site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
खटप्वाल, भाग र भोग : मल्लाजतिर फर्केर र केही समीक्षा
SkywellSkywell

खटप्वाल
(उपन्यास : प्रमोद प्याकुरेल)
पछिल्लो समय साहित्यमा सक्रिय सर्जक हुन्, प्रमोद प्याकुरेल । हालै उनको औपन्यासिककृति ‘खटप्वाल’ सार्वजनिक भएको छ । उपन्यासभन्दा अघि उनले ‘झुल्या कागत’ कथाकृति पाठकसामु पस्किइसकेका छन् ।

कृतिकार प्याकुरेलले ‘मेरा कुरा’मा लेखेका छन्, “हामी चालीस कटेका काँठेहरूले बिस्तारै आफ्नो रूप फेर्दै गरेको काठमाडौंलाई प्रत्यक्ष नियालेका छौँ । तीन सहर नेपालभित्र हुर्किएको मेरो पुस्तालाई राजधानीको पृष्ठभूमि सबै थाहा छ, उनीहरूलाई यस उपन्यासको परिवेश नौलो होइन । तर, एकैपटक गज्याङगुजुङ भइसकेको काठमाडौं मात्र देखेकाहरूका लागि तत्कालीन जोरपाटी गाउँको दृश्य नाटकीय लाग्न सक्छ । ...काठमाडौंको जोरपाटीमा बस्ने म अझै पनि त्यही पुरानै मानसिकतामा छु र असन वा इन्द्रचोक जानु छ भने अझै पनि भन्दै छु, ‘आज एकछिन सहरतिर जानु छ’ ।”

पछिल्लो पृष्ठको ब्लर्बमा लेखिएको छ, “...काँठे परिवेश र भाषा यस उपन्यासमा नवीन सौन्दर्य बनेर आएका छन् । उपन्यासले ‘स्वाभाविक’ मानिएका सम्बन्धहरूमा आउने अस्वाभाविक विग्रह र ‘अस्वाभाविक’ मानिएका सम्बन्धमा यदाकदा देखापर्ने असीमित अनुरागलाई सुन्दर शैलीमा आख्यानीकृत गरेको छ ।...।”

Dabur Nepal
NIC Asia

१८ भागमा समेटिएको यस उपन्यासको आठौँ भागमा उपन्यासकारले लेखेका छन्, “एउटा पुरानो घरमा थुप्रै खटप्वाल थिए । ती प्रत्येक प्वालमा अटाइनअटाई भँगेराका गुँड थिए । कुनै खाली थिएनन् । एउटाएउटा प्वालमा भँगेराको एकएक परिवार बस्थ्यो । भँगेराका प्रजनन क्षमता र इच्छा ज्यूँका त्यूँ थिए ।” (पृष्ठ —  ६७)

पेज टर्नरद्वारा प्रकाशित १६०+४ पृष्ठको यस कृतिको मूल्य ४५०– रुपैयाँ राखिएको छ ।

०००

भाग र भोग : मल्लाजतिर फर्केर
(जीवनी : शिवकुमार श्रेष्ठ)
पश्चिमी पहाडी क्षेत्र पर्वतको मल्लाज गाउँमा जन्मिएका शिवकुमार श्रेष्ठले आफ्नो जीवनका आरोह–अवरोहलाई पुस्तकका रूपमा ढालेका छन् । नाम दिएका छन्, ‘भाग र भोग मल्लाजतिर फर्केर’ । यो जीवनयात्रा केहीअघि प्रकाशित भएको हो ।

व्यवसायी एवम् बैंकिङ क्षेत्रका प्रवद्र्धक श्रेष्ठले पुस्तकमा लेखेका छन्, “म पश्चिम पहाडको एउटा अति साधारण परिवारमा जन्मेर–हुर्केर आफ्नै बलबुताको जीवन–संघर्षबाट अघि बढेको व्यक्ति हुँ । परिवारमा चल्दै आएको सामान्य बन्द–व्यापारको प्रभाव र जीवनमा केही नयाँ काम गर्ने आफैँभित्रको हुटहुटीका कारण नेपालमै भर्खरै उदाउन थालेको पस्मिनाजगत्मा म जोडिन आइपुगेँ । यही फरक बाटोको व्यवसायले मलाई केही हदमा आर्थिक र सामाजिक कित्तामा दह्रिलो बन्न सक्ने ऊर्जा दियो, साथ दियो ।”

पुस्तकभित्र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले लेखेका छन्, “अरूभन्दा पनि आफ्नो समयको दस्ताबेजीकरण र आउने पुस्ताका लागि समेत संघर्ष तथा योगदानको मर्म बुझाउन भाग र भोग कृति एउटा अनुकरणीय सामग्री बन्नेछ भन्नेमा मलाई विश्वास छ ।...।”

शंकर बैरागीले शुभेच्छामा लेखेका छन्, “नेपाली पस्मिनालाई विश्व बजारमा स्थापित गराउन उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ ।...।”

यस जीवनीभित्र २१ भागमा उनका विभिन्न प्रसंग समेटिएको छ । तेस्रो भाग ‘लेखान्त’मा उनले लेखेका छन्, “आजको पुस्ताले लेख्ने गरेको छ ‘स्वैरकल्पना’ अथवा अलिक कल्पना मिसिएको कुरा । आज पछाडि फर्केर हेर्दा मेरै समय, मेरै समाज आफैँमा कल्पना र सपनाले भरिएको थियो कि झैँ लाग्छ । आजभन्दा ५०–६० वर्षअघिको त्यो समय आफैँमा स्वैरकल्पनाले भरिएको थियो ।...।” (पृष्ठ — ३७)

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित १७२+४ पृष्ठको यस पुस्तकको मूल्य ३९५– रुपैयाँ राखिएको छ ।

०००

केही समीक्षा
(समीक्षासंग्रह : रामदयाल राकेश)
नेपाली साहित्य र मैथिल संस्कृतिका क्षेत्रमा चिरपरिचित व्यक्तित्व हुन्, डा. रामदयाल राकेश । उनका अनगिन्ती साहित्यिक, समीक्षात्मक र संस्कृतिसम्बन्धी कृतिहरू प्रकाशित छन् । पछिल्लो समय सार्वजनिक समीक्षाहरूको सँगालो हो, ‘केही समीक्षा’ ।

डा. राकेशले लेखकीयमा उल्लेख गरेका छन्, “समालोचना विधामा धेरै दिनपश्चात् फुटकर रचनाहरूको सँगालो लिएर पाठकहरूसमक्ष प्रस्तुत हुने साहस बटुलेर आएको छु । म आफूलाई सिद्धहस्त समीक्षक पनि ठान्दिनँ, किनभने फाटफुट समीक्षात्मक टिप्पणी लेख्दै यस क्षेत्रमा संलग्न छु ।...।”

‘अक्षरमा सुवास छर्दै’मा कमल ढकालले लेखेका छन्, “पढेर खेर जान नदिने र त्यसलाई लेखिहाल्ने बानीले यो केही समीक्षा पुस्तक आयो । पढ्न त अरूले पनि कति पढे होलान् तर लेखेनन् ।...।”

यस समीक्षात्मक कृतिमा १२ समीक्षा समावेश छ । ‘द्रौपदी अवशेष’, ‘इजोरिया’, ‘खलंगामा हमला’, ‘लू’, ‘द्रौपदी’, ‘अनुपम देवता’लगायत पुस्तकहरूका समीक्षा यसमा समेटिएको छ ।

‘समसामयिक नेपाली समालोचना’मा डा. राकेशले लेखेका छन्, “...अचेल समालोचना लेखिन्न, प्रशस्तिगान लेखिन्छ कि गालीगान । पुस्तकको आवरण पृष्ठ हेरेर र अन्तिम पृष्ठमा लिखित लेखकको बारेमा केही लेखकहरूको मत पढेर समालोचना लेखिन्छ । वास्तवमा यो पुस्तक परिचय हो, तर यस्ता पुस्तक परिचय लेख्नेले आफूलाई सबैभन्दा ठूलो समीक्षक भन्ने गर्दछ ।...।” (पृष्ठ —  ९२)

सिमल बुक पब्लिकेसनद्वारा प्रकाशित ९६+४ पृष्ठको यस पुस्तकको मूल्य ३५०– रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu