site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
देलान् त दाहालले झड्का ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अचेल अलि बेग्लै सुनिन थालेका छन् । उनले सुशासनको कुरा गर्न थालेका छन् । नेपाल कम्युनिस्ट (माओवादी केन्द्र)लाई ‘जनताको पार्टी’ बनाउछौँ भन्न थालेका छन् । लाग्छ, दाहाल केही ‘राम्रो’ छाप पनि छाड्ने मानसिकतामा छन् ।

अर्कातिर विगत हेर्दा भने उनका भनाइ पत्याइहाल्न कठिन हुन्छ । सत्ताका लागि साथ छाड्न बेरै नलगाउने दाहालले पहिले पनि कुरा त ठूलाठूलै गर्थे । व्यवहारले भने उनी वा माओवादी केन्द्रका नेताहरू छवि सकारात्मक बन्न सकेको छैन । विशेषगरी ‘भ्रष्टाचार’ र ‘अनियमितता’का लागि माओवादीहरूले पुराना दलका नेतालाई समेत उछिनेको जनधारणा पाइन्छ । 

यसैले होला उनका कथनमा विश्वास गर्नेभन्दा त्यसलाई ‘पाखण्ड’ ठान्ने बढी देखिन्छन् । तैपनि, दाहाललाई ‘शङ्काको सुविधा’ नदिनु भने न्यायोचित हुँदैन । उनमा साँच्चै नै जनताको अवस्था बदल्ने ‘सदाशय’ पलाएको पनि त हुनसक्छ नि ! 

KFC Island Ad
Dabur Nepal
NIC Asia

र, शङ्काको सुविधा दिनुपर्ने कारण पनि छ ।

उपलब्ध मौका एउटामात्रै र अहिलेमात्रै 

Royal Enfield Island Ad

देशको राजनीतिक अवस्था निकै तरल भएको छ । अर्को चुनाव जुनसुकै बेला भए पनि अहिले समाजमा देखिएको संस्थापनविरुद्धको आक्रोश कायमै रहने सम्भावना नै बढी देखिन्छ । त्यस अवस्थामा व्यापक जनाधार भएको मानिएका नेपाली कांग्रेस, नेकपा (एमाले)जस्ता दलहरूकै स्थति निकै दयनीय हुनसक्छ ।

अर्कोतिर, माओवादी केन्द्रको समर्थन बढ्न असम्भव नभए पनि निकै कठिन देखिन्छ । अर्थात्, अर्को चुनावपछि दाहाल प्रधानमन्त्री हुने सम्भावना अत्यन्तै कम छ । यसैले दाहालका लागि ‘केही राम्रो’ गर्न चाहने हो भने यही कार्यकालमा नै गरिहाल्नुपर्छ । थप समय र सुविधा उनलाई पनि उपलब्ध छैन । 

अहिलेका नेताहरूमा परिवर्तनलाई सजिलै आत्मसात् गर्ने र नयाँ परिस्थितिको आकलन गर्ने क्षमता पनि दाहालमा देखिएको छ । यद्यपि, अहिलेसम्म उनको त्यो क्षमता देशको हितमा भन्दा दाहाल र माओवादी पार्टीका नेता कार्यकर्ताको स्वार्थपूर्तिमा नै बढी काम लागेको छ । दाहालले माओवादीलाई शान्ति सम्झौतापछि लगातारजस्तै सत्तामा टिकाएका छन् । तर, त्यसको लाभ के भयो त ? 

सत्ताको स्वादले बिग्रिएका कार्यकर्ता

एकातिर माओवादीको जनाधार खस्केको छ भने अर्कातिर पार्टी पनि चिराचिरा भएको छ । उनैका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलेसमेत माओवादी नेताहरूको अस्वाभाविक जीवनशैलीप्रति प्रश्न उठाएका छन् । यसको सबै दोष अध्यक्ष दाहालमाथि नै जान्छ तर लाभ भने टोबहादुर रायमाझीदेखि रामबहादुर थापासम्मले लिएका छन् । पौराणिक कथाका रत्नाकरको पापको बोझ बोक्न परिवारजन तयार नभएजस्तै दाहालका कार्यकर्ताले पनि अप्ठेरो परेमा अब उनको साथ दिनेछैनन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’जत्तिका चतुरले यति त पक्कै बुझेका छन् ।

जनताका आँखामा माओवादी - जता भत्क्यो उतै दैलो

सरकारले राम्ररी काम गर्न सकेन भन्ने प्रसङ्गमा एक जना सेवा निवृत्त प्राथमिक शिक्षकले भनेका थिए - ‘माओवादीलाई त के छ र जता भत्क्यो उतै दैलो’ । जनसाधारणको प्रतिनिधित्व गर्छ उनको यस धारणाले । माओवादीको गैरजिम्मेवार शैलीकै कारण जनताको  यस्तो दृष्टिकोण बनेको न हो । 

र, यो सबैको अवगाल त दाहालले नै बेहोर्नुपर्छ इतिहासमा अनि अहिले पनि ।

खाँचो एउटा ठूलै झड्काको ! 

यिनै सबै आत्मसात गरेर दाहालले सबैलाई झट्का दिने निर्णय गरे भने खासै आश्चर्य पनि हुनेछैन । अहिले उनले ‘सुशासन’ शब्द धेरै दोहोर्‍याउने गरेका छन् । देशमा दण्डहीनता रहँदासम्म ‘शासन’मा ‘सु’ होइन ‘कु’ उपसर्ग लाग्छ । र, सबैलाई थाहा छ - मूलतः माओवादीकै कारण देशमा दण्डहीनता बढेको हो ।

भ्रष्टाचारका घटनामा कारबाही प्रधानमन्त्री दाहालको अर्को थेगो भएको छ । अहिले नै उनका निकट सहयोगीहरूमाथि जनताले सपरिवार भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन् । तिनको जीवनशैली र आय स्रोतका बीच तालमेल नमिलेको देखेपछि जोसुकैले पनि भ्रष्टाचारको आरोप त लगाउँछ नै । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऐनअनुसार काम गर्ने हो भने माओवादी केन्द्रका लगभग सबै पदाधिकारी अहिले जेलमा हुनसक्थे । अस्वाभाविक जीवनशैली भ्रष्टाचारको एउटा बलियो प्रमाण त हो जुन जनसाधारणले छर्लङ्ग देख्छन् । दाहालले यो सबै नबुझेका र नदेखेका त पक्कै छैनन् ।

प्रयोजन सकिएको पार्टीको बोझ

अहिलेको माओवादी केन्द्रमा जति नै सुधार, परिवर्तन वा विनिर्माणै गरे पनि त्यसका नेता कार्यकर्ताले सुशासन वा भ्रष्टाचार निवारण थेग्न सक्तैनन् । एउटा सानो उदाहरण- दाङको संस्कृत विश्वविद्यालयको हजारौं बिघा जमिन माओवादी नेता कार्यकर्ताले हडपेका छन् । देशको कानुन, समाजको प्रचलन र नैतिक दृष्टिले पनि यो अपराधै हो । माओवादी केन्द्र सत्तामा वा शक्तिकेन्द्रका रूपमा रहुन्जेल त्यो जमिन विश्वविद्यालयले फिर्ता पाउन सक्तैन । 

सार्वजनिक संस्थाको जमिनमा व्यक्तिको अवैध कब्जा भइरहँदा सरकारले उल्टै कब्जा गर्नेको पक्षपोषण गर्ने मुलुकमा प्रधानमन्त्रीले सुशासन र भ्रष्टाचार उन्मूलनको चर्चा गर्नु पनि ‘पाखण्ड’ प्रतीत हुन्छ । संगठन कार्यकर्तामा आधारित छ । ठूलो संख्यामा पूर्णकालीन कार्यकर्ता भएकाले तिनलाई पाल्न पार्टीले अपारदर्शीरूपमा ‘असुली’ नगरी सुख छैन । पार्टीले पूर्णकालीन कार्यकर्ता पाल्ने परम्परा नभएको कांग्रेसजस्तो दलमा समेत ‘माओवादी रोग’ देखा परिसकेको छ भने स्वयं माओवादीको के कुरा ?

अब कता ?

यसैले पुष्पकमल दाहालले छिटै नै एउटा बाटो रोज्नुपर्ने देखिन्छ - सबैका यावत कलङ्को भारी बोकेर इतिहासका ‘कुख्यात’ हुने कि आँगमा लागेको थुलोजसरी अरूकाे पाप टकटक्याएर देशको हितमा केही सकारात्मक काम गरेर ‘विख्यात’ हुने ?

माओवादी पार्टीको मोह वा समाजवादी मोर्चाको चक्कर त्यागेर उदार लोकतन्त्रको बाटोमा हिँड्न कठिन त पक्कै हुन्छ तर सही गन्तव्यमा पुग्ने हो भने बाटो त्यहीमात्र बाँकी छ पुष्पकमल दाहालका सामु । 

श‌ङ्काको सुविधाको सदुपयोग गर्लान् त दाहालले ?      

र अन्त्यमा 

चिनियाँ राजदूत छन सोङले भारतका सम्बन्धमा नेपालमा गरेको टिप्पणीलाई बढी नै विवादको विषय बनाइएको देखियो । यसमा नेपाली समाज र विशेषगरी राजनीतिक क्षेत्रमा रहेको लघुताभास कति अभिव्यक्त भएको छ र कूटनीतिज्ञ कहलिने लोभ अनि भारत रिझाउने चाहना कति छ ठ्याक्कै भन्न त सकिँदैन । तेस्रो मुलुकको राजदूतले गरेको टिप्पणीले नेपाल - भारत सम्बन्धमा खासै प्रभाव पर्दैन । यस्तै यस्ता कथनले नेपालको सार्वभौमसत्तामा पनि कुनै असर पक्कै पर्दैन । 

यसो त राजदूत छनको कथन जे भए पनि ‘असत्य’ भने होइन । पक्कै पनि भारतको भर परेर नेपाल आत्मनिर्भर बन्न सक्तैन । साथै, चीनले पनि नेपालको हितका लागि वा नेपाललाई आत्मनिर्भर बनाउन सहयोग गर्दैन । गरेको छैन । सत्य के हो भने नेपाल भारत वा चीनमा निर्भर हुँदासम्म आत्मनिर्भर हुँदैन । 

यही टिप्पणीका लागि चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्नुपर्छ भनेर हल्ला मच्चाउनेहरू नै फेरि चीनले ‘चुच्चे नक्सा’लाई मान्यता दिएन भनेर कोहोलो मच्चाउँदै छन् । संसद् र संसदीय समितिमा राजदूत छनको आलोचना अलि बढी नै भयो । नेपालीले त्यति टिप्पणी पचाउन सक्छन् र पर्छ पनि । 

यस्तो उर्बौलो पाराले चीन तर्सिने वा सचिने कल्पना कसैले गरेको छ भने त्यो मूर्खतामात्रै हो । बरू बिच्किने डर बढी हुन्छ । चीन वा भारत जो बिच्के पनि मारमा पर्ने त जनता नै हुन् । प्रधानमन्त्रीको भ्रमणका बेलामा अप्ठेरो पार्ने नै नियत भए कुरा बेग्लै ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro