मेरा छिमेकी हुन् उनी
बस्छन् मेरो घरको आडैमुनि
आफ्नो आलिसान बंगलामा
बस्छन् तिनी
साँझ–बिहान जुक्ति हेरी
विषाक्त फणाले
मेरो कमलो भावनालाई
डस्ने गर्छन् उनी ।
पोहोर साल
म बिरामी परेको बेला
सहयोगको सानो
पोको बोकेर आए
लटरम्मै फलेका थिएँ
मिष्टान्न बगैँचामा
अघाउँजी खाए र गए
सारै मिठो लागेछ कि क्या हो !
यसपालि त
ठूलै झोला बोकेर ल्याए ।
छिमेकी भनेको दुःखसुखको साथी
मर्दाको मलामी बाँच्दाको जन्ती
भरोसा गर्नैपर्यो
विश्वास लिनैपर्यो
विस्तारै कन्याउँदै थियो
मित्रले आङमा
म आनन्दले लट्ठिएछु सायद
यही मौका,
जीवन बाँच्ने चाहिने
ज्ञानेन्द्रीय र इन्द्रिय तत्त्वहरू
झिकिसकेछन् थाहै नपाइ
भत्काएर मेरो दाहिने पाटो
लुटिसकेछ थाहै नपाइ !
फेरि पनि मेरो विवशता
छिमेकी उही छ
आजकल शरीरका
अंग फेर्न मिल्छ
छिमेकी फेर्न मिल्दैन
प्रविधि औधी प्यारो छ मलाई
यसलाई छोड्न मिल्दैन
यही प्रविधिको सहारामा
अलि परको
अर्काे छिमेकी थपिएको छ
मेरो संस्कृति मेटिँदो छ
कराएर मैले
त्यसो नगर भन्दा
मेरो मुटु
ऊ
उसको हातमा देखाउँछ
मेरो बाध्यताभित्र पसेर
मेरो जीवन ऊ खेलाउँछ
मेरो इच्छाविपरीत
उसले मलाई
उसको कथा लेखाउँछ
यी कस्ता छिमेकी मेरा,
छोड्न नसकिने
मोड्न नसकिने
गोड्न नसकिने
नसकेर के गर्ने हो र !
भागेर कतै जान नसकिने
आफ्नै पुर्पुरो पनि
फोड्न नसकिने
अब त यस्तो भा’छ,
मैले फेर्ने श्वासप्रश्वास पनि
उसको हातमा गा’छ
मेरो जीवनको सञ्चालनकर्ता
उसको एक वफादार
सिपाही भा’छ
यस्तो द्विविधा छ मलाई
म मरेको छु भनूँ,
सास फेरिरहेको छु
म जिएको छु भनूँ,
स्वत्व गुमाउँदै छु
मर्नु र बाँच्नु एकै होइन
यो विपरीत हो
भन्ने बुझेको छु
मेरो छिमेकीले मलाई
न मर्न दियो
न बाँच्ने बनायो
यस्ता यस्ता छन्
मेरा छिमेकी सबै
बज्र भएर यिनको टाउको
म कसरी फोरूँ !
आउन सिकाउन
ए ‘म’ भन्ने मानिसहरू हो,
म आँट भर्दै छु
मुटुमा विद्रोहको
तिमी साथ देऊ मलाई भरोसाको
यो मृग होइन,
ब्वाँसोजस्तो छ
यो सात्त्विक होइन,
हिंस्रक भएको छ
यसका नङ्ग्रा र दाह्रा
नउखेलेसम्म
यसले यसरी नै
दुःख दिइरहन्छ
आऊ, आज हामी खोजाँै
यसलाई पराजित गर्ने अस्त्र
सबै मिलेर आपसमा
शक्ति बनाउन जरुरी भा’छ
बुझौँ न अहिल्यै ।
ए सबै आस्थाका चिरागहरू हो,
तिम्रा प्रकाशमा
उसलाई राम्ररी चिन्ने मन छ
यसपटक त
यो युद्ध छिन्ने मन छ ।
मेरा छिमेकी हुन् उनी
बस्छन् मेरो घरको आडैमुनि
लौन,
आऊ, आज हामी खोजौँ
यिनलाई पराजित गर्ने अस्त्र
लौ न,
सबै मिलेर आपसमा
शक्ति बनाउन जरुरी भा’छ ।