site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
चौतर्फी अराजक दुश्चक्र

देश दुश्चक्रको भुमरीमा पर्ने जोखिम प्रतिदिन बढेको छ । दुश्चक्रको पारो बढ्दै, चढ्दै छ । बेथिति, अराजकता र सामाजिक विशृङ्खलताले ल्याउने परिणाम दुश्चक्र हो जहाँ असल पक्ष कमजोर र नकारात्मक भाव प्रकृति बलशाली हुँदैजान्छ । यही हो दुश्चक्र । यस्तैलाई भन्छन् - अराजकता ।

राजनीतिक बेथिति, नीतिगत मनपरी, मूल्यहीन अर्थतन्त्र, विशृङ्खल सामाजिक प्रदूषण निरन्तर जारी रहनु वा बढ्दै जानु नेपालको नियति भएको छ । यो नियति अहिलेको मात्रै होइन वर्षौँवर्षको संक्रमण हो ।

राजनीतिक अराजकता । बेठेगान छ राजनीति । भनिन्छ देशमा संवैधानिक संघीय लोकतान्त्रिक गणतन्त्र छ । जनता सार्वभौम अधिकार सम्पन्न भएका छन् । तर, के अहिले यिनै मूल्यमान्यताले देशको राजनीतिक कर्म चले चलाइएको छ ? जनता कति शक्तिशाली छन् ? वा जनताको नाममा शासन सत्तामा पुग्नेहरूको मनपरी चलेको छ ?

Dabur Nepal
NIC Asia

संसद् बन्दी छ । ‘सरकार किं कर्तव्य विमूढ ’ को नाटक गर्दै छ । तानाशाही शैलीमा जनता, नागरिकको मुख थुनिएको छ । नागरिक मुखरित हुने मुलुकको सर्वोच्च ठाउँ मानिने संसद् कहाँ छ ? त्यसले के काम गर्न पाएको छ ? कुनै दलको लहडमा बन्दी, निष्प्रभावी र निरुत्तरित बनाइएको हो–संसद्, सांसद्लाई ? यही हो लोकतन्त्र ? कम्युनिस्ट एमालेले के यस्तै राजनीतिलाई भन्ने गरेको हो – ‘जबज ?’

नेपालमा जति राजनीतिक नाराको भाउँतो अन्यत्र बिरलै होला ? कोही खाँटी कम्युनिस्ट छन् । कोही लोकतान्त्रिक कम्युनिस्ट रे ! जबजवादीहरू पनि । कोही अधिनायकवादी कम्युनिस्ट । केही छन् वर्गीय अधिनायकवादको धङधङी बोकेका तानाशाहीका ‘पोर्टर, इम्पोर्टर ।’ कोही प्रजातन्त्रवादी,कोही लोकतन्त्र भन्न रुचाउने नयाँ तर धेरै ‘खरानी घसुवा’ पनि भरमार छन् । नेपाली राजनीतिमा भरपर्दो सम्बल कुन वा के हो ? हामीले खोजेको र रोजेको त लोकतन्त्र हो । तर  के भइरहेछ ?

कोही समाजवादी । कोही वैज्ञानिक समाजवादी भन्न रुचाउने पुरातनपन्थी अर्थात् दलीय तानाशाही केन्द्रित समाजवाद । राजनीतिक दर्शनले कथित कम्युनिस्ट अधिनायकवाद । कोही प्रजातान्त्रिक वा लोकतान्त्रिक समाजवादी । बहुरूपी समाजवादीको थलो हो नेपाली राजनीति । संविधान भन्छ– ‘लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद ।’ तर सबैले आआफ्नो व्यापार विज्ञापनका डम्फु बनाएका छन् - समाजवादलाई । नारा लगाउने तर सम्पन्नता र समानताको मार्गमा हिँड्न तयार नहुने !

कोही राजतन्त्रवादी रे जहानियाँ वंश सत्ताका पुजारी । अठारौँ शताब्दीअघिको दासत्व सपना देख्नेहरू । कोही छन् – न विचारको ठेगाना पहिल्याएका, न व्यवहारको पहिचान बनाएका । गन्तव्यहीन, घर न घाटकाले कता पुर्‍याउन सक्छन् मुलुकलाई ? त्यस्ताले के देलान् जनता जनार्दनलाई ? सबै कुराले फुक्काफाल–गफ, गफाडीको जमात पनि आएको छ राजनीतिमा ।

लहैलहैमा बग्ने जनता जनार्दन । हुने नै भयो त राजनीतिक कमाल ? बहुरूपी र रंगीचंगी राजनीतिक कोलाहल । लहैलहैमा बग्नेहरूको झन् हुनै नै हो बेहाल । विवेकको उज्यालो खोज्न नसक्ने वा नजान्नेहरू हुने नै भए कुहिराको काग । राजनीति यस्तै, हामी जनता त्यस्तै, देशमा हुन्छ त के ? के राख्ने अपेक्षा ? 

यो निराशा होइन । स्थिति बोध हो । निराशा माथिको थप कुरा अलि पछि - तल । अब अर्थनीति, अर्थतन्त्र । संक्षिप्तमा लेख्दा – भद्रगोल अर्थ(नीति र तन्त्र) । पुंजीवादी हो कि समाजवादी ? उदार( पुँजीवादी ) अर्थतन्त्र कि ? कथित राष्ट्रिय अर्थतन्त्र ? निजी क्षेत्रलाई उत्साहित या निरुत्साहित गर्ने कस्तो अर्थनीति ? वा दुरुत्साहित गर्ने अर्थतन्त्र हो कि ? के हो अहिलेको अर्थनीति ? सरकारी, निजी, सहकारी मिल्ने तीन खुट्टे अर्थनीति हो कि ? भुइँफुट्टे अर्थतन्त्र ? देशको अहिलेको अर्थनीतिको आधार के हो ?

प्रतिदिन आधा दर्जनजति शवमाथि टिकेको विप्रेषणले धानिनु छ देश । कैयौं परिवार भत्किएका छन्, मीठो खाने , राम्रो लगाउने र धेरै पढ्ने लालसाका कति लालाबालको बिचल्लीसमेत भएको छ । सामाजिक विशृङ्खलता बढेको छ । मौलिक, सांस्कृतिक चिन्तन र पहिचानमा बाढी पसेको छ । कहाँ छ नेपाल ? माटो हो कि मान्छे नेपाल ? कवि माधव घिमिरेलाई यसरी उल्ट्याउँ – ‘नेपाली हामी नरहे कहाँ रहन्छ नेपाल ?’

हामी राजनीतिमा कहाँ ? अर्थ नीतिमा कहाँ ? बेठेगान, बेनाम र बेपहिचान ? यिनै स्रोतले गाइड (निर्देशित) गर्ने समाज वा सामाजिक नीति, सांस्कृतिक नीति, मौलिक नीति, भौगोलिक नीतिको के कुरा गर्नु ? नीति जति सबै कुहिराको काग । बाँकी व्यवहारको के ठेगान ? नीति निसृत बाटो नबन्दाको हिँडाइ विशृङखल हुने नै हो । देशको होस् कि, समाजको वा व्यक्तिकै पनि ।

आर्थिक भ्रष्टाचारको सीमा छैन । सफाइ गर्न अब त सम्भव पनि छैन कि जस्तो ‘पहाड’ देखिँदै छ । नीतिगत भ्रष्टाचारको जगमा मौलाएको आर्थिक भ्रष्टाचारलाई सरकार, केही दल र ठूला व्यवसायीको सुरक्षा कवच प्राप्त रहेछ । अहिले संसद्लाई बन्दी बनाइनु ‘मिलिजुली खानेहरूको’ भ्रष्टाचार लुकाउने मिलीभगत कृत्य हो ।

राज्यका कुनै निकाय र तहप्रति नागरिकको विश्वास, भरोसा र सम्मान छैन । राज्ययन्त्रहरूलाई  अविश्वसनीय बनाइएको छ, ती देखावटी हुनपुगेका छन् । न सरकारको सम्मान र भरोसा छ न त सरकारी संरचना र तिनमा पदासीनहरूकै विश्वास र भरोसा रह्यो । कहाँ छौँ हामी जीवन्त ? भनिने नागरिक समाज पनि थला बसेका छन् ।

निराशा, आक्रोश र विद्रोहजन्य देशको विद्यमान स्थितिप्रति जनता भने निराश बन्नु हुँदैन । लेख्नसक्नेले लेखेर र बोल्न जान्नेले बोलेर यावत् विकृतिविरुद्ध जेहाद छेड्नै पर्छ । विद्रोह गर्नैपर्छ । शनैःशनै असल परिवर्तनतिर मुलुकलाई नागरिकले नै डोहोर्‍याउनुपर्ने दायित्व थपिएको छ । दुनियाँको रीत पनि यही हो ।

सरकार त असफल । दलहरू बेइमान र गलत कर्मलाई दुरुत्साहन गर्ने अखडाजस्ता । राज्य संयन्त्र अविश्वसनीय र कमजोर । बेठेगान राजनीति, बेठेगान अर्थनीति ? यस्तो तस्बिर मुलुक चौतर्फी दुश्चक्रमा फस्दै गरेको दृश्य हो । दलहरू सुध्रिने अवसर पनि छ । जनता जागरूक हुने वाध्यता आयो । जनता सही बाटो लागे मुलुकको दुश्चक्र छाँट्न, छाँटिन सक्ला ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro