काठमाडौं । पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को निर्णायक समूहका संयोजक प्रा. डा. सावित्री कक्षपतिले नेपाली साहित्यलाई नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बताएकी छन् ।
उनले डिश होम बाह्रखरी कथा प्रतियोगिता नयाँ पुस्ताका कथाकारका लागि सुनौलो अवसर भएको बताइन् । डा. कक्षपतिले विश्व साहित्यले अनुवाद गर्ने तहका कथा अब युवा पुस्ताले लेख्नुपर्नेमा जोड दिइन् ।
“यो प्रतियोगितामा आउने कथाले समाज रूपान्तरण गर्न सकून् । कतिपय कुरा औपचारिक रूपमा भन्न सकिँदैन, त्यस्ता कुरा साहित्यमार्फत विम्ब र प्रतीकको प्रयोग गरेर भन्न सकिन्छ,” बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० घोषणासभामा उनले भनिन्, “चाहेर पनि औपचारिक रूपमा कतिपय विषय भन्न सकिएको छैन । त्यस्ता विषय यो प्रतियोगितामा कथामार्फत आउँछन् भन्ने मेरो विश्वास छ ।”
बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई नाटक, चलचित्र र टेलिचलचित्रमा रूपान्तरण गर्न सकिने उनको धारणा छ । सिनेमा र नाटकका लागि कथा भएन भन्ने गुनासो आउने गरेको उनले स्मरण गरिन् । प्रतियोगिताका कथाबाट नाटक र सिनेमाको कथा बनाउन सकिने उनले बताइन् ।
कथा प्रतियोगितालाई निरन्तरता दिन सहज नरहेको उनको भनाइ छ । “म सुरुदेखि नै यो प्रतियोगितालाई नियालिरहेको छु । यो कथा प्रतियोगिताको पहिलो संस्करण घोषणा हुँदादेखि नै म निकै खुसी र उत्साही भएको थिएँ,” उनले भनिन्, “आज पाँचौँ संस्करणसम्म आइपुगेको छ, यसलाई नेपाली साहित्यको इतिहासमा स्वर्ण अक्षरले लेखिनुपर्छ ।”
उनले बाह्रखरी कथा लेखन प्रतियोगितालाई नयाँ पुस्ताले सुनौलो ‘प्लेटफर्म’का रूपमा लिनुपर्ने बताइन् । “प्लेटफर्म नपाउनेका लागि यो अवसर हो । यो अवसरलाई सदुपयोग गर्दै समाजलाई दिशा दिने कथा आउनेछन् भन्ने लाग्छ,” उनले अगाडि थपिन्, “नयाँ पुस्ताले नै नेपाली कथालाई धानिरहेको छ । त्यसैले यो प्रतियोगिताले निरन्तरता पाओस् भन्ने मेरो चाहना छ ।”
निर्णायकमण्डलका सदस्य सुविन भट्टराईले नयाँ प्रतिभाले बाह्रखरी कथा लेखन प्रतियोगितालाई भरपुर उपयोग गर्नेमा आफू ढुक्क रहेको बताए । “बाह्रखरीले नयाँ प्रतिभालाई विशिष्ट स्थान दिएको छ । हामीले हाम्रो समयमा यो अवसर पाएनौँ,” कथाकार भट्टराईले भने, “हामीलाई सुरुसुरुमा कथा लेख्ने हुटहुटी हुँदा यस्तो प्लेटफर्म थिएन । सायद यस्तो अवसर पाएको भए आज अवस्था अर्कै हुने थियो ।”
उनले विचार र भाषालाई सन्तुलित गरेका कथा नै बलियो हुने धारणा राखे । “विचार र भाषा सन्तुलित भएका कथा नै वास्तवमा सशक्त हुन्छन्,” उनले भने, “प्रतियोगितामा यहीभित्र रहेर कथा पठाउन म आग्रह पनि गर्छु ।”
डिश मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले नेपाली माटोका मौलिक कथा आवश्यक रहेको बताए । कथा लेखनमा स्वतन्त्रताको भरपुर प्रयोग गर्न सकिने उनले उल्लेख गरे । उनले समाज रूपान्तरण गर्न सक्ने कथा आवश्यक रहेको औँल्याए ।
उनले बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई सिनेमा र टेलिसिरियल बनाउन सकिने धारणा राखे । “कथा लेख्ने पालो अब युवा पुस्ताको हो । टेलिभिजनले उठाउन नसकेका विषय कथाले समेट्नुपर्छ भन्ने लाग्छ,” उनले थपे ।
फाइन प्रिन्टका सञ्चालक निरज भारीले कर्पोरेट हाउसलाई साथमा लिएर कथा प्रतियोगिता गर्नु नै नेपाली साहित्यमा नयाँ सोच भएको टिप्पणी गरे । बाह्रखरी कथा लेखन प्रतियोगिता नयाँ पुस्ताका लागि सम्भावनाको ढोका उघार्ने माध्यम भएको उनले बताए । यसलाई नयाँ पुस्ताले अवसरका रूपमा लिन सक्नुपर्ने उनको धारणा छ ।
बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले बाह्रखरी कथा लेखन प्रतियोगिता नयाँका लागि मात्र नभएर अग्रज पुस्ताका लागि पनि भएको बताए । “यो प्रतियोगिता नयाँ प्रतिभाका लागि मात्रै हो कि भन्ने भ्रम रहेको छ, तर त्यस्तो होइन । सबैका लागि हो,” उनले स्पष्ट पारे ।
हरेक वर्ष नयाँ प्रयास गर्दै आएको स्मरण गर्दै उनले यसपटक पनि आमन्त्रित साहित्यकारको कथा समावेश गरिएको जानकारी दिए ।
साहित्यको कथा विधालाई अगाडि बढाउने बाह्रखरीको प्रयासमा सहयोग गर्ने प्रायोजकलाई धन्यवाद दिँदै उनले सहकार्यको निरन्तरताको पनि अपेक्षा व्यक्त गरे ।
“कमजोर अर्थतन्त्रका बाबजुद पनि सहयोग गर्नेलाई धन्यवाद । अहिलेको अवस्थामा प्रायोजकलाई पनि सहज छैन । तर, यो अप्ठ्यारो अवस्थामा पनि सहयोग गर्ने प्रायोजक र हाम्रो प्रतियोगितामा सहभागी हुने सबैलाई धन्यवाद दिन्छु,” प्रधानसम्पादक प्रधानले भने ।
बाह्रखरी मिडियाका विशेष सम्पादक हरिबहादुर थापाले नयाँ स्रस्टा जन्माउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले संसारभरका नेपालीभाषी कथाकारलाई प्रतियोगिताले समेट्ने भन्दै सहभागी हुन आह्वान गरे ।
बाह्रखरी कथा लेखन प्रतियोगिताको आन्तरिक निर्णायकमण्डलका संयोजक गोविन्द अधिकारीले प्रतियोगितामा भूगोल र उमेरको छेकबार नरहेको बताए । जुनसुकै देश र उमेरका कथाकारले सहभागिता जनाउन सक्ने उनले जानकारी दिए । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि विभिन्न जाति, समुदाय, लिंग र भूगोललाई प्रतिनिधित्व गर्ने कथा प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।