site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीकी उपसभामुख अनुपस्थित भए कसरी सञ्चालन हुन्छ प्रदेशसभा बैठक ?

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भोलि (सोमबार) विश्वासको मत लिने तयारी गरेका छन् । 

थापाले यस बारेको सूचना शुक्रबार नै प्रदेशसभामा दर्ता गराइसकेका छन् । आइतबारलाई मागिएको समय उपसभामुख सिर्जना दनुवारले फेरबदल गरी सोमबार तोकेकी छन् ।

दनुवार एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

Dabur Nepal
NIC Asia

‘यदि बैठकमा उपसभामुख दनुवार अनुपस्थित भए सभा कसरी सञ्चालन हुन्छ ?’

गठबन्धनको रणनीतिलाई असफल पार्ने र सत्तामा पुनः पुग्ने एमालेको प्रयासबीच कोसीसभामा सोमबार बैठकको अध्यक्षता कसले गर्ला भन्ने विभिन्न ‘खेलहरू’ भइरहेका छन् ।

सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ भए पनि उनीहरूको अनुपस्थितिमा हुने सभाको कारबाहीबारे कोसी प्रदेशसभा सञ्चालन नियमावली, २०७४ (पहिलो संशोधन) मा स्पष्ट उल्लेख छ ।

नियमावलीको नियम ११ को उपनियम १ मा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी व्यवस्था छ । जसअनुसार सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न समय–समयमा बढीमा पाँचजना सदस्यहरूलाई मनोनीत गर्न सक्नेछन् ।

उपदफा (२) मा उपसभामुख तथा उपनियम (१) बमोजिम मनोनयन गरिएको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्नेछन् ।

सोमबार उपसभामुख उपस्थित नभएमा प्रदेशसभा सञ्चालन नियमावलीअनुसार सभाध्यक्ष मण्डलका सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुन्छ । उनीहरूको मनोनयन पहिल्यै भइसकेको छ । यसमा नेपाली कांग्रेसका इसराईल मन्सुरी, नेकपा (माओवादी केन्द्र)की गीता तिम्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट र नेकपा (एमाले)की मालतीकुमारी लिम्बू छन् ।

मुख्यमन्त्री थापाले संविधानले व्यवस्था गरेअनुरुप आफूले विश्वासको मत लिन त्यसको सूचना प्रदेशसभामा दर्ता गराएको बताउँदै भने, “सभा सञ्चालन गर्न नै कठिन होला भन्ने मैले सोचेको छैन । सभाबाटै विश्वासको मत पाउनेमा म ढुक्क छु ।”

गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद छन् । थापा तिनै सांसदको समर्थनमा साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

सभा सञ्चालन हुन नदिन एमालेले बनाएको रणनीतिअनुसार उपसभामुख अनुपस्थित हुँदा अध्यक्ष मण्डलका सदस्यहरू राप्रपाका विष्ट र एमालेकी लिम्बू पनि अनुपस्थित हुने गठबन्धन दलका सांसदहरूको अनुमान छ ।

यस्तो अवस्थामा फेरि गठबन्धनबाट अध्यक्ष मण्डलमा सदस्य रहेका सांसदहरू कांग्रेसका मन्सुरी अथवा माओवादीकी तिम्सिनाले सभा सञ्चालन गर्नुपर्ने हुन्छ ।

कांग्रेसका एक सांसदले भने, “गठबन्धनकै सांसदले सभा सञ्चालन गर्दा उहाँले मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने द्विविधा कायमै छ । संख्या बराबर भएको अवस्थामा मत हाल्न पाउने भए पनि एमाले सांसद अनुपस्थित हुँदा के गर्ने भन्ने तय हुन बाँकी छ ।”

एमालेले ‘जसरी पनि गठबन्धनलाई रोक्ने र गठबन्धनले जे गरेर भएपनि’ विश्वास मत लिने भन्ने हठका कारण फेरि यो विषय अदालतमा जान सक्ने ती सांसदले जिकिर गरे ।

“सभाको अध्यक्षता गर्नेले विश्वासको मत दिए एमाले फेरि अदालत जान सक्छ,” उनले भने ।

नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्की उपसभामुख अनुपस्थित हुने भन्ने आफूले कल्पना नगरेको बताए ।

“उहाँ आफ्नो जिम्मेवारीबाट भाग्नु हुन्न होला भन्ने हाम्रो विश्वास हो,” कार्कीले भने ।

उपसभामुख दनुवारले सञ्चारकर्मीहरूसँगको कुराकानीमा ‘राजीनामा नदिने र सभा सञ्चालन गर्ने’ बताउने गरेकी छन् ।

थापाले विश्वासको मत नपाए के हुन्छ ?
मुख्यमन्त्री थापाले विश्वासको मत पाउन नसक्ने अवस्था भए राजीनामा दिने र संविधानको धारा १६८ को उपधारा (२) अनुसार फेरि मुख्यमन्त्रीमा नियुक्त हुन सक्छन् ।

पहिले सभामुख समेतको हस्ताक्षर गरी सरकार गठनको दाबी गर्दा थापा नेतृत्वको सरकार गठन प्रक्रियालाई ‘असंवैधानिक करार दिँदै’ सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

कोसी प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् । यो संख्या बहुमत पुग्ने ४७ हो ।

यसैगरी एमालेसँग ४० र राप्रपासँग ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् । यसअघि एमालेका हिक्मत कार्की नेतृत्वको सरकारमा राप्रपा सहभागी थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro