
काठमाडौं । अर्थ मन्त्रालय प्रवेशमा कडाइ गरिएको छ । बजेट निर्माणलाई ध्यान दिएर मन्त्रालय प्रवेशमा कडाइ गरिएको जनाइएको छ ।
"बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । हाल तयारीका कार्यहरू जारी छन्," अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने, "बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौँ ।"
आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो ।
यही जेठ १५ गते संघीय संसद्को बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै छन् ।