काठमाडौं । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको माग कुनैपनि निकायबाट सुनुवाइ नभएको गुनासो गरेका छन् ।
बुधबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले पर्यटन व्यवसायी भूकम्प, कोभिड–१९ लगायतको कारण मारमा परेको बताए ।
“भूकम्प र कोरोना महामारीको कारण अर्थतन्त्रमा शिथिलता छायो । त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पर्यो । अहिले पाउना आएका छैनन् । व्यवसाय छैन । तर, बैंकको ब्याजदरको कारण व्यवसायी मारमा परेका छन्,” उनले भने ।
बैंकको ब्याजदरको कारण अहिले केही व्यवसायीले हात झिकिसकेका स्मरण गराउँदै बैंकको व्याज तिर्ने सयम थप गर्न आग्रह गरे ।
“आजको आजै व्याज तिर्ने अवस्था छैन । बैंकको ब्याजदर तिर्न नसकेर अहिले केही व्यवसायीले हात झिकिसकेका छन् । हामीले बैंकलाई अनुनयविनय गरिरहेका छौँ, प्रधानमन्त्री, अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय लगायतका सम्बन्धित विभिन्न निकायमा हामीले हाम्रो गुनासो राख्यो । तर, हाम्रो माग कुनै निकायबाट सुनुवाइ भएको छैन,” उनले भने ।
हवाई भाडा महंगो भएको कारण पर्यटन आगमनमा कमी आएको उनले बताए ।
“पर्यटक आउनको लागि हवाई भाडा महंगो छ । यहाँ आउने खर्चमा युरोपमा धेरै ठाउँ घुम्न मिल्छ,” उनले भने, “भारतबाट पर्यटक ल्याउनको लागि विभिन्न प्रयास गर्याै तर, नेपालमा भारतीय पाँच सयको नोट नेपालमा चल्दैन ।”
अहिले अवस्था जारी रहने हो भने देश र पर्यटन क्षेत्रको अवस्था भयावह उनले बताए ।
“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर भव्यताका साथ उट्घाटन गर्यो । तर, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । नेपाल एयरलाइन्सबाट विभिन्न देशमा उडान गर्न आग्रह गर्याै । तर सुनुवाइ भएन,” उनले भने ।
पर्यटकीय राजधानीको रूपमा रहेको पोखरामा नारायणगढ–मुग्लिङ–पोखरा सडक निर्णाम नहुँदा पनि पर्यटक घटेको उनले बताए ।
“मुग्लिङ पोखरा सडकखण्डको अवस्था पनि त्यस्तै छ । निर्माणमा ढिलासुस्ती धेरै भयो । अवस्था एकदमै दयनीय छ । यही अवस्थामा ढिलासुस्ती हुने हो भने अझै पाँच/६ वर्ष लाग्छ । जसले गर्दा सडकमार्फत आउने पर्यटक पनि घटेका छन ।”
उनले पर्यटन बोर्डबाट पनि बजेट पास हुन नसकेको भन्दै निजी क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यहरूलाई प्रश्न गरे ।