site stats
बाह्रखरी :: Baahrakhari
देश
सामान्य वा रोगका कारण भएको टाउको दुखाइ कसरी छुट्याउने ?

काठमाडौं । टाउको दुख्नु नेपालमा मात्रै नभइ विश्वभरका मानिसको आम स्वास्थ्य समस्या हो ।

यो समस्या एक/दुईदिनदेखि बर्षौँसम्मपनि देखिनसक्छ । विशेषज्ञहरूका अनुसार टाउको दुखाइ विशेषगरी दुई प्रकारका हुन्छन् ।

तीमध्ये ६९ प्रतिशत टाउको दुखाइ तनाबको कारण हुन्छ भने १६ प्रतिशत माइग्रेनका कारण हुन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

न्यूरो मनोचिकित्सक डा. प्रदीप पाण्डेका अनुसार यदि लामो समयदेखि टाउको दुख्ने समस्या छ, सामान्य नदुख्ने औषधि खाँदा सन्चो तर फेरि बल्झिरहन्छ भने त्यस्तो दुखाइको उपचार गर्नुपर्ने हुन्छ ।

त्यसैगरी टाउको दुख्ने समस्या छ तर परीक्षण गर्दा सबै रिपोर्ट समान्य छ भने त्यो मानसिक समस्या हुनसक्छ । यस्तो टाउको दुखाइ तनाबले गर्दा हुने अथवा माइग्रेनले गर्दा हुने टाउको दुखाइ मात्र नभएर निरासपनले गर्दा पनि हुनसक्छ ।

तनाबले गर्दा हुने टाउको दुखाइ कस्तो हुन्छ ?
सबैभन्दा धेरै मासिलाई देखिने समस्या हो तनाबले गर्दा हुने टाउको दुखाइ । यस्तो समस्यामा बर्षौँदेखि टाउको दुखिराखेको, टाउको दुख्दा जतापनि दुख्नसक्ने, भारी भएजस्तो, थिचेजस्तो, गह्रौँ महसुस हुने, कसैलाई पोलेजस्तो, किरा हिँडेजस्तो महसुस हुने चक्कर आउने हुन्छ ।

त्यस्तै, दिनभरी विस्तारै दुखिरहने, काम गर्न सकिने तर दुख्न पनि नछोड्ने हुन्छ । यस्तो दुखाइ सामान्य औषधि खाएमा निको हुन्छ तर यससँग मानसिक समस्या जोडिएको हुनसक्छ जस्तै कुनै तनाबको स्थिति, निद्रामा गडबडी, या अरु कुनै लक्षण हुनसक्छन् ।

माइग्रोनको टाउको दुखाइ कसरी चिन्ने ?
माइग्रेनका कारण हुने टाउको दुखाइ अर्को एक जटिल समस्या हो । यस्तो दुखाइमा, एक पटकमा चार घण्टादेखि दुई दिनसम्म दुख्नसक्ने, बान्ता हुनखोज्ने, बान्ता हुनेजस्ता लक्षण देखिन्छन् ।

कतिपयलाई कडा औषधि खानुपर्ने, इन्जेक्सन लगाउनुपर्ने, या आराम गर्नैपर्ने हुन्छ । घामले, आवाजले टाउको दुखाइमा फरक पार्नसक्छ र कसैलाई हिँड्डुल गर्नसमेत गाह्रो हुने, दुखाइ बढ्ने भएकोले घरभित्रै बसेर आराम गर्नुपर्ने, एक पाखा मात्र दुख्ने पनि हुनसक्छ ।

यी सबैखाले टाउको दुखाइको उपचार सम्भव भएकाले लक्षण देखिनासाथ चिकित्सकको परामर्श लिन डा. पाण्डेको सुझाव छ ।

कस्तो टाउको दुखाइमा सचेत हुने र तुरुन्त चिकित्सकलाई भेट्ने ?
१.धेरै जोडसँग दुखेमा,
२. पहिलो सहन नसक्ने दुखाइ,
३. दुखाइ झन् नराम्रोसँग या जोडसँग बढिराखेको छ,
४.जाँच गर्दा नसाको समस्या देखिएमा,
५.ज्वरो आएमा,
६.टाउको दुखेपछि वान्ता भएमा,
६.टाउको दुख्नाले निद्रा बिग्रेमा या उठ्ने बित्तिकै दुखेमा,
७. ५५ बर्षभन्दा बढी उमेरको व्यक्तिलाई दुखेमा ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्