काठमाडौं । भारतले हलिउड चलचित्र ‘इन्टरस्टेलर निर्माणको बजेटभन्दा कम लगानीमा चन्द्रयान–३ को मिसन सफल पारेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्न सफल भारत पहिलो देश हो । पानी र अक्सिजन हुनसक्ने सम्भावना बोकेको चन्द्रमाको यो भाग विज्ञानका अन्य खोजका लागि महत्वपूर्ण छ ।
अगस्ट २३ मा चन्द्रयान–३ को ‘ल्यान्डर’ ब्रिकम सफलतापूर्वक चन्द्रधरातलमा अवतरण भएको थियो । त्यसभित्र रहेको प्रज्ञान रोभरले सोही दिन चन्द्रमामा यात्रा गरेको थियो । त्यसको केही दिनपछि सेप्टेम्बर २ मा भारतको अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले आदित्य–एल १ नामक अन्तरिक्षयानको सफल प्रक्षेपण गरेको छ ।
आदित्य–एल १ सौर्य वायुमण्डलको अध्ययन गर्न निमार्ण गरिएको अन्तरिक्ष यान हो । करिब चार महिनापछि पृथ्वीदेखि १५ लाख किलोमिटर टाढा पुगेर यसले त्यहाँ सूर्यको वायुमण्डल र चुम्बकीय आँधीलगायत अध्ययन गर्नेछ । पृथ्वी र सूर्यबीचको दूरी करिब १५ करोड किलोमिटर छ ।
एल १ अर्थात् सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित रहने बिन्दु लेगरञ्जमा यो यान रहनेछ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अपोलो मिसन अन्तर्गतको अपोलो ११ ले सन् १९६९ मै चन्द्रमामा मान्छे पुर्याएको थियो । अमेरिकाले करिब पाँच दशकअघि चन्द्रमामा मान्छे नै अवतरण गराएको उपलब्धी हात पारिसकेको भए पनि दक्षिणी ध्रुवमा अवतरण गराउन सक्नु प्राविधिकरूपमा जटिल थियो । त्यसैले यसो गर्ने पहिलो देश बनेका कारण भारतको यो मिसन विश्वकै लागि ऐतिहासिक बनेको छ । चन्द्रमामा यान अवतरण गर्नु पनि निकै जटिल र ठूलो विषय हो ।
विज्ञानको यो उपलब्धी हासिल गर्ने सोभियत संघ, अमेरिका र चीनपछि भारत चौथो देश बनेका कारण पनि चन्द्रयान–३ को सफलता उत्तिकै महत्वपूर्ण छ ।
नेहरु युगको सपना
सन् २०२३ मा चन्द्रमामा यान अवतरण गर्न सफल भारतको अन्तरिक्ष अन्वेषणको सुरुआत भने सन् १९६२ मै भएको थियो । त्यतिबेला भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले परमाणु उर्जा विभाग अन्तर्गत इन्डियन नेसनल कमिटी फर स्पेस रिसर्च (आईएनसीओएसपीएआर–इन्कोसपार)को स्थापना गरेका थिए ।
भारतीय भौतिकशास्त्री एवं खगोलशास्त्री विक्रम अम्बालाल साराभाईले नेहरुलाई अन्तरिक्ष अन्वेषण आवश्यक रहेको भन्दै सल्लाह दिएका थिए । भारतमा आणविक उर्जा उत्पादन सफलताको श्रेय पनि साराभाईलाई नै जान्छ । त्यसको सात वर्षपछि सन् १९६९ मा इन्कोसपार थप विस्तार हुँदै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन(इसरो) बनेको थियो । अहिले भारतीय अन्तरिक्ष विभाग अन्तर्गत इसरो रहेको छ ।
सन् १९७५ मा भारतले आफ्नो पहिलो भूउपग्रह ‘आर्यभट्ट’ सोभियत अन्तरिक्ष एजेन्सीमार्फत प्रक्षेपण गराएको थियो । त्यसपछि सन् १९८० मा भारत आफैँले आफ्नै स्याटेलाइट लञ्च भेहिकलबाट पहिलो पटक अन्तरिक्षमा आरएस–१ भूउपग्रह प्रक्षेपण गरेको थियो । यो सफलतासँगै आफ्नै क्षमताले अन्तरिक्षमा स्योटलाइट प्रक्षेपण गर्नसक्ने भारत सातौं देश बनेको थियो ।
त्यसयता भारतले अन्तरिक्ष अन्वेषणका क्षेत्रमा जनशक्ति र प्रविधिको विकास गर्दै निरन्तर काम गर्यो । अहिले कयौं स्याटेलाइट भारतले सञ्चालन गरिरहेको छ ।
सन् २००३ मा भारतका प्रधानमन्त्री अटल बिहारी वाजपेयीले चन्द्रमामा मान्छे अवतरण गर्नसक्ने प्रविधि विकास गर्न वैज्ञानिकहरूलाई आग्रह गरेका थिए । त्यसबेला चीनले पहिलो पटक अन्तरिक्षमा मान्छे पठाएको थियो ।
भारतले सन् २००८ मा चन्द्रमाको परिक्रमा गर्ने चन्द्रयान–१ को प्रक्षेपण गरेको थियो । सन् २०१३ मा मंगलग्रहको परिक्रमा गर्ने अन्तरिक्ष यानको प्रक्षेपण गरेको थियो । मंगलग्रहको कक्षमा पुग्ने यो पहिलो अन्तरिक्षयान थियो । यसो गर्न पहिलो प्रयासमै सफल हुने भारत पहिलो देश थियो ।
चन्द्रमामा यान अवतरण गराउने उद्देश्यले सन् २०१९ को जुलाई २२ मा भारतले चन्द्रयान–२ को प्रक्षेपण गरेको थियो । तर, अन्तिम समयमा चन्द्रयान–२ को ल्यान्डरसँग सम्पर्क विच्छेद भएपछि यो मिसन सफल हुन सकेको थिएन । सोही वर्ष भारतले चन्द्रमामा अवतरण गराउन चन्द्रयान–३ को घोषणा गरेको थियो ।
सन् २०२३ को जुलाई १४ मा प्रक्षेपण गरिएको चन्द्रयान–३ को ल्यान्डर अगस्ट २३ मा सफलतापूर्वक चन्द्र धरातलमा अवतरण भएको हो ।
अन्तरिक्ष अन्वेषणको दौडमा नयाँ मोड
भारतको चन्द्रयान–३ मिसनको बजेट करिब साढे ७ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब भारतीय रुपैयाँ थियो ।
भारतको यो सफलताले अन्तरिक्ष अन्वेषणमा ठूलो प्रतिष्ठा हासिल गर्न नासाकै लगानी र सहयोग चाहिन्छ भन्ने विगतलाई कमजोर सावित गरेको छ । अन्तरिक्ष अन्वेषणको सुरुवात नै तत्कालीन सोभियत संघले गरेको थियो । उसैले पहिलो भूउपग्रह प्रक्षेपण गर्नेदेखि मानिसलाई अन्तरिक्षमा पुर्याउने सफलता हात पारेको थियो । तर, विश्वव्यापी महाशक्तिका रूपमा उदाएको अमेरिकाले अन्य जसरी नै यस क्षेत्रमा पनि महत्वपूर्ण प्रगति गरेको थियो ।
तर, भारत चन्द्रमामा सफलतापूर्वक उत्रिएसँगै अन्तरिक्ष अन्वेषणले एक नयाँ मोड लिने देखिएको छ । भारतले अन्य देश जसरी नै रकेट प्रक्षेपणलाई व्यापारीकरण गरेको छ । विदेशी लगानीका साथ भारतले अर्काे दशकसम्म विश्वभर रकेट प्रक्षेपणमा आफ्नो हिस्सा पाँच गुणा बढाउने लक्ष्य राखेको छ ।
कम लागतको सफलता हात पारेको भारतले यो महत्वाकांक्षा पूरा गर्नसक्ने सकारात्मक संकेत देखाएको छ । अन्तरिक्ष प्रक्षेपणको बजार हाल नौ अर्ब अमेरिकी डलरबाट सन् २०३० मा २० अर्ब अमेरिकी डलर पुग्नसक्ने आंकलन गरिएको छ । त्यसैले भारतको लक्ष्यअनुरुप विश्वबजारमा स्याटेलाइट प्रक्षेपणको माग पनि रहने देखिन्छ । स्याटेलाइट प्रक्षेपणबाहेक नासा, युरोपेली अन्तरिक्ष एजेन्सी, रुस र चीनले चन्द्रमामा फर्किने र त्यहाँ अन्तरिक्ष स्टेसन बनाउनेदेखि अन्तरिक्ष यात्री बस्नसक्ने व्यवस्था निमार्ण गर्ने लक्ष्य राखिरहेका छन् ।
नासाले आर्टेमिस–३ मिसन अन्तर्गत सन् २०२५ मा चन्द्रमा अपोलो मिसनपछि दोस्रो पटक मान्छे अवतरण गराउने लक्ष्य राखेको छ ।
अमेरिका अन्तरिक्ष अन्वेषणमा अझै पनि महाशक्ति रहेका बेला भारतले न्यून बजेटमा ठूला मिसन हात पार्नुले यसमा नयाँ मोड आउनसक्ने संकेत गरेको हो । चन्द्रयान–३ को सफलरूपमा अवतरण भएपछि प्रधानमन्त्री मोदीले ग्लोबल साउथका मुलुकहरूले पनि यस किसिमको सफलता हासिल गर्नसक्ने बताएका थिए ।
अमेरिकाले सन् २०२० मा आर्टेमिस सम्झौता अन्तर्गत भारत र अन्य आफ्नो अन्तरिक्ष साझेदारीसँग चन्द्रमामा आधार बनाएर त्यहाँबाट मंगल ग्रहमा मान्छे पठाउनेसम्मको लक्ष्य राखेको छ ।
चीनले भने आफ्नै निजी अन्तरिक्ष अन्वेषण र मस्कोसँग मिलेर थप काम गरिरहेको छ ।
अमेरिका र रुसबीचको सम्बन्ध युक्रेन युद्धका कारण निकै कमजोर अवस्थामा पुगेको छ । यसले दुई देशबीचको अन्तरिक्ष अन्वेषणका क्षेत्रको सहकार्यलाई पनि खासै गति नदिने संकेत गरेको छ ।
अहिले ७० भन्दा बढी मुलुकले अन्तरिक्ष अन्वेषण सम्बन्धी योजनामा काम गरिरहेका छन् । भारत एक महत्वपूर्ण अन्तरिक्ष अन्वेषणको केन्द्रका रूपमा विकसित हुने बलियो सम्भावना बनेको छ । मोदीले सन् २०२० देखि निजी क्षेत्रलाई यसतर्फ प्रोत्साहन गरेपछि भारतमा अन्तरिक्ष सम्बन्धी कयौं स्टार्टअप खुलेका छन् । इसरोले यस्ता निजी संस्थाहरूसँग सहकार्य गरिरहेको छ ।
सरकार, निजी क्षेत्र र विदेशी लगानी भित्र्याएर भारतले अबका दशकमा अन्तरिक्ष अन्वेषणमा नेतृत्व गर्ने देखिएको छ ।