
काठमाडौं । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ । मंगलबार कुकीको बाहुल्यता रहेको चुराचान्दपुर र मैतेई बाहुल्यता रहेको विष्णुपुर जिल्लाको सीमामा भएको गोलाबारीमा दुईजनाको मृत्यु भएको छ ।
सीमावर्ती जिल्लाको खोइरेन्टेक क्षेत्रमा गोलाबारी भएको बीबीसीले जनाएको छ । घटनामा ठूलो संख्यामा घाइते भएका छन् ।
हिंसा भड्किएको दिन मणिपुर संसद्मा बैठक बोलाइएको थियो । बैठक केहीबेर बसेपछि अनिश्चित समयका लागि स्थगित गरिएको छ । स्थानीय प्रहरीका अनुसार गोलाबारीको घटना मंगलबार बिहान ६ बजेबाट सुरु भएको थियो । गोलाबारी रातिसम्म जारी रहेको जनाइएको छ ।
घटनामा मारिएकामध्ये एकजना जांगमिनलुन गंगटे रहेका छन् । उनी सुरक्षा गार्ड रहेको समाचारमा उल्लेख छ ।
मणिपुरमा यस्तो हिंसा ११ दिनपछि मंगलबार फेरि भएको हो । यसअघि अगष्ट ११ मा ज्यान जानेगरी हिंसा भएको थियो ।
मणिपुरमा मे ३ देखि हिंसा भड्किएको हो । चार महिनादेखि चलेको हिंसामा १८० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । हिंसाका कारण ६० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । बीबीसी