काठमाडौं । वर्षाका कारण रोकिएको एसिया कप–२०२३ को फाइनल खेल पुनः सुरु भएको छ ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा हुने भारतविरुद्धको फाइनल खेलका लागि भएको टस जितेर श्रीलंकाले ब्याटिङको निर्णय गरे पनि वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन भने सकेको थिएन ।
वर्षाका कारण खेल करिब ४० मिनेट रोकिएपछि पुनः सुरु भएको हो ।
भारतले समूह ‘ए’ को र श्रीलंका समूह ‘बी’ विजेताको रूपमा सुपर फोरको यात्रा तय गरेका थिए । सुपर फोरमा भारतलाई २१३ मा अल आउट गरे पनि श्रीलंका ४१ रनले पराजित भएको थियो ।
घरेलु टिम श्रीलंका एसिया कपमा सबैभन्दा धेरै फाइनल खेल्ने टिम हो । श्रीलंकाले हालसम्म १२ पटक फाइनल खेलेको छ ।
जसमध्ये ६ उपाधि जितेको श्रीलंका आज उपाधिसहित प्रतियोगिताको सबैभन्दा धेरै उपाधि जित्ने टिमको रूपमा भारतसँग बराबरी गर्न चाहन्छ ।