site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धरानमा डेंगी नियन्त्रण गर्न कोसी सरकारको चासो, स्वास्थ्य सामग्री पठाइने
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशका केही जिल्लामा महामारीका रूपमा फैलिएको डेंगी रोग नियन्त्रण गर्न पहल थालिएको छ । खासगरी सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगी नियन्त्रणका लागि प्रदेश सरकार अग्रसर भएको हो ।

कोसी सरकारका मुख्यमन्त्री उद्धव थापाले धरानका प्रमुख राजनीतिक दल र नागरिक समाजका तर्फबाट माग भएबमोजिम स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्य सुरु गरिएको बताए ।

“प्रदेश स्वास्थ्य मन्त्रालयसँग १० लाख रुपैयाँ मात्र बजेट रहेछ । यतिले त केही पनि हुँदैन भन्ने देखिएकोले अर्थ मन्त्रालयसँग थप माग गरिएको छ,” उनले भने ।

औषधि उपचारको व्यवस्था गर्न संघीय सरकारसँग एक करोड रुपैयाँ माग गरिएको उनले जानकारी दिए ।

कोसी सरकारले मुख्यमन्त्रीको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन समितिमार्फत स्प्रे गर्ने मेसिन खरिद प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ । सोअनुसार १०० थान मेसिन धरानमा पठाउने तयारी गरिएको जनाइएको छ ।

“विपद् व्यवस्थापन समितिबाट १०० थान स्प्रे मेसिन खरिद गरेर धरान उपमहानगरलाई एक हप्ताभित्र दिइनेछ,” मुख्यमन्त्री थापाले भने ।

प्रदेशसभा सदस्यहरूले समेत धरानको समस्याबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

धरानमा डेंगी नियन्त्रणका लागि तत्काल २५ लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री माग गरिएको छ । ती सामग्री दिने गरी प्रदेश सरकारले तयारी थालेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसैबीच, प्रदेश सरकारले कोरोना संक्रमणका बेला विराटनगरमा सञ्चालन गरेको कोभिड अस्पताललाई डेंगी उपचार केन्द्रका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । यो उपचार केन्द्र निर्माण गर्न विराटनगरका उद्योगी, नागरिक समाज र सरकारका तर्फबाट संयुक्त रूपमा लगानी गरिएको थियो ।

यो अस्पतालमा ४६ भेन्टिलेटर छन् । एक हजार बेड छन् । त्यहाँ स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीको व्यवस्था गरिएको स्वास्थ्यमन्त्री निर्मला लिम्बूले जानकारी दिइन् ।

उनले भनिन्, “आवश्यक परे थप सुविधा दिइनेछ । डेंगीका गम्भीर किसिमका रोगीको उपचार गर्न केन्द्रले सुविधा उपलब्ध गराउनेछ ।”

यसलाई प्रदेशस्तरीय सरुवा रोग उपचार केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको स्वास्थ्य मन्त्रलयले जनाएको छ ।

तीन महिनायता धरान डेंगीको ‘हटस्पट’ बनेको छ । उपमहानगरको स्वास्थ्य महाशाखाको तथ्यांकानुसार हालसम्म धरानमा डेंगीका कारण १२ जनाको मृत्यु भएको छ ।

सोमबारसम्मको तथ्यांकानुसार धरानमा १७ हजार ९१३ जनामा डेंगी परीक्षण गरिएको छ । तीमध्ये १२ हजार ९७१ जनामा संक्रमण पुष्टि भएको छ । धरानमा संक्रमणको दर ७२ प्रतिशत छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro