site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
यार, मलाई नसम्झाउनुस् !

राजा रंक सबै समान उसका वैषम्य गर्दैन त्यो 
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो...

यस कवितामा अभिव्यक्त शाश्वत दृष्टिकोणबारे चर्चा चल्यो, आर्यघाट नजिकैको वाग्मती पुलछेउ । 

एकै छिन कविशिरोमणि लेखनाथ पौड्यालको यो कविताका लेखक अरू पनि कोही भए । दुईचार नाम उठे । अन्ततः ‘हैन, यो कविता कविशिरोमणिको हो’ भनेपछि कुरा ‘मृत्यु दर्शन’तिर मोडियो ।

Dabur Nepal

साहित्यकार÷पत्रकार राजेन्द्र पराजुलीको पार्थिव देह पशुपति आर्यघाटस्थित ब्रह्मनाल नजिकै राखिएको थियो । उपस्थित साहित्यकार, पत्रकारहरू अश्रुपूरिते श्रद्धासुमन अर्पण गर्दै थिए ।

राजेन्द्र दाइसँग चिनजान लामै भए पनि बाह्रखरीमा जोडिएपछि अझ नजिक भएको थिएँ । त्यही निकट सम्बन्धले कतिपय सन्दर्भमा अन्तरङ्ग कुराकानी हुन्थे । नेपाली साहित्य र पत्रकारिताकाबारेमा गन्थनमन्थन भइरहन्थे । 

अनि कहिलेकाहीँ राजेन्द्र दाइ भन्थे – ‘ए राजेशजी, यसपटक यही विषयमा एउटा फिचर लेख्नुस्, शनिबारलाई ।’

मंगलबार भने केही लेख्न सकिन । केही साताअघि तीनकुनेको एउटा पसलमा चिया पिएर छुट्टिएपछि उनीसँग भेट हुन सकेन । फोनमा पटकपटक कुरा भए पनि फेरि भेट्ने मेसो जुरेन । 

मंगलबार बिहान, केहीबेर त सातो गएजस्तै भयो ! के गरूँ कसो गरूँ, छटपटीले यताउता कुदाइरह्यो । केही सिध्याउनुपर्ने काम बाँकी नै थिए । तर, ल्यापटप खोल्ने आँटै आएन । 

बिहानै कथाकार उमा सुवेदीको फोनले थरथराएको मेरो ज्यानलाई आख्यानकार मित्र नयनराज पाण्डेको मोबाइल म्यासेजले झनै गलायो । केही गर्ने शक्ति नै रहेन । 

आमा, बुवामात्रै होइन, अरू पनि थुप्रै आफन्तलाई पशुपति आर्यघाटमा धूवाँ बनेर आकाशतिर उड्दै गरेको देख्ने म यसपटक भने थकित र शिथिल थिएँ । 

लामो समयदेखिको परिचय भन्दा पनि पछिल्लो चार पाँच वर्षको निकट सहकार्यले साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीसँग निकट बनाएको थियो । 

यस्तै २०५७÷५८ सालतिर होला उनीसँगको पहिलो भेट र चिनापर्ची । मैले चिन्दा गालाभरि झपक्क दारी थियोजस्तो लाग्छ । म रेडियो पत्रकारितमा हातपाउ मार्दै थिएँ । उनले सायद एचबीसी ९४ मेगाहर्ज एफएम छोडिसकेका थिए । 

पछि राजेन्द्र साझा प्रकाशन सँचालक समिति सदस्यमा खडा भएका थिए । म पनि भोटर थिएँ । त्यसैले केही जमघटहरूमा भेटघाट हुनु अस्वाभाविक थिएन । 

त्यसैबेला विनय रावल दाइ पनि स्पर्धामा थिए, साझा सञ्चालक समितिमा ।

साझामा पराजुली र विनय दाइ दुवैले जिते । र, विनय दाइको चल्ते राजेन्द्र दाइसँग भेट थोरै बाक्लियो । 

साझा प्रकाशनको सञ्चालक समितिमा हुँदा सुरुमा त्यति खासै नभए पनि विनय रावलसँग अन्तरङ्ग सम्बन्ध भएको राजेन्द्र दाइ बताउँथे । साझाको उत्थानका लागि दुवैको सोच मिल्थ्यो । दुवै केही फरक काम गर्ने मनस्थितिमा थिए । 

तर दार्जिलिङ भ्रमणबाट फर्किंदा भएको गाडी दुर्घटनामा विनय दाइको निधन भयो । राजेन्द्र दाइ र विश्वविमोहन श्रेष्ठ घाइते भए । राजेन्द्र दाइले मृत्युलाई सबैभन्दा नजिकबाट नियालेको सायद त्यो नै पहिलो पटक थियो । अर्धचेत अवस्थाको अनुभव पछि राजेन्द्र दाइ सुनाउँथे – “नचिनेका डरलाग्दा मान्छेहरू चारैतिरबाट तानातान गर्न लागेजस्तो गर्थे ।” 

लामो समय अस्पतालको बसाइ र उपचारपछि उनीहरू निको भएर आफ्नोआफ्नो दैनिकीमा लागे । 

राजेन्द्र दाइसँग समयसमयमा विनय दाइको कुरा हुन्थ्यो । सायद, त्यतिबेला उनी सम्झिन्थे खस्र्याङमा भएको त्यो डरलाग्दो दुर्घटना । त्यस दिन उनी मृत्यूको मुखबाट उम्किएर आएका थिए । 

अनि कहिलेकाहीँ भन्थे – ‘यार, मलाई नसम्झाउनुस् त्यो घटना ।’ 

एक पटक विनय दाइका विषयमा लेख्ने कुरो चल्यो । उनले आफ्नो र विनयको सम्बन्धबारे निकै कुरा सुनाए । अनि भने – ‘लेख्नु न, विनयका बारेमा लेखिनुपर्छ । उनको जति चर्चा हुनुपर्ने हो, त्यो भएको पाइँदैन । कसैले सम्झिएको पनि देखिन्न !’

राजेन्द्र दाइ सम्झिँदै थिए, २०६२ साल जेठ तेस्रो साताको त्यो दिन । खस्र्याङमा बास बसेका उनीहरू बिहानै कतै घुम्ने मनःस्थिति बनाएर गाडी लिएर निस्किए । 
गाडीमा विनय, राजेन्द्रसँगै कवि विश्वविमोहन श्रेष्ठ र अर्का एक व्यक्ति पनि थिए । 

विनय अगाडि बसेका थिए, चालक छेउ । अरू पछाडि थिए । तर केही बेरमै गाडी भिरतिर झर्यो । कवि रावलको सास त्यहीँ रोकियो । उनी नफर्किनेगरी अस्ताए । 

गाडीमा भएका अरू घाइते भए । र, लामो उपचारपछि जीवनको दोस्रो इनिङमा सक्रिय भए । जीवनको दोस्रो इनिङलाई राजेन्द्र दाइले अझै ऊर्जाशील बनाएको उनको कामबाट देखिन्थ्यो । लेखिरहने, लेखिरहने बस् लेखिरहने । 

गतवर्ष जेठ २५ गते विनयको सम्झना गर्दै राजेन्द्रले उनकाबारेमा निकै बोले । र, लेखक कवि अक्षरहरूमा सधैँ बाँचिरहनेमा जोड दिएका थिए । तथापि, विनय र उनको काव्यकारितालाई  सम्झिरहनु पर्ने उनको भनाइ थियो । 

आज, राजेन्द्र दाइ आफैँ अक्षरहरूको उज्यालो तारामा परिणत भएका छन् । उनको देह धूवाँ बनेर उडे पनि उनका कृतिहरू ‘जन्तरमन्तर’, ‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘भ्रष्ट समवेदना’, ‘अनायिका’, ‘सपनामा माक्र्स’, ‘जाडोमा भोक’ र ‘विकल्प यात्रा’ का अक्षर अक्षरमा, शब्द शब्दमा कालजयी रूपमा जीवित रहनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro