काठमाडौं । विश्वमै पहिलो घटनाका रूपमा अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कबाट आठ सेन्टिमिटरको जिउँदै जुका निकालिएको छ । गत वर्ष क्यानबेरामा ती बिरामी महिलाको मस्तिष्कको शल्यक्रिया गर्दा ‘फ्रन्टल लोब’बाट यो परजीवी फेला परेको थियो ।
ती महिलालाई पेट दुख्ने, खोकी लाग्ने, राती पसिना आउने, बिर्सने र डिप्रेसनजस्ता लक्षण देखिएको डाक्टरले बताएका छन् ।
करिब दुई महिनादेखि उक्त रातो परजीवी ती महिलाकाे मस्तिष्कमा रहेकाे अनुमान गरिएको छ । यो घटनापछि अनुसन्धानकर्ताहरूले जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको बढ्दो खतरा भएको चेतावनी दिएका छन् ।
क्यानबेरा अस्पतालमा संक्रामक रोगका डाक्टर सञ्जय सेनानायकेले भनेका छन्, “जब सर्जनले बिरामीको मष्तिस्कबाट ८ सेन्टिमिटरको हल्का रातो रङको जुका निकालेँ तब अपरेटिङ थिएटरमा भएका सबैजनाले आफ्नो जीवनकै झड्का महसुस गरे ।”
उनले यो मानवमा देखिएको पहिलो किसिमको संक्रमण भएको बताएका छन् । ती महिलाको मस्तिष्कमा फेला परेको ओफिडास्कारिस रोबर्ट्सी राउन्डवर्म अस्ट्रेलियामा पाइने विषालु नहुने ‘कार्पेट अजिङ्गर’मा पाइने गरेको बताइएको छ ।
इमर्जिङ इन्फेक्सियस डिजिजेज नामक जर्नलमा लेख्दै अस्ट्रेलियाली परजीवी विज्ञानविद् मेहराब हुसेनले अजिङ्गरको दिसा र उक्त परजीवीको अण्डाले दूषित खानेकुराबाट ती महिलामा संक्रमण भएको आशंका गरेकी छन् ।
बीबीसीबाट ।