site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

गत साता प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूका लागि ‘सम्पर्क कार्यालय’ र ‘आवास’ भव्य भवनहरू उद्घाटन गरे । उनले समारोहमा यी भवनहरूबाट संघीयता ‘संस्थागत’ हुने दाबासमेत गरे । 

सैंबु आवास क्षेत्रमा २७ रोपनी १२ आना जमिनमा बनाइएका यी ७ वटा विलासी भवन निर्माणमा पुगनपुग १ अर्ब खर्च गरिएको छ । यी भवनको हेरचाह र मर्मत सम्भार पनि पक्कै राज्यकै खर्चमा गरिनेछ ।

काठमाडौंबाहिर कार्यक्षेत्र भएका प्रदेशका प्रमुख र मुख्यमन्त्री बस्न बनाइएका भवनको परिसरमा काकाकुल उपत्यकावासीलाई खिज्याउने गरी पानीको फोहोरा पनि निर्माण गरिएको छ । ती भवनमा विद्युत् अवरुद्ध हुन नदिन जेनेरेटरबाट आपूर्ति गरिनेछ । 

संघीयताप्रति व्यक्त जनगुनासो मूलतःः प्रदेशको संरचनाभन्दा पनि फजुल खर्चमा केन्द्रित देखिन्छ । हुन पनि प्रदेश सभा र सरकारहरू बितेको पाँच वर्षमा सम्झनलायक कुनै काम गरेनन् । यसैले पनि प्रदेशहरूको अपरिहार्यता सिद्ध हुन सकेन । 

यस्तो अवस्थामा प्रदेशका राजनीतिक र प्रशासनिक पदाधिकारीलाई राजधानी उपत्यताका विलासी आवासीय भवन निर्माण गर्दा जनमानसमा रहेको असन्तुष्टि वितृष्णा बन्न पुग्ने देखिन्छ । त्यसले संघीयताको औचित्यमा थप प्रश्न उत्पन्न हुने निश्चित छ ।

यथार्थमा प्रदेशका प्रमुख र मुख्यमन्त्रीहरूका लागि राजधानीमा आवास भवन बनाउने सोच नै अनुपयुक्त हो । सामान्य खर्च पनि राजस्वबाट नपुग्ने अवस्थामा यसरी अनावश्यक भवनमा खर्च गर्नु आर्थिक, सामाजिक र राजनीतिक सबै दृष्टिबाट गलत देखिन्छ ।

एउटा प्रहसनमा कलाकारले चोरहरूका कारण सुरक्षामा खर्च गर्नुपर्दा धेरै कारखाना चलेका र रोजगारी मिलेको भन्दै अहिले राजनीतिकर्मीलाई कटाक्ष गरेका थिए । नेपालका अधिकांश राजनीतिक र प्रशासनिक नेतृत्वको सोच पनि यस व्य‍ङ्ग्यभन्दा खासै फरक देखिँदैन । 

प्रदेशका मुख्यमन्त्री र प्रशासकका लागि राज्यको ढुकुटी मासेर यस्ता विलासी भवन बनाउनु प्रकारान्तरले संघीयताको औचित्य समाप्त गर्न सघाउनु हो । संघीयताको मर्मअनुसार कार्यान्वयनका लागि आवश्यक कानुन र संरचना बनाउन सघाएमात्र संघीयता संस्थागत हुनेछ ।

प्रदेश सदरमुकामबाट राजधानी आउँदा सरकारी काममा आएमा तिनले राज्यकै ढुकुटीबाट भ्रमण भत्ता पक्कै पाउँछन् । व्यक्तिगतरूपमा काठमाडौं आउँदा र बस्दा राज्यलाई व्ययभार थोपर्न त उनीहरूलाई पक्कै लाज लाग्छ । यसै पनि प्रदेशका अरू सरकारी अधिकारीले भत्ताबाटै गुजारा चलाउँछन् । 

यसैले यी विलासी भवनहरू बेचेर स्वास्थ्य सुविधाको अभावमा बाटैमा सुत्केरी हुँदा मर्ने वा विद्यालय जान खोला तर्दा ज्यान जाने ठाउँमा आधारभूत सुविधा जुटाउन खर्च गर्नु बुद्धिमानी हो । जनतामा देखिएको प्रदेशप्रतिको वितृष्णा पनि कम हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro