site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ भरतपुर २२० केभी सबस्टेसन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारणलाइनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ भरतपुर २२०/१३२ केभी सबस्टेसनको उद्घाटन गरेका छन् । उनले हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइनको पनि उद्घाटन गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–११, आँपटारीमा निर्मित सबस्टेसनको मंगलबार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् ।

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन निर्माण गरिएको हो । सबस्टेसनको लागत एक अर्ब ५२ करोड  र प्रसारणलाइनको लागत पाँच अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त सबस्टेसन र प्रसारणलाइन पूर्वपश्चिम विद्युत् आपूर्तिका लागि रणनीतिक महत्त्वको रहेको बताए । देशभित्र उत्पादित विद्युत् यहीँ खपत गरी नागरिकको जीवनस्तर सुधार, विकासमा तीव्रता र विद्युत् निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उनले उल्लेख गरे ।

“एउटा छिमेकी देश भारतसँग १० वर्षमा १० हजार मेगावाटको विद्युत् व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्दै छौँ । नेपालको विद्युत् बंगलादेशसम्म पुर्‍याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ,” उनले भने, “अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जाँदै छु । चीनसँग प्रसारणलाइन र विद्युत् व्यापारका विषयमा सम्झौताहरू हुँदै छन् । यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्नेछ ।”

१,२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना र १०,८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औचारिक रूपमा प्राधिकरणलाई दिन लागिएको उनले बताए ।

उद्घाटन गरिएको हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारणलाइनलाई हेटौँडा–भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको थियो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारणलाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारणलाइनलाई हाल १३२ केभीमा सञ्चालन ल्याइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro