site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको कूटनीतिक मर्यादाविपरीत आचरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो असोज पहिलो साता चीन भ्रमण गर्ने खबर विभिन्न मिडियामा आएको छ । 

अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई उनी त्यतैबाट सिधै चीन जाने तयारी गर्दै छन् । यसको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ । 

हालसम्म नेपाल र चीन दुवै देशले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा गरेका छैनन् । कूटनीतिमा यस्तो उच्चस्तरीय भ्रमणको घोषणा सम्बन्धित दुवै देशले आपसी सल्लाहमा एकैदिन र एकै समय गर्ने अभ्यास छ । र, यस्तो भ्रमणको घोषणा गर्नुअघि भ्रमणका एजेन्डाहरू औपचारिक रूपमा सार्वजनिक गरिँदैन । 

अझ् जो व्यक्ति भ्रमणमा जाँदै छ उसले त झन् मिति घोषणा हुनुअघि आफ्नो भ्रमणको एजेन्डा सार्वजनिक गर्न मिल्दैन नै । यस्तो कार्यले दुई देशबीचको बढाउने होइन झन् घटाउँछ । किनकि एजेन्डाहरू आपसी छलफलका आधारमा तय गरिन्छ ।

तर, प्रधानमन्त्री प्रचण्डले भ्रमणको औपचारिक घोषणा हुनुअघि नै कूटनीतिक मर्यादाविपरीत एजेन्डाहरू घोषणा गर्दै हिँडेका छन् । 

“प्रधानमन्त्री स्वयम्ले आफ्नो भ्रमणको औपचारिक घोषणा हुनुअघि नै भ्रमणका एजेन्डाबारे बोल्दै हिँड्नु राम्रो होइन । कूटनीतिक यस्तो क्रियाकलापलाई राम्रो मानिदैन । यस्तो अभ्यास हुँदैन पनि,” पूर्व राजदूत निरञ्जन मानसिंह बस्नेतले बाह्रखरीसँग भने ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार नै प्रतिनिधिसभा बैठकमा पनि घोषणा नै नभएको आफ्नो चीन भ्रमणका एजेन्डा प्रस्तुत गरेका थिए । प्रतिनिधि सभा बैठकमा मंगलबार राखिएको ‘प्रधानमन्त्रीसँग प्रश्नोउत्तर’मा नेपाली कांग्रेसका सांसद उदय शम्शेर जबराले प्रश्न गरेका थिए, “प्रधानमन्त्रीका आगामी चीन भ्रमणमा प्राथमिकता र एजेन्डा के के हुन् ?” 

जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सहज बनाउन दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालन प्रभावकारी बनाउने र नयाँ नाकाहरू खोल्ने विषयहरू भ्रमणको कार्यसूचीमा परेका छन् ।” 

जवाफ दिने क्रममा उनले सडक, ऊर्जा, विज्ञान तथा प्रविधि तथा व्यापार र विकासलगायतका क्षेत्र, कनेक्टिभिटी, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रका परियोजनाहरूमा चीनको सहयोग विस्तार गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको ‍स्पष्ट पारे । 

“निकट भविष्यमा हुने मित्रराष्ट्र चीनको भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइँमा पुर्‍याउँदै नेपालको सामाजिक, आर्थिक विकासको लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने छ । भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीहरूको कार्यन्वयनमा जोड दिइने छ,” प्रधानमन्त्री प्रचण्डले भने । 

प्रतिनिधिसभाको बैठकमा सांसद ऐनबहादुर शाही ठकुरीले ‘आसन्न चीन भ्रमणमा उत्तरी सीमासँग जोडिएको मुगुको नाम्चे लाग्ना नाका खोल्ने विषयमा छलफल हुने योजना छ कि छैन’ भनी प्रश्न गरेका थिए । 

ठकुरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, "मेरो आसन्न चीन भ्रमणमा नेपाल र चीनबीच नयाँ व्यापारिक नाका खोल्ने विषयमा समेत छलफल हुने निश्चित भएको छ । त्यस सन्दर्भमा मुगुको नाम्चे लाग्ना नाकाका विषयमा कुरा उठाउने छु ।” 

यसअघि पनि प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका विषयमा सार्वजनिकरूपमै अभिव्यक्ति दिएका छन् । यही भदौ ४ गते वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमालाई सम्बोधन गर्ने क्रममा उनले चीन भ्रमणका बेला सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका थिए । 

‘एजेन्डाहरू सार्वजनिक गर्नै परे पनि भ्रमणको मिति दुवै देशले घोषणा गरेपछि मात्र गर्नुपर्छ । यस्तो घोषणा प्रधानमन्त्रीले होइन, परराष्ट्र मन्त्रालयले गर्ने हो । एजेन्डाहरू अन्तिम समयसम्म पनि फेरिन सक्छन् । प्रधानमन्त्रीले भनेको एजेन्डा पछि भ्रमणका बेला परेन भने प्रधानमन्त्रीको विश्वासनीयता घट्छ," पूर्वराजदूत बस्नेतले भने । 

उच्चस्तरीय भ्रमणहरू अचानक स्थगित वा रद्द हुन पनि सक्छन् । त्यसैले उच्चस्तरीय भ्रमणको औपचारिक घोषणा निर्धारित मितिभन्दा दुई–तीन अघि मात्र गर्ने गरिन्छ । 

२०७३ सालको वैशाखमा यस्तै भएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २२ गते परराष्ट्र मामिला हेर्ने पत्रकारहरूलाई शीतल निवासमा बोलाएर वैशाख २७ गतेबाट आफ्नो भारत भ्रमण सुरु हुने घोषणा गरेकी थिइन् । 

उनले घोषणा गर्दासम्म नेपाल र भारत दुवैले उनको भ्रमणको औपचारिक घोषणा गरेका थिएनन् । तर मिडियामा भने राष्ट्रपतिको भारत भ्रमणबारेका समाचार राष्ट्रपतिलाई नै उद्धृत गर्दै प्रकाशित भएका थिए । 

राष्ट्रपति आफैँले आफ्ने भारत भ्रमणको मिति घोषणा गरेको पर्सिपल्ट अर्थात् २०७३ वैशाख २५ गते भ्रमण स्थगित गरियो । भ्रमणको मिति औपचारिकरूपमा घोषणा नगरेकाले स्थगित गरिएको घोषणा पनि औपचारिकरूपमा भएन । तर, तत्कालीन राष्ट्रपति भण्डारी आफूले घोषणा गरेको मितिमा भारत भ्रमणमा जान पाइनन् । 

भारतले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनको भारत भ्रमण स्थगित गरेका थिए ।

"अहिले भनिएको चीन भ्रमणको मिति आउन पनि झन्डै एक महिना बाँकी छ । एक महिनामा विश्व राजनीतिकमा धेरै घटनाहरू हुन सक्छन् । अचानक भ्रमण केही समयको लागि पर सार्न पनि पर्न सक्छ । त्यसैले आफैँ जान्ने भएर प्रधानमन्त्रीले भ्रमणको विषयमा महिना दिन अगावैदेखि बोल्दै हिँड्न् हुँदैन," पूर्वराजदूत बस्नेतले स्पष्ट पारे ।

परराष्ट्र मन्त्रालयले हालसम्म गरेको तयारी अनुसार, प्रधानमन्त्री प्रचण्ड असोज महिनाको पहिलो साता संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी उन अमेरिकाको न्युयोर्क जाने छन् । असोज ४ गते उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

त्यसपछि उनी न्युयोर्कबाट सिधै चीन जाने तयारी गरिएको छ । सुरुमा प्रधानमन्त्री प्रचण्ड चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुने छन् । एसियन खेलको उद्घाटन चीनका राष्ट्रपति तथा प्रधानमन्त्रीमध्ये एकजनाले गर्ने छन् ।

एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री बेइजिङ जाने छन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने छन् ।

एसियन गेम्स चीनको हन्जाउमा अगामी सेप्टेम्बर २३ देखि अक्टोबार ८ (असोज ६ गतदेखि २१ गतेसम्म) हुने छ ।

केही दिनअघि बसेको मन्त्रिपरषद्को बैठकले प्रधानमन्त्रीको न्युयोर्क भ्रमण स्वीकृत गरिसकेको छ । न्युयोर्कबाट सिधै चीन जाने तयारी गरिए पनि हालसम्म प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छैन । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  २१:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro