site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुर्गम क्षेत्रमा उडान भर्न तीनवटा ट्विनअटर जहाज किन्ने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्न तीनवटा ट्विनअटर जहाज खरिद गर्ने अन्तिम तयारी भएको जानकारी दिएका छन् । 

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किरातीले निगम आफैँले आन्तरिक उडानका लागि तीनवटा जहाज खरिद गर्न लागेको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री किरातीका अनुसार हाल आन्तरिक उडानमा दुई थान ट्विनअटर भएकाले सबै दुर्गममा उडान गर्न कठिन भइरहेको छ । आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिने गरी जहाज खरिदको प्रक्रिया अघि बढाइएको उनले बताए । 

मन्त्री किरातीले भैरहवा र पोखर गरी दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा आन्तरिक विमानस्थलको सदुपयोग गर्न पहल भइरहेको पनि बताए । 

मन्त्री किरातीले ०३५ सालको पुरानो पर्यटन ऐनलाई संशोधन र परिमार्जन गरेर समयसापेक्ष नयाँ ऐन ल्याउन मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।

बैठकमा सांसदहरूले दबाबका भरमा आन्तरिक विमानस्थल निर्माण भएपछि सञ्चालन गर्न नसक्नु राज्यको कमजोरी भएको बताएका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्