site stats
बाह्रखरी :: Baahrakhari
देश
गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह तीन महिनाका लागि स्थगित

काठमाडौं । सामाजिक अभियन्ता डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह स्थगित गरेको घोषणा गरेका छन् । 

चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्षले आफू दलीय आबद्धता र स्वार्थको द्वन्द्वबाट टाढा रहेको तथा चिकित्सा शिक्षा ऐन र नियमावलीअनुसार पदीय दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको सार्वजनिक प्रतिबद्धता गरेपछि उनले सत्याग्रह स्थगित गरेका हुन् । 

Argakhachi Cement Island Ad

“यो अवस्थामा भदौ २९ गते घोषित सत्याग्रह तीन महिनाका लागि स्थगित गरेका छौँ । अब सत्याग्रह सुरु गर्न परेको खण्डमा देशमा रहेको सबै खाले दण्डहीनताका जरोमा रहेको द्वन्द्वकालीन अन्यायको विषयलाई मुख्यरूपमा उठान गर्ने तथा त्यसका लागि जिम्मेवार दुवै पक्षका व्यक्तिहरूलाई जवाफदेही बनाउने पनि जानकारी गराउन चाहन्छौँ,” डा. केसीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । 

विभिन्न मागहरू राखी साउन २९ गतेदेखि सत्याग्रह राखेकोमा सरकारका विभिन्न प्रतिबद्धताहरूपछि त्यसलाई भदौ २९ गतेसम्म सारिएको थियो ।

हालैका दिनमा शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलगायतका कर्मचारीहरूसितको भेटघाटमा उनीहरूले तीन महिनाको समय माग गरेको उनले जनाएका छन् । 

पदाधिकारी नियुक्तिका मापदण्ड कायम गर्नका लागि कानुनी व्यवस्था गर्ने, एकीकृत प्रतिष्ठान ऐन जारी गर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्‍याउनेलगायतका कामहरूका लागि उनीहरूले तीन महिनाको समय मागेको डा. केसीले बताएका छन् । 

डा. केसी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि संघर्षरत छन् । यसबीच देशमा दण्डहीनताको अन्त गर्न र सरकारलगायत राज्यका अंगहरूलाई जवाफदेही बनाउन उनले विभिन्न चरणमा सत्याग्रहसमेतको आन्दोलन गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्