काठमाडौं । पछिल्लो एक महिनामा नेपालमा झन्डै १५ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार गएको अगस्टमा १४ हजार ७८४ जना संक्रमित भएका हुन् ।
योसँगै सन् २०२३ मा (हिजोसम्म) डेंगी संक्रमितको संख्या २२ हजार ६२७ पुगेको छ । जुलाईयता डेंगीका कारण १४ जनाको मृत्यु पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
कर्णालीबाहेक सबै प्रदेशमा संक्रमितको संख्या ३०० भन्दा माथि छ । सबैभन्दा धेरै कोसी प्रदेशमा १७ हजार ८८ जना संक्रमित भएका छन् । वाग्मती प्रदेशमा तीन हजार २४९ संक्रमित भएका छन् ।
मधेसमा ५१९, गण्डकीमा ६७९, लुम्बिनीमा ३८५, कर्णालीमा ४७ र सुदूरपश्चिम प्रदेशमा ६६० जनामा संक्रमण पुष्टि भएको ईडीसीडी जनाएको छ ।
वाग्मतीका धादिङ, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि डेंगी संक्रमण निरन्तर बढिरहेको छ । धादिङमा संक्रमितको संख्या दुई हजार १७३ पुगेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा ७७४ जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ ।