काठमाडौं । बीपी : मैले उस बेला जनताको घरघरमा एकएकवटा दुहुनु गाई होस् भनेको थिएँ । तर, मेरा साथीहरूलाई जनतालाई दुहुुनुहोस् भनेको होइन । गाई दुहुनुहोस् भनेको हो, जनतालाई दुहुनुहोस् भनेको होइन ।
मदन : (शंख बजेको सुनेपछि) को मर्यो फेरि ? हामी मरेका हौँ या मारिएका हौँ यो कुराको निर्क्योल स्वयं चित्रगुप्तले गर्न सकेका छैनन् भने तपाईं गुप्तचित्रले कसरी गर्न सक्नुहुन्छ महाशय ? योबीचमा हाम्रा थुप्रै साथीहरू बालुवाटारमा वास बस्नुभयो । हाम्रा श्रीमतीहरू दोहोर्याइदोहोर्याइ शीतलमा निवास गर्नुभयो, तर उहाँले न हाम्रो हत्यारा पत्ता लगाउनसक्नुभयो न हाम्रो दुर्घटना हो भनेर घोषणा गर्न सक्नुभयो । किनभने, हाम्रो मृत्यु त उहाँहरूलाई चुनाव जित्ने मसला मात्रै भयो ।
यो गुनासोसहितको संवाद हो, नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रथम जननिर्वाचित स्व. ‘बीपी कोइराला’ र तत्कालीन नेकपा (एमाले)का महासचिव ‘मदन भण्डारी’बीचको ।
कहिलेको ?
हालसालैको !
कसरी ? उनीहरू दिवंगत भएको त वर्षौँ भइसक्यो । हो, उनीहरूको निधन भएको धेरै वर्ष भइसक्यो ।
गाईजात्राको अवसर पारेर यो वर्ष कलाकार मनोज गजुरेल र चक्र दवाडीले क्रमशः मदन भण्डारी र बीपी कोइरालाको सशरीर नक्कल गरिरहेका छन् । र, त्यही क्रमको एउटा संवाद हो, यो ।
करिब एक महिनाअघि मनोज डिजिटल प्लेटफर्म युट्युबका भिडियो हेरिरहेका थिए । त्यसैक्रममा उनले एउटा भिडियो देखे । भिडियो थियो मदन भण्डारीको । हुन त यो भिडियो उनले पहिलोपल्ट देखेका होइनन्, तर योपटक भिडियोले उनको ध्यान खिच्यो । भिडियो मदनको भाषणको थियो । उनी भाषणमा भनिरहेका थिए– जनताले छुट्ट्याइदिएको मानो खाएर बस्छन् भने, संविधानलाई हस्तक्षेप गर्दैनन् भने, जनअधिकारलाई कुठाराघात गर्दैनन् भने राजा रहनु ठूलो कुरा होइन ।
यो आशयको संवादले उनलाई छोयो ।
मनोजलाई नयाँनयाँ कन्टेन्ट चाहिन्छ । त्यसका लागि पावरफुल विषय र पात्र चाहिन्छ । सशरीर नक्कल गर्ने भएपछि ज्यान पनि मिल्ने चाहियो ।
‘म मदन बन्न सक्छु होला त, किन नसक्नु !’ उनले निर्णय गरे– म यो वर्ष मदनको सशरीर नक्कल गर्छु ।
मदनसँग संवाद गर्ने अर्को पात्र को हुनसक्छ ? उनैले निर्णय गरे– बीपी हुन सक्छन् ।
दुवै नेपाली राजनीतिमा पपुलर पात्र, जसले आफ्नो समयकालमा पार्टी मात्र होइन, नेपाली राजनीतिलाई नै डोर्याए । अमिट छाप छोडेर गए ।
“मैले नक्कल गरेर नेपाली राजनीतिका पावरफुल करेन्ट पात्रहरू करिबकरिब सकिए । त्यसैले म कुन राजनीनिक पात्र पावरफुल छ भनेर खोजिरहेको थिएँ,” मनोज भन्छन्, “नेपाली राजनीतिमा आजपर्यन्त त्यतिकै पावरफुल पात्रमध्ये दुई पात्र हुन्, बीपी कोइराला र मदन भण्डारी । राजनीतिज्ञ र धेरै नागरिकका लागि पनि उनीहरू आदर्श पात्र हुन् ।”
बीपी बितेको ४१ वर्ष भयो । मदनको मृत्यु भएको ३० वर्ष भयो । तर, उनीहरूले त्यो समयमा राखेका विचार अहिले पनि हुबहु लागु भइरहेका छन् । उनीहरूको बाटोमा मात्र हिँड्न सके देशको अवस्थामा धेरै सुधार हुने स्वयं राजनीतिज्ञले बताउँदै आएका छन् ।
“यी पात्रहरूलाई पुनर्जागृत गर्ने र यिनै पात्रमार्फत नेपालको समग्र राजनीति, अर्थव्यवस्था र संस्कृतिलाई राम्रो सन्देश दिन सकिन्छ भनेर यो वर्ष यी पात्र मेरो छनोटमा परेका हुन्,” मनोज स्पष्ट पार्छन् ।
पार्टी फरक भए पनि जनताका मुद्दाका सवालमा बीपी र मदनका बीचमा ठूलो तात्त्विक भिन्नता थिएन । उनीहरू जनताको जीवनस्तरको विकास र समृद्धिलाई केन्द्रमा राख्थे । त्यसैले मनोजको रोजाइमा परे, यी दुई पात्र ।
“हुन त बीपी र मदन हाम्रा लागि नयाँ पात्र होइनन्, तर उनीहरूको चरित्रमै काम गर्नुपर्ने भएपछि विस्तृतमा अध्ययन गर्नुपर्ने भयो । त्यसैले बीपीबारे बुझ्न हामीले उहाँका पुस्तक पढ्यौँ । उहाँबारे पुस्तक र डकुमेन्ट्री बनाउने जगत नेपालसँग भेट्यौँ,” मनोज भन्छन्, “कांग्रेसका पुराना नेताहरूसँग भेटेर पनि जानकारी लियौँ ।”
मदन भण्डारीलाई त मनोज स्वयंले पनि एकाधपटक भेटेका थिए । उनकै अगाडि ०४७ सालमा जोरपाटीमा भएको एक चुनावी सभामा मदनको भ्वाइसको क्यारिकेचर गरेका थिए । भलै, त्यो समय मनोज कलाकारिता भर्खर सुरु गर्दै थिए । त्यसको रेस्पोन्स अहिलेको जस्तो आउँदैन थियो । त्यसैले मदनको प्रतिक्रिया पाउन सम्भव थिएन ।
“मदन भण्डारीसँग नजिक रहेर काम गर्ने मान्छेसँग भेट गरेँ । उहाँको आइडोलोजीलाई नजिकबाट अध्ययन गर्ने व्यक्तिलाई भेटेर उहाँबारे बुझेँ,” मनोज चरित्रको अध्ययन गर्दाका प्रसंग सुनाउँछन् ।
यी दुई पात्रका विषयमा उनले ‘सिस्नो पानी’का सदस्यमाझ रिहर्सल गरे । ‘सिस्नो पानी’का सदस्यले ‘यो वर्ष मनोजजीले गर्ने यही हो’ भने । चरित्रलाई मनोजले थप परिमार्जित र परिष्कृत गरे ।
“मान्छे हाँस्नु/नहाँस्नु एउटा कुरा, ताली बज्नु र नबज्नु एउटा कुरा, तर हामीले यो वर्ष दिनुपर्ने नै यही हो भन्ने निष्कर्षमा पुग्यौँ,” मनोज भन्छन् ।
मनोजले पूर्वराजा ज्ञानेन्द्र शाह, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गोकुल बाँस्कोटासहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयससलगायत थुप्रै व्यक्तिको सशरीर नक्कल गरिसकेका छन् ।
तर, तुलनात्मक रूपमा उनलाई मदनको नक्कल गर्न सहज भयो । “कालो भादगाउँले टोपी लगाएर रातोरातो चस्मा र कोटपाइन्ट लगाएपछि मलाई मदन भण्डारीजस्तो देखिन्छ,” उनी भन्छन्, “मदन भण्डारी बन्न मलाई धेरै सजिलो छ । धेरै मेकअप गर्नै पर्दैन ।”
चक्र दवाडी त यसै पनि बीपी कोइरालाजस्तै भइगए, त्यसै सजिलो । यसअघि समेत उनले बीपीकै भेषमा काम गरिसकेकाले थप सहज भयो । “मलाई बीपीजस्तो देखिन धेरै मिहिनेत नै गर्नु पर्दैन । त्यसमा पनि अलिअलि दारी पालेको छु, यसमा थोरै मेकअप गर्दा मलाई बीपीजस्तो देखिन्छ,” उनी भन्छन्, “शारीरिक बनोट नै बीपीको जस्तो भएकाले धेरै मिहिनेत गर्नु परेन ।”
बीपीका परिवारका सदस्यले नै चक्रलाई बीपीजस्तै देखिने प्रतिक्रिया दिइसकेका छन् । गत वर्ष ‘राजद्रोही राजनेता’ नामक बीपीको जीवनीमा आधारित डकुमेन्ट्री निर्माण गरिएको थियो । त्यसमा बीपीको भूमिका उनै चक्रले निर्वाह गरेका थिए । सुशील कोइराला फाउन्डेसनबाट बनाइएको उक्त वृत्तचित्रको स्क्रिनिङ कार्यक्रममा शेखर कोइराला, मनीषा कोइराला सहभागी भएका थिए ।
“त्यो कार्यक्रममा शेखर दाइ र मनीषा कोइरालाले ‘तपाईं बीपीजस्तै देखिनुहुँदो रहेछ, बीपी पनि तपाईं जस्तैजस्तै देखिनुहुन्थ्यो भन्नुभएको थियो,” चक्र स्मरण गर्छन् ।
मनोज, चक्रसँगै शैलेन्द्र सिंखडा, सुवोध गौतम, टीका भण्डारीलगायत कलाकारले विराटनगर र बर्दिबासमा गाईजात्रा कार्यक्रम गरिसकेका छन् । “अहिलेसम्म गज्जबको प्रतिक्रिया पाइरहेका छौँ । यो गाईजात्रामा हामीले धेरै विषय समेटेका छौँ,” मनोज भन्छन्, “सबै प्रस्तुति मन पराइरहनुभएको छ । राजनीतिमा चासो राख्ने र जानकारहरूले मदन र बीपीको प्रस्तुतिलाई उत्कृष्ट भन्नुभएको छ । यो प्रतिक्रियाले हामीलाई थप हौसला प्रदान गरिरहेको छ ।”