site stats
बाह्रखरी :: Baahrakhari
देश
देशका अधिकांश भू–भागमा वर्षा, अझै केही दिन पानी पर्ने 
फाइल तस्बिर

काठमाडौं । देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गएरातिदेखि नै देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

“गएरातिदेखि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । मधेस, वाग्मती र लुम्बिनी प्रदेशमा विशेषगरी धेरै वर्षा भइरहेको छ । यी स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि भएको छ,” मौसमविद् वरुण पौडेलले बाह्रखरीसँग भने । 

आज दिनभर वर्षाको सम्भावना रहेको छ । यद्यपि, केही भू–भागमा केही समय रोकिए पनि पुनः वर्षा हुनेछ । “आज र भोलि देशभर वर्षा हुने देखिएको छ,” उनले भने, “मनसुन सक्रिय भएको छ, त्यसैले वर्षाको गतिविधि पनि बढेको छ । यो क्रम अझै केही दिन रहनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारी र अति भारी वर्षा भइरहेको र यो क्रम अझै केही दिन रहने भएकाले नदी तथा खोलामा बाढी आउने, भिरालो भू–भागमा पहिरो जाने सम्भावना भएकाले सतर्क रहनु पर्ने उनले बताए । नदी तटीय क्षेत्रमा बस्नेले विशेषगरी सतर्क हुनुपर्नेमा उनको जोड छ । 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाली आकाशमा) रहेकाले मनसुनको गतिविधि बढेको हो । न्यूनचापीय रेखा नेपालमा रहेसम्म यहाँका धेरै स्थानमा भारी वर्षा हुने मौसमविद् गोविन्द झाको भनाइ छ ।

“मनसुनको न्यूनचापीय रेखा नेपालमा रहेसम्म यहाँ हल्कादेखि भारी वर्षा हुन्छ,” उनले भने, “मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा माथि रहनु भनेको नेपालका भू–भागमा धेरै वर्षा हुनु हो । यो अवस्था रहेसम्म बदली र वर्षाको क्रम जारी रहनेछ ।”

यी हुन् आज भारी र अति भारी वर्षा हुने भू–भाग, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह, यातायात सेवा प्रभावित हुनसक्ने 

केही दिनदेखि देशभर वर्षा भइरहेको मौसमविद् झाले जानकारी दिए । तराई र चुरे पहाडको आसपास अहिले तुलनात्मक रूपमा भारी वर्षा भइरहेको र हुने उनको भनाइ छ ।

“पहाडी र तराई भू–भागमा बढी वर्षा हुन्छ । हिमाली भू–भागमा भने केही कम वर्षा हुनेछ,” मौसमविद् झाले भने, “मनसुनको न्यूनचापीय रेखा नेपाल आउँदा विशेष गरी महाभारत रेन्जबाट तल धेरै वर्षा हुन्छ ।”

हिमालमा कम वर्षा हुनुको कारण पानी पार्ने जलवाष्पयुक्त वायु त्यहाँ पुग्दासम्म घट्नु भएको उनले बताए । “हिमालमा पुग्दासम्म वायुमा हुने पानीको मात्रा घट्छ । बंगालबाट आएको जलवाष्पयुक्त वायु महाभारत रेन्जको दक्षिण क्षेत्रका पहाडमा ठोक्किन्छ र त्यो भू–भागमा वर्षा हुन्छ,” उनले भने, “त्यसको अर्कोतर्फ अर्थात् महाभारत रेन्जको पारि तुलनात्मक रूपमा कम वर्षा हुन्छ ।”

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्