
‘के घर के डेरा : घर नं २’ घरभेटी र डेरावालको कथा हो । काठमाडौंका घरभेटीका समस्या र डेरा बस्ने डेरावालका समस्यालाई केन्द्रीय कथा बनाएर निर्माण भएको चलचित्र हो, ‘के घर के डेरा : घर नं २’ ।
काठमाडौंको बबरमहलमा रौनक निवास छ । नाम रौनक भए पनि यो निवास जीर्ण भइसकेको छ । घरभेटीको रूपमा आर्यन सिक्देल छन् । उनको श्रीमतीको रूपमा केकी अधिकारी छिन् ।
अनि उनको घरमा छन्, नाकाबन्दीले व्यापार डुबाएर बिलखबन्दमा बसेका प्रकाश घिमिरे र उनकी छोरी पूजा । र, त्यही घरमा छन् दिवाकर (निश्चल बस्नेत) पनि । मिटरब्याजपीडित दिवाकरको व्यापार कोरोनाले लग्यो । तर, मिटरब्याजले उनलाई छोडेन । मिटरब्याजीको चपेटामा छन्, उनी ।
उता, नाकाबन्दीले व्यापार डुबेपछि प्रकाशले त्यसलाई बिरामी बनाएको छ । छोरी उनको हेरचाहमा छिन् ।
‘न यताको न उताको, म त बीचको’ भन्दै राजाराम भण्डारी (खगेन्द्र लामिछाने) कहिले छाता बनाउँदै, कहिले साइकलमा पानीको जार पुर्याउँदै त कहिले लुगा सिउँदै हिँड्छन् ।
अचानक दिवाकरसँग परेको नोकझोँकसँगै राजाराम पनि रौनक निवास पुग्छन् । पूजासँग आँखा जुधेपछि उनकै पछि लाग्छन् । उनका आफ्नै समस्या छन् ।
घर हुनेका पनि समस्या छन्, नहुनेका पनि । यही नै निर्देशकले ‘के घर के डेरा : घर नं २’मा देखाउन खोजेका छन् ।
अक्सर डेरावाललाई लाग्छ– काठमाडौंका घरभेटी आर्थिकरूपमा सम्पन्न हुन्छन् । उनीहरूले आर्थिक अभावको सामना गर्न पर्दैन । समस्या डेरावालका मात्रै हुन् ।
तर, ससाना अभावमा कसरी घरभेटी छटपटिरहन्छन्, ‘के घर के डेरा : घर नं २’ले देखाएको छ । निर्देशक यस अर्थमा प्रशंसाका हकदार हुन् । कसैका ठूलै समस्या होलान्, कसैका साना । तर, समस्या नभएको मान्छे कोही हुँदैन भन्ने प्रस्ट पारिदिएका छन् ।
अक्सर सोसल ड्रामाका लागि मेकर सहरबाट गाउँ पसिरहेका छन् । तर, निर्देशक दीपेन्द्र के खनालले गाउँबाट सहर पसेका र सहरकै कथालाई सिनेमाको विषय बनाए । र, उनले देखाइदिएका छन्, कथा गाउँमा मात्रै होइन, सहरमै पनि सकिएका छैनन् ।
घरभेटी र डेरावालको कथा भन्न निर्देशकले खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिक्देल, प्रकाश घिमिरे, केकी अधिकारी, उपासना सिंह ठकुरी, सिर्जना नापित, सन्जोग रसाइलीलाई लिएका छन् । कलाकारको कास्टिङमा जब नाम चलेका कलाकारलाई लिने निर्णय गरे, त्यहीँबाट कमजोरी सुरु हुन्छ ।
सकेसम्म सबै कलाकारलाई स्क्रिन टाइम समान पारौँ भन्ने सोच नै गलत छ । मुख्य पात्र खगेन्द्र हुन् भने कथावाचनको मियो उनी हुनुपर्छ । तर, सिन बाँडचुँड गर्दा मैलै वाचन गर्ने कथाको मुख्य केन्द्रीय चरित्र को हुन् भन्नेमा उनी अलमलमा छन् ।
सिनेमा निर्देशकीय माध्यम हो । निर्देशकले आफूले चाहेजसरी कथा भन्न सक्छन् । तर, निर्देशक कथाभन्दा माथि हाबी हुँदा सिनेमा ‘आउट अफ कन्ट्रोल’ हुन्छ, त्यसमा पनि कथा त्यस्तै भयो भने झन धेरै सिनेमा बिग्रिन्छ ।
निर्देशक र लेखक पात्रको पूरा जर्नी नै देखाउन आवश्यक ठान्दैनन् । यसको उदाहरणका रूपमा सिनेमाका मुख्य पात्र खगेन्द्रको चरित्रलाई नै लिन सकिन्छ । निर्देशक र लेखकलाई जसरी जहाँ पुर्याउन मन लाग्यो त्यहीँ पुर्याउँछन् । जे गर्न मन लाग्यो त्यही गराउँछन् । लाग्छ, जे देखाइदिए पनि हुन्छ, जति देखाइदिए पनि हुन्छ, मात्रै निर्देशक र लेखकलाई लाग्नुपर्यो ।
सुरुमा सस्पेन्स रहेको खगेन्द्रको पात्र कतै छाता सिलाउने काम गर्छ, कतै साइकलमा पानी पुर्याउने काम गर्छ । लड्छ, भिड्छ र उठ्छ । सामान्य लवाइखवाइमा हिँड्छ । तर, ऊ दशौँ लाख फुत्त निकालेर दिन्छ ।
जब उसको सस्पेन्स खुल्छ, उसको यात्रामा ऊ जसरी छाता र लुगा सिलाउँदै तथा पानी पुर्याउँदै हिँड्छ अनि उसको जीवनशैली विश्वसनीय लाग्दैन । लाखौँ रुपैयाँ अरूलाई फिर्ता नलिने गरी दिने व्यक्तिको जीवनशैली त्यस्तै हुन्छ ?
निश्चलको पात्र दिवाकर पैसा तिर्न नसकेर भागीभागी हिँड्छ । उसले मिटरब्याजीबाट उम्किन घरभेटी भाउजू (केकी अधिकारी)लाई ब्ल्याकमेल गर्छ । तर, उत्तरार्धमा ऊ आमाले दुई/चार सय पठाएर घर फर्किन भनेर खबर पठाएकै घर फर्किन्छ । यो पनि त्यति विश्वसनीय छैन ।
सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगिसकेका आर्यनको पात्र, केकीले फोन र म्यासेज फलानो होइन, फलानोले पठाएको भन्दैमा कति सहजै विश्वास गर्छन् ।
केकीले किन त्यस्तो भिडियो बनाइन् ? उनको सम्बन्ध कहिलेको थियो ? किन थियो ? कसरी छुट्यो ? भनेर लेख्न लेखक जाँगर गर्दैनन्, निर्देशक देखाउन आवश्यक ठान्दैनन् । दिवाकरको पात्र त्यत्रो जोखिम लिएर पनि कसरी सहजै घर फर्किंन तयार भयो ? देखाउन आवश्यक ठान्दैनन्, लेखक र निर्देशक ।
ह्विल चियरमा बसेर पसल गर्ने पात्र जसरी एक्कासि आउँछ, त्यसैगरी हराउँछ । त्यो पात्र नभएको भए के हुन्थ्यो ? प्रश्न गर्ने ठाउँ छ ।
खगेन्द्रको पात्र दर्शनको कुरा गर्छ । साहित्यिक शब्दावली गज्जब मिठोसँग प्रयोग गर्छ । तर, उसको चरित्र त्यस्तो छ ? उसले पढ्न पाएको छैन । स्वअध्ययन गरेको देखिँदैन । साथीसंगती पनि त्यस्तो छैन । आफूले पढ्न नपाएकै कारण बहिनीलाई पढाउने उसको लक्ष्य थियो । तर, खुब अध्ययनशील र विद्वान्ले झैँ कुरा गर्छ । फगत उसले एकपटक भन्छ– म बेलाबेलामा उपन्यास पढ्छु ।
चलचित्रमा त्यसका पात्र बोल्ने हो, लेखक होइन । तर, ‘के घर के डेरा : घर नं २’मा लेखक बुद्धिसागर बोल्छन् । उनका शब्द आउँछन् । पात्रमार्फत लेखक बोल्छन् । जबकि, सिनेमामा लेखकको विद्वता होइन । पात्र कस्तो छ ? उसको परिवेश के हो ? भाषा र लबज के हो ? उसको एकेडेमिक क्वालिफिकेसन के हो ? पारिवारिक पृष्ठभूमि कस्तो हो ? त्यहीअनुसार उसको संवाद हुनुपर्छ । चालचलन र शारीरिक रूप हुनुपर्छ ।
‘के घर के डेरा : घर नं २’मा भने पात्र होइन, लेखक बोल्छन् । पात्रको यात्रा र उसको जीवनअनुसार मुख्य पात्र खगेन्द्रका कतिपय शब्दावलीमा विश्वास गर्न सकिँदैन । लेखकलाई आँखा चिम्लिएर निर्देशकले विश्वास गर्दा सिनेमाले लय समाउन सक्दैन ।
चलचित्रमा खगेन्द्रको अभिनयले मन जित्छ । ‘पशुपतिप्रसाद’पछि उनको जीवन्त अभिनय छ । अन्य पात्रले पनि चरित्रलाई न्याय गर्छन् । सञ्जोगको चरित्र लाउड छ ।
क्यामेरा वर्कमा खोट लगाउने ठाउँ छैन । तर, अब्बल पनि छैन । सांगीतिक पक्ष मध्यम छ । पात्रको कथा भन्न गीतले सहयोग गर्छ ।
ब्याकग्राउन्ड स्कोरमा भने चलचित्र कमजोर प्रतीत हुन्छ । कलर ग्रेडिङ पनि कथाअनुसार देखिन्छ । भलै आमनेपाली चलचित्रभन्दा माथि उठ्न सकेको छैन ।
‘के घर के डेरा : घर नं २’मा स्थापित साहित्यकार लेखकका रूपमा थिए । उम्दा कलाकारको बलियो लाइनअप थियो । कथालाई दृश्यमा खिप्न सक्ने राम्रो छवि र शिल्प भएका निर्देशक थिए । लगानी गर्न सक्ने निर्माता थिए । तर, टिमअनुसारको सिनेमा बनेन । यसले सिनेमाको मेरुदण्ड भनेको स्क्रिप्ट हो, कथा हो भन्ने फेरि एकपटक प्रस्ट भएको छ ।
साहित्यकार बुद्धिसागरको ‘के घर के डेरा : घर नं २’ पहिलो सिनेमा थियो । स्क्रिप्टमा उनको यो डेब्यू थियो । आख्यानमा जस्तै उनले सिनेमा लेखन स्क्रिप्टमा पनि दख्खल राख्लान् भन्ने धेरैको अपेक्षा थियो । तर, उनले निराश बनाउँदा समग्र चलचित्र नै अपूरो र अधुरो बनेको छ । पात्रहरूको अपूरो यात्रामात्रै देखाउँदा सिनेमा पनि खल्लो बनेको छ ।
० ० ०
निर्देशक – दीपेन्द्र के खनाल
लेखक – बुद्धिसागर
कार्यकारी निर्माता – युवराज कार्की
निर्माता – नकिम उद्दिन, सरद श्रेष्ठ, किरण महर्जन
कलाकारहरू – आर्यन सिक्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे आदि ।
जानरा – सोसल ड्रामा
लम्बाई – १४७ मिनेट
ब्यानर – एप्पल इन्टरटेनमेन्ट, ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रिएसन