शरद् शर्मा/रासस
काठमाडौं । वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको छ । अस्पतालले पटक्कै कान नसुन्ने वा केही समस्याका कारण सुन्न छोडेका बिरामीका लागि कोक्लियर इम्प्लान्ट (यो सानो इलेक्ट्रोनिक उपकरण हो, जसले गम्भीर श्रवण हानि भएका मानिसको श्रवण सुधार गर्न मद्दत गर्छ)मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको हो ।
“कतिपय बहिरोपन (श्रवण शक्ति न्यून) रहेका बिरामीले कानमा डिभाइस (यन्त्र) लगाएर सुन्न सक्नुहुन्छ । कानको सुन्ने क्षमता अत्यन्त कम भएका, शल्यक्रिया गरेर पनि सुन्न नसक्ने बिरामीलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर सुन्न सकिने बनाउने सेवा हो,” अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ प्रा. डा. दीपेन्द्र श्रेष्ठले भने ।
कुनै कान नसुन्ने वा बहिरोपनलाई शल्यक्रिया वा कुनै मेसिन लगाएर सुन्ने बनाउन सकिने उनको भनाइ छ । कान सुन्दै नसुन्ने बिरामीलाई शल्यक्रिया वा यन्त्र प्रयोग गर्दा पनि प्रभावकारी नभएमा कोक्लियर प्रत्यारोषण गरेर सुन्न सक्ने बनाइने उनले बताए ।
वीरमा हालसम्म कोक्लियर इम्प्लान्टमार्फत दुईजनाको उपचार गरी कान सुन्न सक्ने बनाइएको डा. श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुवैजनाको प्रत्यारोपणका लागि कोक्लियर निर्माण कम्पनीले १० लाख रुपैयाँबराबरको यन्त्र सहयोग गरेको हो ।
“एकजना १८ वर्षीया युवतीमा १४ वर्षदेखि राम्रोसँग कान नसुन्ने समस्या थियो । उहाँको मिर्गौला फेल भएपछि दुवै कान सुन्न छाडिन्,” डा. श्रेष्ठले भने, “अर्का ६० वर्षीय वृद्धले कोरोना संक्रमण भएपछि दुवै कान सुन्न छाडेका थिए । उहाँहरूलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर सुन्न सक्ने बनाएका छौँ ।”
अहिले परीक्षणका रूपमा दुईजनाको सफल उपचार गरिएको भन्दै उनले केही प्राविधिक समस्या रहेको बताए । उक्त समस्या समाधान गरेपछि कोक्लियर प्रत्यारोपणलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
यसअघि, त्रिवि शिक्षण अस्पतालमा पनि कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर कान सुन्ने बनाउने गरिएको थियो । शिक्षण अस्पतालमा उक्त सेवाका लागि सरकारले बिरामीलाई ६ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने गरेको छ । बाँकी बिरामीले व्यहोर्नुपर्ने हुन्छ ।
डा. श्रेष्ठले वीर अस्पतालमा पनि चाँडै सरकारसँगको समन्वयमा कोक्लियर प्रत्यारोपण सुरु गरिने बताए । उनका अनुसार ‘भेरिया टेक्निक’ अपनाएर गरिने प्रत्यारोषणमा एक घण्टामा बिरामीको शल्यक्रिया गरेर कोक्लियर इन्प्लान्ट राखिन्छ ।
के हो कोक्लियर प्रत्यारोपण ?
“हाम्रो कानमा बाहिर, मध्य र भित्री भाग गरेर तीन भाग हुन्छन् । कानको भित्री भाग ककलिया हुन्छ । ककलियाले बाहिरबाट आएको ध्वनि मोकानिकल इनर्जीलाई इलेक्ट्रिक इनर्जीमा परिवर्तन गरेर ब्रेन (दिमाग)मा पुर्याउने गर्दछ, अनि हामीले केही कुरा सुन्छौँ । हामीले सुन्ने कानले नभई दिमागले हो । ककलियाभित्र खराबी, नशामा खराबी आयो भने साउन्ड इनर्जी दिमागसम्म जान बन्द हुन्छ र मानिसले कान सुन्न छाड्छ,” अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ प्रा. डा. श्रेष्ठले भने ।
कान नसुन्ने अलिअलि समस्या भएका बिरामीलाई यन्त्र (मेसिन) इयरफोन लगाएर सुन्न सक्ने बनाइने उनले बताए । कान धेरै नै नसुन्ने वा यन्त्रले काम नगर्ने समस्या भएका बिरामीका लागि कोक्लियर प्रत्यारोषण प्रभावकारी हुने उनको भनाइ छ ।
कतिपय मानिस नसुन्ने समस्यासहित जन्मिने जनाउँदै डा. श्रेष्ठले बालबालिका ६ वर्षको हुँदासम्म कान सुनिसक्नुपर्ने जानकारी दिए । यदि, ६ वर्षसम्म पनि बालबालिकाले सुन्न र बोल्न नसके सधैँभरि नसुन्ने र नबोल्ने समस्या हुने उनले बताए ।
“६ वर्षको उमेरपछि जुनसुकै प्रविधि प्रयोग गरेर उपचार गरे पनि त्यो मानिसले आवाज बुझ्दैनन् र आवाज नबुझेपछि बोल्न सक्दैनन्,” उनले भने, “जसले सानैदेखि वा ६ वर्षको उमेरसम्म पनि सुन्न सक्दैन, त्यस्ता बच्चालाई ६ वर्षअगाडि नै कोक्लियर इम्प्लान्टको प्रत्यारोषण गर्नुपर्दछ । यसले सामान्य बच्चाजस्तै सुन्ने सक्ने बनाउँछ ।”
कोक्लियर इम्प्लान्ट इलेक्ट्रोनिक उपकरण भएको डा. श्रेष्ठले बताए । “यो उपकरण प्रत्यारोपण गर्दा कानको पछाडिको बाहिरी भागमा शल्यक्रिया गरी छालामुन्तिरको हड्डीमा यन्त्र राख्दछौँ र त्यो यन्त्रले मोकानिकल इनर्जीलाई इलेक्टिकल इनर्जीमा रूपान्तरण गर्दछ,” उनले भने ।
के कारणले कान सुनिँदैन ?
‘मेनेजाइटिक्स’, कोभिड–१९, मिर्गौला र अन्य विभिन्न कारणले कान नसुन्ने समस्या आउने गरेको अस्पतालका नाक, कान र घाँटीरोग विशेषज्ञ डा. श्रेष्ठले बताए । उनले कोक्लियर इम्प्लान्ट प्रविधि महँगो भएको जनाउँदै यसको प्रत्यारोषणका लागि १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने जानकारी दिए ।
डा. श्रेष्ठका अनुसार नेपालमा १७ प्रतिशतमा बहिरोपनको समस्या छ । पटक्कै कान सुन्न नसक्नेको तथ्यांक सरकारसँग छैन । “अस्पतालमा पटक्कै कान नसुन्ने बिरामी धेरै नै आउने गरेका छन्,” उनले भने, “हामीले उपचार सेवा अहिलेसम्म दिन सकिरहेका थिएनौँ, अब यस प्रविधिबाट सेवा लिन चाहनेलाई सहज हुनेछ ।”
वीरभन्दा अगाडि त्रिवि शिक्षण अस्पतालले यसको प्रत्यारोपण सुरु गरेको भन्दै त्यहाँ बिरामीको चाप निकै बढेको डा. श्रेष्ठले बताए । “पैसा भएर पनि मानिसले उपचार पाएका छैनन्, पैसा हुने मानिस भारतलगायत विदेशमा गएर कोक्लियर प्रत्यारोपण गरिरहेका छन्,” उनले भने ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बहिरंग विभागमा धेरै बिरामी कान तथा श्रवणसम्बन्धी समस्या लिएर आउने गरेका बताए । उनका अनुसार शिक्षण अस्पतालमा सरकारले कोक्लियर इम्प्लान्ट राख्नका लागि बिरामीलाई ६ लाख रुपैयाँबराबर आर्थिक सहयोग गर्दै आएको छ ।
अस्पतालका निर्देशक डा. पौडेलले वीर अस्पतालले बिरामीको अवस्था हेरेर सुविधा थप गर्ने बताए । सेवा–सुविधा थप्ने क्रममा कान नसुन्ने बिरामीलाई कोक्लियर इम्प्लान्ट सेवा सुरु गरिएको उनले उल्लेख गरे । उनले अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहुलियत रूपमा उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने बताए ।