काठमाडौं । तपाईँको घरबाट कोही व्यक्ति हराइरहेका छन् ? वा हराइरहेका व्यक्तिको मृत्यु भइसक्यो र तपाईँले त्यसको जानकारी पाउनु भएको छैन ?
यदि तपाईँ यस्तै अवस्थाबाट गुज्रिरहनु भएको छ भने नेपाल प्रहरीले आइतबारदेखि सञ्चालनमा ल्याएको यूडीबीडटनेपालपोलिसडटजीओभीडटएनपी वेबसाइट सहयोगी बन्न सक्छ ।
प्रहरीले उक्त साइटमा नेपालमा हराइरहेका मानिस, बेवारिसे शव र फेला परेका मानिसको तस्बिरसहितको विवरण राखेको छ ।
वेबसाइटमा बेवारिसे अवस्थामा फेला परेका तर परिवारले नलगेका ७४ जनाको शव, नेपालमा हराइरहेका पाँच हजार ७७६ जनाको विवरण र हराएकामध्ये फेला परेका ८८ जनाको पूर्णविवरण राखिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ‘पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण’ राखिएको उक्त वेबसाइटको आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
उद्घाटनपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले निर्माण भएको वेबसाइटको सुरक्षाको साथसाथै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताए । वेबसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उनले जनाए ।
वेबसाइट धेरैभन्दा धेरै सरोकारवाला व्यक्तिहरूको पहुँचमा पु¥याए बढीभन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने विश्वास उनले व्यक्त गरे ।
नागरिक स्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेबसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्ने सुझाव उनको थियो ।
कार्यक्रममा वेबपेज निर्माण गर्ने कम्पनी योङ्गमाइन्ड्स क्रियसन प्रालिका प्रबन्ध निर्देशक डा.श्रीधर मरासैनीले वेबसाइटको प्रयोगको प्रभावकारिता र विशेषताहरूको बारेमा जानकारी दिएका थिए ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाख २ गते दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भएर पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवहरूको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवहरूको विस्तृत विवरणसहित छुट्टै वेबपेज निर्माण गर्न निर्देशन दिएको थियो ।
सोही निर्देशनअनुसार प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको पहलमा पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण समेटी सम्पूर्ण विवरण एकै ठाउँबाट जानकारी लिन सकिने र कसैले व्यक्तिको पहिचान गरेमा आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्ने गरी निर्माण गरिएको वेबसाइट सञ्चालनमा ल्याएको हो ।