site stats
बाह्रखरी :: Baahrakhari
विदेश
खालिस्तानीको हत्या प्रकरण : क्यानडाले निष्कासन गर्‍यो रअ प्रमुख, भारतसँग चर्कियो विवाद

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानेडाली सिख अभियानकर्ताको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नताको आशंकामा सुरक्षा एजेन्सीले अनुसन्धान गरिरहेको बताएका छन् ।

यसै घटनालाई लिएर क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू – रअ)का अधिकारी पवनकुमार राईलाई निष्कासन गरिएको बताएकी छन् ।

सोमबार संसद्‌मा ट्रुडोले घटनाबारे हालै नयाँ दिल्लीमा आयोजित जी–२० शिखर सम्मेलनमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग गम्भीर चिन्ता व्यक्त गरिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको जुन १८ मा क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियाको सहर सरेस्थित एउटा सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो ।

त्यसबारेमा ट्रुडोले भने, “क्यानडाली भूमिमा क्यानडाली नागरिकको हत्यामा विदेशी सरकारको कुनै पनि संलग्नता हाम्रो सार्वभौमिकताको अस्वीकार्य उल्लंघन हो ।” उनले यस विषयको गहिराइमा पुग्न भारत सरकारलाई सहकार्य गर्न आग्रह समेत गरेका छन् ।

भारतले भने क्यानडाको आरोप तथ्यहीन र नियोजित भन्दै अस्वीकार गरेको छ । “हामीले क्यानडाका प्रधानमन्त्रीले संसद्‌मा राखेको भनाइ र त्यहाँका विदेशमन्त्रीको वक्तव्य हेरेका छौँ र अस्वीकार गरेका छौँ । क्यानडामा हुने कुनै पनि हिंसामा भारत सरकारको संलग्नताको आरोप तथ्यहीन र प्रेरित छ,” भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि उल्लेख छ, “क्यानडाका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई पनि यस्तै आरोप लगाएका थिए र त्यसलाई पूर्ण रूपमा अस्वीकार गरिएको थियो ।”

पछिल्लो समय भारत र क्यानडाबीचको सम्बन्ध बिग्रँदै गएको छ । जी–२० शिखर सम्मेलनमा समेत दुई देशबीचको तनाव झल्किएको थियो ।

हरदीपमाथि भारतमा आतंकवादी हमला गरेको आरोप रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी पञ्जाबमा छुट्टै सिख राज्यको माग गर्ने खालिस्तानी ‘मुभमेन्ट’का एक प्रमुख अभियानकर्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्