काठमाडौं । गत आइतबार राति हिमाली जिल्ला मुस्ताङको बारागुङ गाउँपालिका–४ कागवेनी बजारमा ठूलो बाढी आयो । काग खोलाबाट आएको बाढीले कागबेनी जलमग्न भयो । बाढीले कागबेनीका ३० भन्दा बढी घरहरुमा क्षति पुर्याउनुका साथै कागबेनी लोमान्थाङ जाने पक्की पुल र काठे पुलसमेत बगायो ।
मुक्तिनाथका स्थानीय बासिन्दाले बाढी आएको खबर बेलैमा कागबेनीमा दिएका थिए । जसले गर्दा मानवीय क्षति हुन दिएन, तर भौतिक क्षति रोक्न सकेन । बाढीले करोडौं रुपैयाँ बराबरको क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भीक अनुमान छ ।
हिमाली क्षेत्रमा यति धेरै पानी पर्छ भन्ने कल्पना पनि गर्न नसकिने जनाउँदै प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाह्रखरीसँग भने, “यो जलवायु परिवर्तनको असर हो । अब हामीले विश्वलाई यो कुरा बताउन र बुझाउन सक्नुपर्छ । अन्यथा झन् ठूलो क्षतिको सामना गर्नुपर्छ ।”
यो जलवायु परिवर्तनको नै असर भन्ने आधार के हो त ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले थप स्पष्ट पारे, “पछिल्लो साता देशका एक–दुई स्थानमा ठूलो वर्षा भएको छ । नत्र देशभर नै यसवर्ष ठूलो वर्षा भएको छैन । वर्षा नहुँदा तराई तथा मधेसका किसानले धान रोप्न पाएका छैनन् । रोपेको धान पनि पानी नहुँदा मर्न लागेको छ । यस्तो बेला एकदमै कम पानी पर्ने हिमाली क्षेत्रमा भने ठूलो वर्षा भएको छ । जसले ठूलो क्षति समेत गरेको छ ।”
बाढीले कागबेनी लोमान्थाङ जाने पक्की र काठे पुल बगाउँदा आवतजावतमा कठिनाइ भएको छ । माथिल्लो मुस्ताङसँगको सम्पर्क टुटेको छ । कागबेनीमा आइतबार राति २५ मिलिमिटर पानी परेको पोखरेलले बताए ।
“कागबेनीमा २५ मिलिमिटर पानी पर्नु भनेको भौगोलिक हिसाबले धेरै ठूलो पानी परेको हो । हिमाली क्षेत्रको माटो कमसल हुन्छ । सानो पानीले पनि बगाउँछ । तर ठूलो वर्षा भएपछि आएको बाढीले कमसल माटो सजिलै बगाएका कारण कागबेनीमा ठूलो क्षति गरेको देखिन्छ,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।
पानी नपरेका कारण तराईका केही जिल्लामा ५० प्रतिशत पनि रोपाईँ हुन नसकेको उनले जनाए । उनकै शब्दमा मधेशका केही जिल्लामा एक प्रकारको खडेरी जस्तै छ । प्राकृतिक रुपमा जहाँ पानी पर्नुपर्थ्यो त्यहाँ परेको छैन, जहाँ पानी कम पर्नुपर्ने हो त्यहाँ बढी परेको छ ।
“जहाँ बढी पानी पर्नुपर्ने हो र चाहिन्छ त्यहाँ पानी परेको छैन । तर नपर्नु पर्ने ठाउँमा अकस्मात ठूलो वर्षा भएको छ । यो जलवायु परिवर्तनले गर्दा भएको हो,” उनले भने ।
अनौठौ वर्षा कागबेनीमा मात्र भएको होइन । यसअघि पनि यस्ता घटना भएका छन् । गत असार २ गते राति संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलाममा पनि यस्तै खालको वर्षा भएको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलको भनाई छ ।
मनसुन राम्रोसँग सुरु हुन नपाउँदै संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलाममा ठूलो वर्षा भएको थियो । वर्षापछि आएको बाढी र पहिरोमा परी ती जिल्लामा ६ जनाको मृत्यु भयो भने २५ जना अझै बेपत्ता छन् । यसवर्ष मनसुन गत जेठ ३१ गतेबाट नेपालमा प्रवेश गरेको थियो । नेपालमा मनसुन पूर्वबाट प्रवेश गर्छ ।
मनसुन देशभर फैलन पनि पाएको थिएन, वर्षाले संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलाममा ठूलो क्षति गरिसकेको थियो । यस्ता घटना कमै हुने गर्छन् । तर जलवायु परिवर्तनका कारण अब यस्ता घटना बारम्बार दोहोरिने डर बढेको छ ।
“असारको पहिलो साता नै बाढी तथा पहिरोले संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलाममा १२ देखि १५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । जलविद्युत क्षेत्रमा मात्र साढे ९ अर्ब रुपैयाँको क्षति भएको छ । मनसुन सुरु भएको पहिलो सातामा यस्तो घटना हुनु भनेको अकल्पनीय नै हो,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए ।
यस्तै अकल्पनीय घटना २०७८ जेठ महिनाको अन्तिम साता भएको थियो । हिमाली जिल्ला मनाङमा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो क्षति गरेको थियो । स्थानीय बासिन्दाले त्यतिबेला त्यस्तो वर्षा आफ््नो जीवनकालमै नदेखेको दाबी गरेका थिए ।
२०७८ सालमा मनाङमा आएको वर्षाले एक अर्ब एक करोड ८३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो । बाढी र पहिरोले सडक, घर, जलविद्युत् गृह, पुलमा ठूलो क्षति गरेको थियो । खासगरी चामे गाउँपालिका र नासो गाउँपालिका बढी प्रभावित भएका थिए ।
बाढी तथा पहिरोले चारवटा पुल बगाएको थियो भने गाउँपालिकाको प्रशासिनक भवनमा समेत क्षति गरेको थियो । बाढी तथा पहिरोले जलविद्युत् आयोजनामा पनि ठूलो क्षति गरेको थियो । यो घटना किन अकल्पनीय थियो भने एक त मनाङ कम पानी पर्ने जिल्लामा पर्छ, अर्को मनसुन नेपालमा पूर्वबाट प्रवेश गरेलगत्तै ठूलो वर्षा भएको थियो ।
मनाङमा वर्षाले त्यतिबेला ठूलो क्षति गर्यो जतिबेला मनसुन देशभर फैलन पाएकै थिएन ।
“पछिल्ला वर्षहरुमा मनाङ, मुस्ताङजस्ता पानी कम पर्ने हिमाली जिल्लामा बढी पानी पर्न थालेको छ । यसले हामी सबैलाई आश्चर्यमा पारेको छ,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।
२०७८ असार १ गते मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढी र पहिरोलाई पनि उनी अकल्पनीय घटनामा राख्छन् । उक्त बाढी र पहिरोका कारण एकै दिन ११ जनाको मृत्यु भएको थियो भने २५ जना बेपत्ता भएका थिए ।
मेलम्ची र हेलम्बु क्षेत्रमा आएको भीषण बाढी र पहिरोले पुल, विद्यालय, पसल, होटेललगायतका संरचनामा अर्बौं रुपैयाँको क्षति गरेको थियो । बाढीले मेलम्ची खानेपानी आयोजनामा समेत ठूलो क्षति गरेको थियो । मेलम्चीमा पनि ठूलो वर्षा त्यतिबेला भएको थियो जति बेला नेपालमा मनसुन भर्खर पूर्वबाट प्रवेश गर्दै थियो ।
नेपालमा मनसुन प्रायः जेठको अन्तिम साता प्रवेश गर्छ । मनसुन देशभर फैलिन नपाउँदै वर्षाले ठूलो क्षति गरेको थियो । माथि प्रस्तुत गरिएका केही प्रतिनिधि घटना मात्र हुन् । यस्ता असमान्य घटनाहरु केही वर्षयता सामान्य हुन थालेका छन् ।
अर्थात् बारम्बार हुन थालेका छन् । यी घटनालाई अन्य बाढी, पहिरो र वर्षाका घटनासँग तुलना गर्न नहुने बुझाई प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलको छ ।
“यी सबै घटना जलवायु परिवर्तनसँग जोडिएका घटना हुन् । अब हामीले विश्वसामु भन्नसक्नु पर्छ– जलवायु परिवर्तनले हामीलाई धेरै असर गरिसक्यो । थप अरु क्षति सहन हामी सक्दैनौं,” उनले भने ।
जलवायु परिवर्तनका असर कम गर्न स्थानीय तहलाई बढी प्रभावकारी बनाउनु पर्ने तर्क उनको छ । यसको लागि आवश्यक बजेट स्थानीय तहलाई उपलब्ध गराउनु पर्ने उनी बताउँछन् । अन्तर्राष्ट्रिय स्तरबाट पनि यस्तो बजेटको जोहो गर्नुपर्ने उनले जनाए ।
“जलवायु परिवर्तन समस्या हो र यसले ठूलो असर गर्छ भनेर राजनीतिज्ञलाई पनि बुझाउन जरुरी छ । उनीहरुले बुझेपछि काम गर्न धेरै सजिलो हुन्छ,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने । जलवायु परिवर्तनका असरहरुका बारेमा अध्ययन गर्न दक्ष जनशक्तिको अभाव महसुस उनले गरेका छन् ।
भन्छन्, “जलवायु परिवर्तनको असर र जोखिम कम गर्न आवश्यक अध्ययनको लागि वैज्ञानिकदेखि प्राविधिज्ञको व्यवस्था तत्काल हुनुपर्छ ।”
सबै जिल्लाहरुमा विपद्का घटनाले क्षति कम गर्ने खालका पूर्वाधार निर्माण गर्नुपर्ने उनको बुझाई छ । बाढी तथा पहिरोले सीधा पुललाईभन्दा आर्क पुलमा कम क्षति गर्ने गरेको अध्ययनले देखाएको छ । आर्क पूलबाट पानीको ठूलो बहाब जानसक्छ ।
विपद्का घटनाले गर्ने ठूलो क्षतिलाई कम गर्न बिमाको व्यवस्था गर्नुपर्ने धारणा उनको छ । सरकारले तयार पारेको ‘मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८०’ मा यस वर्ष मनुसनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।
विगतका तथ्यांकअनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुंगा, ललितपर, नवुाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी छन् ।
यसैगरी बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् ।
तस्बिर : रासस र नेपाली सेना ।