site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मिसगाइडेड’ सिनेमा उद्योग, हरेक हप्ता पाँच करोड घाटा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पाँच महिना भयो नेपाली सिनेमाले उल्लेख्य व्यापार गर्न नसकेको । हरेक हप्ताजस्तो रिलिज हुने चलचित्रले हलसम्म दर्शक तान्न सकेका छैनन् । दशर्ककको साथ नपाउँदा निर्माताले लगानी उठाउन सकिरहेका छैनन् ।

औसतमा एउटा चलचित्र बनाउन अढाई करोड लगानी हुने निर्माताले बताउन थालेका छन् । एउटा सिनेमा निर्माण गर्न अढाई करोड लाग्ने हो भने नेपाली चलचित्र उद्योगले हरेक हप्ता करिब पाँच करोड रुपैयाँ घाटा व्यहोर्दै आएको छ । 

कतिपय सिनेमाले शतप्रतिशतसम्म घाटा व्यहोर्ने गरेको निर्माता निर्मल शर्मा बताउँछन् । “हामीले भर्खरै मात्रै दुई/अढाई करोड लगानीमा बनेका सिनेमाले ८०/९० हजार मात्रै ग्रस कलेक्सन गरेको बक्सअफिस रिपोर्टमा देखेका छौँ,” निर्मल भन्छन्, “यो भनेको शतप्रतिशत घाटाजस्तै हो ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

निर्माताको हातमा ५० लाख आउन सिनेमाको ग्रस कलेक्सन डेढ करोड रुपैयाँ हुनुपर्ने उनको अनुभव छ । “डेढ करोड ग्रस भयो भने मिडियामा ठूलो हल्ला हुन्छ । यति ग्रस हुँदा पनि डेढ करोडमा मात्रै सिनेमा बनेको छ भने पनि एक करोड त घाटा नै हुन्छ,” उनी भन्छन्, “डेढ करोडमा त अहिले सिनेमा नै बन्न छोडिसके ।” 

अढाई करोडको सिनेमा बनाउँदा लगानी उठाउन साढे सातदेखि आठ करोड ग्रस कलेक्सन गर्नुपर्ने उनको भनाइ छ । ५० लाख मात्र हातमा आए अढाई करोडमा सिनेमा बनाएको निर्माता उच्च घाटामा हुन्छ ।

Royal Enfield Island Ad

“यसरी हेर्दा मात्रै पनि नेपाली चलचित्र उद्योगले मासिक १८ देखि २० करोड रुपैयाँ घाटा व्यहोरिरहेको छ,” निर्मल भन्छन्, “चलचित्र यस्तो बिजनेस हो, चलेन भने शतप्रतिशत त जान्छ नै, त्योभन्दा १० प्रतिशतको हाराहारीमा अरू रकम तिर्नुपर्छ । वितरकसँग लिएको एड्भान्स र पब्लिसिटीको रकम तिरेको हुँदैन, पछि त्यो पनि तिर्दा लगानीको अर्को १० प्रतिशतजति रकम जान्छ ।” 

बजारबाट कति रकम संकलन हुँदा लगानीकर्ताको हातमा कति पर्छ भन्ने जानकारी नयाँ निर्मातामा नहुँदा नेपाली चलचित्रले गुमाउने क्रम नरोकिएको उनी बताउँछन् । “नयाँ निर्माता सिनेमाबाट लगानी कसरी उठ्छ भन्नेबारे अनविज्ञ हुन्छन् । अनविज्ञ निर्मातालाई मिसगाइड गर्ने काम भइरहेको छ,” निर्मल अगाडि थप्छन्, “मिसगाइड मात्रै नगर्ने हो भने पनि यति धेरै घाटा नेपाली चलचित्र उद्योगले व्यहोर्नुपर्ने थिएन ।”

चलचित्र घाटामा जाने क्रम नरोकिएजस्तै निर्माण हुने र हरेक हप्ता नयाँनयाँ चलचित्र रिलिज गर्ने क्रम पनि रोकिएको छैन । 

चलचित्र वितरक गोविन्द शाही बक्सअफिस रिपोर्टलाई नजरअन्दाज गर्न नहुने बताउँछन् । बक्सअफिस रिपोर्टले हरेक हप्ता सिनेमा घाटामा गइरहेको देखाएको उनी सुनाउँछन् । “बक्सअफिसको तथ्यांकले देखाएको कुरालाई नकार्न सकिँदैन, तर किन यति धेरै सिनेमा बनिरहेका छन्, मलाई पनि थाहा छैन,” उनी भन्छन्, “एउटा सिनेमाको लगानी डुबे पनि त्यसबाट सिकेर अर्को राम्रो बनाउँछु भन्ने सोचेर काम गरेको हो भने छुट्टै कुरा हो, तर त्यसो पनि कसैले गर्छ भन्ने लाग्दैन ।”

दोहोरिएर सिनेमा बनाउने नयाँ निर्माताको संख्या अपवादजस्तै छ । त्यसैले पहिलो सिनेमा प्रयोगकै लागि नबनाउने गरेको पुष्टि हुन्छ । 

दर्शक तान्ने सिनेमा बनाउन नसक्नु नै लगानी डुब्नुको मुख्य कारण भएको उनी बताउँछन् । “दर्शक तान्ने सिनेमा बन्न सकेनन् । जुन चलचित्र दर्शकको मन छुने बनेको छ, त्यो चलेको छ,” उनी भन्छन्, “छक्का पञ्जा, कबड्डीजस्ता चलचित्र चल्नुको कारण नै दर्शकले यसको विषयवस्तु र प्रस्तुतिकरण रुचाउनु हो ।”

ब्यानरले पनि सिनेमा चल्ने/नचल्ने निर्धारण गर्ने उनको भनाइ छ । ‘हिट’ सिनेमा दिएको समूहले बनाएका चलचित्र हेर्न दर्शक हलसम्म जाने गरेको गोविन्दको बुझाइ छ । “अहिले दर्शकले सुरुमै यो वर्ष यो ब्यानरको, यो कलाकारको सिनेमा हेर्छु भनेर निर्णय गरिसकेको हुन्छ,” गोविन्द भन्छन्, “यसले गर्दा पनि नयाँ मेकरका सिनेमालाई अझै बढी रिस्क छ । हुन त यो नेपालमा मात्रै होइन, संसारभर नै यस्तै हो ।”

मार्केटिङ रणनीति कमजोर, बजार सानो र बजेट, प्रविधि र मेकिङका हिसाबले पनि नेपाली सिनेमा कमजोर रहेको उनी बताउँछन् । यस्तो अवस्थामा बजारको रिसर्च गरेर मात्र अगाडि बढ्नुपर्नेमा उनी जोड दिन्छन् । मेकरले नेपाली सिनेमा बजारको अध्ययन नै नगर्ने गरेको उनको बुझाइ छ ।

नेपाली सिनेमाको बजारबारे नयाँ मेकरलाई काउन्सिलिङ गर्ने छुट्टै व्यवस्था हुनुपर्ने बेलाबेलामा कुरा उठाइने गरिन्छ । यसबारे निर्माता संघले चलचित्र विकास बोर्डलाई दबाब पनि दिँदै आएको छ ।

बोर्डले यसबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ । बोर्डका प्रवक्ता केएल पीडित नयाँ निर्माताका लागि परामर्श कक्ष स्थापना गर्नेबारे छलफल भइरहेको बताउँछन् ।

“चलचित्र बनाउँदाको प्रोसेस, बजार, कानुनी प्रक्रिया र सम्भावित कानुनी उल्झनका विषयमा परामर्श दिने परामर्श कक्ष स्थापित गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ,” प्रवक्ता पीडित भन्छन्, “तर, त्यस्तो परामर्श केन्द्रको स्वरूप कस्तो हुने, त्यसमा कोको रहने, क्षेत्राधिकार के हुनेजस्ता विषय पनि छलफलको विषय हो ।”

परामर्श केन्द्रबारे सिनेमा क्षेत्रका जानकार र अनुभवी व्यक्तिहरूसँग छलफल गर्ने बोर्डले तयारी गरिरहेको उनले जानकारी दिए ।

सिनेमा निर्माण प्रक्रियाबारे सुरुमै नयाँ मेकरलाई बुझाइदिने र आधिकारिक तथ्यांक पारदर्शी रूपमा राखिदिए धेरै निर्माताले अध्ययन गरेर मात्र लगानी गर्ने निर्माता संघका अध्यक्ष नवल खड्काको धारणा छ । प्रक्रिया र बजार बुझेर लगानी गरे डुब्ने रिस्क तुलनात्मक रूपमा कम हुने उनको जिकिर छ ।

चलचित्र दर्ताका लागि आउने निर्मातालाई आफूहरूले काउन्सिलिङ गर्ने गरेको उनी बताउँछन् । “नेपाली सिनेमाको बजार, मार्केटिङ, बजेट, रिटर्न्स तथा बजेट कसरी कम गरेर सिनेमा बनाउने भन्नेबारे हामी आफूले जानेको बताउँछौँ,” नवल भन्छन्, “तर, समस्या के हो भने अधिकांश निर्माताहरू सिनेमा दर्ता गर्न आफू आउनु हुन्न, अरूलाई पठाउनु हुन्छ । प्रोडक्सन मेनेर आउँछन्, उनीहरूले धेरै चलचित्रमा काम गरिसकेका हुन्छन् । त्यसैले हामीले सम्झाउने कुरै भएन ।”

अधिकांश निर्माता सिनेमा डुबेपछि मात्र संघमा आउने गरेको उनको अनुभव छ । “सुरुमा निर्माता कहाँ हो भनेर खोज्दा अधिकांश अमेरिका, अष्ट्रेलिया तथा यूके हुनुहुन्छ भन्ने जवाफ आउँछ,” उनी स्पष्ट पार्छन्, “हामीसँग आइपुग्ने त सिनेमाको लगानी डुबेपछि मात्रै हो ।”

क्विन मेरी युनिभर्सिटीको रिसर्च तथ्यांकानुसार हलिउडमा सिनेमाको सक्सेस रेट २० प्रतिशत छ । बलिउडको सक्सेस रेट ९ प्रतिशत छ । नेपालमा वार्षिक सिनेमाको सक्सेस रेट कति छ भन्ने यकिन तथ्यांक छैन । तर, निर्देशक तथा सिनेमाका अध्यता प्रमोद कँडेल यहाँको सक्सेस रेट करिब १२ प्रतिशतवरिपरि रहेको बताउँछन् ।

बलिउड र हलिउडमा सिनेमाको सक्सेस रेट क्रमशः २० र ९ प्रतिशत रहे पनि लगानी रिकभरीका हिसाबले यी दुवै चलचित्र उद्योग नाफामा छन् । बर्सेनि यी सिनेमा उद्योगमा जति लगानी हुन्छ, बक्सअफिसमा सफल चलचित्रको ग्रस कलेक्सन त्योभन्दा धेरै हुन्छ । त्यसैले समग्रमा हलिउड र बलिउड सिनेमा उद्योग नाफामा छन् ।

बलिउडभन्दा माथि सक्सेस रेट रहे पनि नेपाली सिनेमा उद्योग घाटामा छ । यहाँ वर्षभरि सिनेमा उद्योगमा हुने लगानीभन्दा धेरै कम रकम बक्सअफिस कलेक्सन हुने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro