
१९८४ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनकै अंगरक्षकले गोली हानी हत्या गरिएको थियो । उक्त घटना सिख पृतथकतावादीले गराएको मानिएको छ ।
२०१८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले भारतमा पृथकतावादी अभियान चलाउने कसैलाई पनि सहयोग नगर्ने बताएका थिए । तर, उनले अभिव्यक्ति स्वतन्त्रता र प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्ने बताउने गरेका छन् ।
भारत–क्यानडा सम्बन्ध अब कस्तो होला ?
भारत र क्यानडाबीचको सम्बन्ध पछिल्लो समय झन् बिग्रँदै गएको छ । यही सेप्टेम्बर ९ र १० मा भारतको नयाँ दिल्लीमा आयोजित जी–२० शिखर सम्मेलनमा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रुडोबीच खासै निकटता देखिएको थिएन ।
आफ्नो फेसबुकमा मोदीले अरू सबै नेताहरूसँग हात मिलाएको फोटो राखेका थिए । ट्रुडोसँग भने अलग्गै उभिएको फोटो सेयर गरेका थिए ।
मंगलबार भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “हामीले क्यानडाका प्रधानमन्त्रीले संसद्मा राखेको भनाइ र त्यहाँका विदेशमन्त्रीको वक्तव्य हेरेका छौँ र अस्वीकार गरेका छौँ । क्यानडामा हुने कुनै पनि हिंसामा भारत सरकारको संलग्नताको आरोप तथ्यहीन र प्रेरित छ ।”
क्यानडाली राजनीतिज्ञले खालिस्तानी ‘मुभमेन्ट’लाई स्थान दिएको भारतको आरोप छ । हत्या, मानव बेचबिखन र संगठित अपराधजस्ता गैरकानुनी गतिविधि त्यहाँ हुनु नयाँ नभएको भन्दै भारतको विदेश मन्त्रालयले चर्काे आलोचना गरेको छ ।
“हामी त्यस्ता घटनाक्रमहरूमा भारत सरकारलाई जोड्ने कुनै पनि प्रयासलाई अस्वीकार गर्छौँ,” विज्ञप्तिमा उल्लेख छ ।
भारतले भारतविरोधी तत्त्वविरुद्ध तत्काल प्रभावकारी कानुनी कारबाही गर्न क्यानडालाई आग्रह गरेको छ ।
यसअघि, दुवै देशका अधिकारीले २०२३ को अन्त्यसम्म व्यापार सम्झौतामा सहमत हुन सक्ने बताएका थिए । अहिले सो विषयमा वार्ता हुन छोडेको छ ।
भारत क्यानडाको दशौँ ठूलो व्यापारिक साझेदार हो । तर, व्यापार सम्झौता १० वर्षभन्दा लामो समयदेखि टुंगोमा पुर्याउने प्रयास सफल भएको छैन । –एजेन्सीको सहयोगमा