site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद शर्मा पक्राउ पर्दा संसद् सचिवालय र सभामुख बेखबर, प्रहरीले जानकारी गराएन
फाइल तस्बिर।

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. सुनील शर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । नेपाली कांग्रेसको टिकटमा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद् शर्मा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी उजुरीको आधारमा पक्राउ परेको प्रहरी उच्च स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ ।

तर, शर्मा पक्राउ परेको जानकारी प्रहरीले सभामुख र संसद् सचिवालयलाई दिएको छैन । सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले दिएको जानकारीअनुसार हालसम्म सभामुख र सचिवालयलाई सांसद शर्मा पक्राउ परेको विषयमा कुनै सूचना आएको छैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“योबारेमा सभामुखलाई थाहा छैन र कुनै सूचना पनि आएको छैन,” अधिकारीले बाह्रखरीसँग भने ।

संविधानको धारा १०३ को उपधारा ६ मा संसद्को अधिवेशन जारी रहँदा सांसद पक्राउ गर्नुपरे सभामुख वा संसद् सचिवालयलाई जानकारी गराउनुपर्ने हुन्छ ।

“संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ,” संविधानमा लेखिएको छ ।

तर, प्रहरीले हालसम्म उनी पक्राउ परेको सूचना संसद् सचिवालय र सभामुखलाई दिएको छैन ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्