
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्व. बीपी कोइरालाले मात्र असंलग्न परराष्ट्र नीतिको अधिकतम् अभ्यास गरेको बताएका छन् ।
बीपी साहित्य महोत्सवको दोस्रो दिन सोमबार पार्टी कार्यालय सानेपामा अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले बीपीको व्यक्तित्व अन्तर्राष्ट्रिय राजनीतिमा पनि उच्च रहेको बताए ।
छलफल कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बीपीको राजनीति र कूटनीतिक बुझाइलाई तीन चरणमा स्मरण आफूले गर्ने बताए ।
उनले कांग्रेसको स्थापनापूर्व, २००७ सालको पछि बीपी र बीपीले नपाएको १५ वर्ष मेलमिलाप नीतिको आधारमा उनको कूटनीतिक आयामको विश्लेषण आफूले गर्ने गरेको बताए ।
“मेलमिलापको नीतिमा म सहमत हुन सकिन । ३३ साल सम्मको नीतिलाई सम्मान गरेको हो । उहाँ हस्पिटलमा भएको अन्तिम अवस्थामा पनि मैले त्यो विषयमा असहमति राखेकै हो,” डा. भट्टराईले भने ।
डा. भट्टराईले बीपीले त्यो समयमा चीनसँगको सीमा सम्झौता गरेको तर त्यसको क्रेडिट भने राजा महेन्द्रले लिन खोजेको बताए । साथै उनले बीपीको विचारमा माक्स र गान्धिको फ्युजन रहेको भन्दै विदेश नीति सही र उपयुक्त भएको बताए ।
“भारत चीनको बीचमा हुनु हाम्रो लाभ हो भने बीपी जस्तो नेताले जे जति अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न अघि बढाउन खेलेको भूमिका विशिष्ट थियो । उहाँँ अग्रगामी प्रगतिशिल सोचबाट अघि बढ्नुभयो । उहाँ ओरिजिनल चिन्तक पनि हुनुहुन्छ,” भट्टराईले भने ।
बीपी नविन सोचको प्रणेता तथा त्यस समयमा महान् समाजवादी नेताहरू, लोहियाहरूसँग पनि स्वभिमानका साथ अडान लिनसक्ने साहस भएको नेता भएको बताए ।
राजा र उनको अन्तर्राष्ट्रिय छविका कारण महेन्द्रले उनलाई कू गरेको विश्लेषण भट्टराईले सुनाए । बीपी अन्तिम समयसम्म क्रान्तिकारी र अग्रगामी नेता भएको उनले छलफलमा बताए ।
यस्तै छलफलका अर्का अतिथि पूर्वपरारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बीपी गतिशिल व्यक्ति भएको टिप्पणी गरे । नेकपा (एमाले) नेतासमेत रहेका उनले बीपीको राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध, शक्ति राष्ट्रलाई हेर्ने पक्ष र दृष्टिकोण आफूले गतिशिल पाएको धारणा राखे ।
उनले पनि सात सालअघि बीपी, आठ सालमा गृह र १५ सालमा प्रम भएपछि अन्तर्राष्ट्रिय सम्बन्धमा गरेको डिल र १७ साल र त्यसपछि जोखिम मोलेर देश फर्कदा हेर्दा उनको राजनीतिक म्याचुरीटी एकदम हाइ भएको तर्क गरे ।
“बीपी आएपछि मेजर ब्रेक थ्रु । चीनसँग नयाँ ढंगबाट सम्बन्ध स्थापना र सीमा सम्झौता गरेको कुरा महत्वपूर्ण थियो । भारत र चीनले नगरेको इजरालसँगको सम्बन्ध, पाकिस्तानको विषय हेर्दा बीपी गतिशिल हुनुहुन्छ,” ज्ञवालीले भने ।
यस्तै पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस नेता डा. नारायण खड्काले बीपीको बहुआयामबारे चर्चा गरेका थिए । उनले वैदेशिक नीतिमा पार्टी बीपीको मुलभूत सिद्धान्तबाट पलायन नभएको भन्दै कूटनीतिक सन्तुलन कांग्रेसको विदेश नीति भएको धारणा राखे ।
परराष्ट्रविद् इन्द्र अधिकारीले विपीको व्यक्तिव अन्तर्राष्ट्रिय स्तरको भएको भन्दै परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा बीपीको दृष्टिकोण फराकिलो भएको बताइन् ।
उनले ‘राष्ट्रिय स्वार्थ र सिमाले मानिहरूलाई खुम्चाएको छ’ भनेर बीपीले भनेको भन्दै बीपीमा सिर्जनाशिलता आफूले पाउने बताइन् ।
“यूएनको १५औँ महासभालाई सम्बोधन गर्दै उहाँले साना राज्य र विकाशील राज्यको अधिकारको कुरा राख्नुभयो । त्यसबेला नेपाललाई चिन्ने अवस्था थिएन,” उनले भनिन्, “साना राज्यलाई अरु समान स्पेस दिनुपर्छ, अत्याधिक गरिबीबाट पीडित भएको बेला अब मानव विकासको कुरा यूएनले ध्यान दिनुपर्छ जसका लागि धनी राष्ट्रहरूले सहयोग गर्नुपर्छ भनेर कुरा राख्नुभएको थियो । जुन महत्त्वपूर्ण कुरा हुन् ।”