site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

बाढीले देशभर वितण्डा मच्चाएको छ । साताको सुरुमा मुस्ताङको कागबेनीले मच्चाएको वितण्डाका साथै त्यहाँका प्रमुख जिल्ला अधिकारीको सक्रियतामा मानवीय क्षति रोक्न सकिएको समाचारले देशकै ध्यान आकर्षण गर्‍यो ।

मुस्ताङको बाढीमा जनताको ज्यान जोगाउन सक्रियता देखाउने पहिलो सूचनादातादेखि घरघरमा सन्देश पुर्‍याउने अन्तिम सहयोगीसम्म सबै धन्यवादका पात्र बनेका छन् । गर्न त उनीहरूले आफूले गर्नुपर्ने काम नै गरेका हुन् तर प्रजिअलगायत सम्बद्ध सबै सक्रिय नभएका भए धेरै जनाको ज्यान जान्थ्यो । 

कागबेनी बाढीपछि पनि पुनर्निर्माणको अवसर र चुनौती उपस्थित भएको छ । कागबेनी क्षेत्रमा पुनर्निर्माणका लागि ठूलो राष्ट्रिय प्रयत्न आवश्यक त छ नै त्यहाँको पाठबाट सिक्नु पनि जरुरी छ । कागबेनीको बाढीमा स्थानीयको ज्यान जोगाउन सूचना प्रणालीको महत्त्व बुझेर सबैतिर लागु गर्नुपर्ने देखिन्छ ।    

विनाशपछि नेपालीहरू जति छिटो जुर्मुराएर उठ्ने गरेका छन् दुर्भाग्य विध्वंशले सिकाएको पाठ पनि उति नै छिटो बिर्सन्छन् । छिटै बिर्सने रोगबाट नेपालमा राज्य, समाज र व्यक्ति सबै ग्रस्त जो छन् । कागबेनीलाई पछिल्लो उदाहरण बन्न दिनु हुँदैन ।

‘गोरखा भूकम्प’पछि राज्य चलाउनेहरू गम्भीर र जिम्मेवार हुनसकेको भए भूकम्प ग्रस्त क्षेत्रको अनुहार अर्कै हुनेथियो । पुनर्निर्माणका क्रममा आधुनिक सुविधासम्पन्न बस्तीहरू निर्माण गर्न सकिन्थ्यो । भुइँचालोले नभत्काएकै घर पनि सुधार गर्न सरकारले सहयोग गर्न सक्थ्यो ।

Global Ime bank

कागबेनीको पनि बस्ती नै सार्नुपर्ने हुनसक्छ । अब बन्ने घरहरू कम्तीमा बाढी र भूकम्पबाट जोगिने ठाउँ र संरचनाका हुनुपर्छ । अहिलेको ठाउँ बाढीको जोखिममा त थियो नै सम्भवतः भौगर्भिक दृष्टिले समेत बस्ती बसाउन अनुपयुक्त देखिन्छ ।

सबैभन्दा पहिले बाढीपीडित स्थानीयहरूसँग छलफल गरेर उनीहरूलाई सुविधायुक्त उन्नत बस्ती बनाउन राजी गराउनुपर्छ । बासिन्दाले नै नमाने कुनै पनि प्रयास चरितार्थ हुँदैन । आवश्यक भए बस्ती स्थानान्तरण र विकासका लागि राज्यले कन्जुसी नगरी खर्च गर्नुपर्छ ।

मुस्ताङमा पर्ने कागबेनीमा चाहियो भने अन्तर्राष्ट्रिय सहयोग जुटाउन पनि खासै कठिन नहोला । सरकारको गम्भीरता र सक्रियताको भने यसमा पनि महत्त्वपूर्ण भूमिका हुन्छ । यसैले पहिलेका सरकारहरूजस्तै यो सरकार पनि पुनर्निर्माणमा ‘फेल’ नहोस् ।      

राज्यले बेलैमा चासो नदेखाउने हो भने त्यहाँका जनताले पनि पर्खेर बस्नेछैनन् । अहिलेकै घरहरू मर्मत सम्भारमा जुट्नेछन् । यसै पनि हिमाली क्षेत्रका बासिन्दा अपेक्षाकृत परिश्रमी र जीवट हुन्छन् । त्यसमाथि कागबेनी थकालीहरूको जिल्ला मुस्ताङमा जो पर्छ ।

यता  साता दिनसम्म पनि सरकारका तर्फबाट ‘पुनर्निर्माण’ शब्दसम्म पनि उच्चारण गरिएको सुनिएन ।   यस्तै निस्पृहताले त कागबेनीको समेत पुनर्निर्माणको अवसर गुम्छ । यसैले नेपाल सरकारले नै स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर यथाशीघ्र पुनर्निर्माणमा पहल गर्नु जरुरी छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu