site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
एमालेको संसद् अवरोधी चरित्र

प्रजातान्त्रिक अभ्यासको 'अनुभवी' पगरी दिइएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) जहिले पनि संसद् बैठक अवरुद्ध गर्न उत्ताउलिएको देखिन्छ । एमालेको यस्तो उत्ताउलो गतिविधिको लामै फेहरिस्त छ ।

नेपाली राजनीतिमा धेरै उतारचढाव आए । एमालेको शक्ति, संगठन र संरचनामा पनि निकै फेरबदल भइसक्यो । 'जबज'का उद्घोषक मदन भण्डारी नेपाल सरकार बनेको १९ दिनमै त्यो सरकार हटाउने आन्दोलनका प्रणेताबाट दीक्षित न हुन् अहिलेको एमालेका नेता, कार्यकर्ता ! 

मालेबाट एमाले बन्यो । महासचिव फेरिए । यही पार्टीमा माधव नेपाल पनि महासचिव भए । महासचिवभन्दा माथि अध्यक्ष थपियो, पदोन्नति गरियो । एमाले माओवादीसँग मिसिएर नेकपा (नेकपा( पनि भयो । 

पुनः एमाले नै बन्यो, बनाइयो । प्रवृत्ति भने उही '‘पुनर्मुसिको भवः' कै थैलो काट्ने प्रकारले निरन्तर रह्यो । अर्थात् अध्यक्ष केपीशर्मा ओलीको पालामा संसद् बैठक अवरोध गर्ने प्रवृत्तिलाई झन् बढी जब्बर बनाएर उक्साइयो । किन ? 

जारी बर्खे अधिवेशन (दोस्रो निर्वाचनपछिको संसद्को दोस्रो) बैठकलाई एमालेले झन्डै आधा दर्जनपटक अवरोध गरिसकेको छ । बेल घेरेको छ । बैठक हुनै नसक्ने वातावरण बनाएर सभामुखलाई सूचना टाँस गरी बैठक स्थगित गर्न पटकपटक लगाएको छ । कारण के ? 

जतिबेला माधव नेपाल यसै पार्टीका महासचिव थिए उति बेला पनि ५७ दिनसम्म संसद् बैठक अवरुद्ध गरियो । अर्थात्, एमालेले जन अभिव्यक्तिको थलो अवरुद्ध सधैँ गरेको छ । परिणाम, हिंसात्मक द्वन्द्व र निरुङ्कुश राजतन्त्रलाई दुरुत्साहन हुने मलजल भयो । 

त्यतिबेलाको अवरोधी कदमप्रति आलोचना गर्दै यतिबेलाका एमालेका महासचिव शंकर पोखरेलले 'दृष्टि' साप्ताहिकमा लामै विचार व्यक्त गरेका थिए । अहिले चाहिँ उनी सुनिदैनन् । 

अध्यक्ष ओलीको अघिल्तिर ‘गरुड’को छायाँमा परेका साँपजस्ता पो छन् पोखरेल । पार्टीभित्रकै प्रतिद्वन्द्विताको परिणाम पनि होला जित्नुपर्ने संसदीय चुनाव उनले हारे । संसद्मा नभएकै कारण उनको वाणी अवरुद्ध भएको भने होइन । उनी शंकर पोखरेल एमालेका महासचिव छन् ।     

प्रकृतिले धेरै काचुली फेरिसक्यो । संस्कारमा परिवर्तन भयो । असल संस्कारको अभ्यास पनि अगाडि बढेकै छ, बढाउनेहरू छन् । तर, एमाले चाहिँ नेपाली राजनीतिमा उस्ताको उस्तैमात्रै होइन, झन्झन् पछाडि हिँड्न खोज्दै छ ।  मनमोहन अधिकारीको पनि बिरासत बोकेको एमालेमा अब शालीन, प्रगतिशील कोही बाँकी छैनन् ?

संसदीय, बहुदलीय, लोकतान्त्रिक राजनीतिक पद्धति र प्रणालीको विकल्प छन् । तर, के ती विकल्प जनअनुमोदिन स्वतन्त्र लोकतान्त्रिक पद्धति र प्रणालीभन्दा राम्रो वा जनपक्षीय प्रमाणित हुनसकेका छन् ? 

शासकीय विकल्पमा एक दलीय वा निर्दलीय तानाशाही अधिनायकत्व । अर्को कुनै वंशीय अधिनायकत्वको शासन । कम्युनिस्ट, सैनिक वा धार्मिक तानाशाही । विश्वमा लोकतन्त्रको विकल्पमा देखिएका वा चलाइएका शासन प्रणाली यिनै होइनन् ? यस्ता केही तानाशाही सत्ताको भोक्ता नेपाल आफैँ पनि हो । एमालेक '‘च्वाइस' कुन चाहिँ हो ?  

अर्को संवेदनशील भूराजनीतिको कारण नेपालमा कुनै तानाशाही शासन सत्ता लामो अवधि जानसक्छ ? त्यस्तो सत्ताले मुलुकको अस्तित्वको अक्षुण्ण एवं सबल संरक्षण गर्नसक्ला ? संसदीय प्रणालीलाई दुरुपयोग, उपयोग वा प्रयोग गर्नेहरूले नै यस प्रणालीलाई कमजोर र बदनाम गरेका छन् । 

आफ्नो नियत, प्रवृत्ति र संस्कारमा सुधार गर्नुको सट्टा एवं इमानको राजनीति गर्नुको सट्टा संसदीय, लोकतान्त्रिक प्रणालीमाथि दोष थोपरेर आफ्नो नालायकी लुकाउने नेपाली राजनीतिमा प्रशस्तै ऐजेरु छन् । जननिर्वाचित लोकतान्त्रिक संसद् हुदैन भन्दै प्रत्यक्ष निर्वाचित एकाधिकार प्राप्त प्रमुख कार्यकारी ल्याउनुपर्छ भन्ने 'प्रतिगामी' पनि छन् । शक्ति पृथकीकरण, राजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई शत्रु मान्ने दर्शनार्थीहरू प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा मुखरित छन् । यिनका प्रायोजक को र के हुन् ? 

यो संक्षिप्त राजनीतिको पृष्ठभूमिको बखान एमालेलाई के गर्न खोजेको हो  भन्ने सोध्न हो । उसले बारम्बार संसद् बैठक बस्न नदिनुको कुनै रहस्य छ कि ? जननिर्वाचित संसदीय, लोकतान्त्रिक पद्धतिप्रति प्रहार हो कि ? त्यसो भए वा जुन लक्षण देखिएको छ त्यसले राजतन्त्र वा कम्युनिस्ट अधिनायकवादको गोप्य मन्त्रणाको लागि पो एमाले कृत्य सञ्चालित छ कि ? यस्तो प्रश्न उब्जिएको छ । 

घर झगडा (पार्टीभित्र) भए पनि एमाले दलले संसद् बैठक अवरुद्ध गर्ने र चारैतिरको ध्यान अन्यत्र मोड्ने कृत्यको नेतृत्व गर्दैछ । यो बैठक सुरु हुनुअघि केही दिन सरकारी सत्ता भोगेको अहिलेको प्रमुख प्रतिपक्षी एमाले कहिले कुनै मन्त्रीको राजीनामा माग्छ र संसद् बैठक रोकेर आफ्नै पिठ्युँ थपथपाउँ छ । 

पृतम सिंहबारे बोल्दा चिप्लिएका प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्न पनि हप्तौँ संसद् नै चल्न दिएन । पशुपतिनाथको जलहरी काण्डलाई लिएर पनि एमालेले संसद् नै अवरुद्ध गरेको थियो । अहिले सुरु भएको भ्रष्टाचार छानबिनमा पनि क्रान्तिकारी नारा दिएर संसद्माथि नै प्रहार गर्दैछ । बैठक रोकिरहेको छ । एमाले प्रायोजित यी अवरोध प्रतिनिधि उद्धरणमात्र हुन् ।  

सुन्दा जनता झुक्याउने राम्रा नारा दिएर बारम्बार एमालेले संसद् बैठक अवरुद्ध गरेको छ । तर, लोकतान्त्रिक प्रक्रिया यही कारण अवरुद्ध भएको पनि छ । यही संसद्को (दोस्रो) चुनावपछि भएका भनिएका भ्रष्टाचारका दर्जनौ घटना चर्चामा छन्, थिए । तिनको समेत छानबिनको माग संसद्बाटै गर्नुपर्ने प्रतिपक्ष एमाले उल्टै त्यही संसद्को मुख थुन्न निरन्तर उद्यत छ । किन ? 

नारा चाहिँ सुन्दा राम्रो लाग्ने 'संसदीय छानबिन समिति'को माग तगारो तेर्स्याएको छ । यही माग त्यस्तो तगारो हो जसले संसद् बैठकसमेत कुनै पनि भ्रष्ट कृत्यको छानबिन गर्न व्यवधान खडा गरेको छ । जनता मुखरित हुन पाउने अवसर रोकेको छ । रहस्य के हो ? 

संसद् जननिर्वाचित संस्था हो । त्यहाँ जनताको आबाज मुखरित हुनुपर्ने थियो । यहाँ त दलको स्वार्थी तानाशाही लाद्ने वा भ्रष्ट कृत्य छोप्ने उद्देश्यले बैठक नै अवरुद्ध गर्ने विकृति मौलाएको छ र त्यसको नेतृत्व नेकपा (एमाले)ले नै गरेको प्रमाणित भएको छ । कोरोना कालमा एउटा प्रश्न निकै चर्चित भयो –'कात्रोमा पनि भ्रष्टाचार गर्ने ?' त्यतिबेला को थियो सरकारमा ? 

संसद् बैठक अवरुद्ध गर्नु जनताको आवश्यकता, माग र आवाजलाई समेत व्यक्त हुन नदिनु हो । यसको उद्देश्य जनआवाज कुण्ठित गर्नु हो । लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने र बदनाम गर्ने चालबाजी हो । विरोधका लागि अरू कुनै उपाय बाँकी नभएमात्र संसद् बैठक अवरुद्ध गर्न सुहाउँछ । अन्तिम हतियार जतिबेला पनि लहडमा चलाउनेबाट देशले के पाउला ? 

अध्यक्ष केपी शर्मा ओलीको सत्ताच्युतजन्य कुण्ठा र आक्रोशले नेकपा (एमाले) ग्रस्त देखिँदै, सुनिदै छ । उनको तहको नेता यस्तो नभइदिऊन् भन्ने जनअपेक्षा र सदिच्छा हो । देश, प्रणाली र प्रवृत्तिले जिम्मेवार नेता खोजेको स्पष्टै छ । यति कुरा बुझ्न नसक्ने त उनी पक्कै होइनन् । एउटा उद्धरणबाट यी पंक्ति टुंग्याऊँ ! 

कान्तिपुर दैनिकमा केपी शर्मा ओलीको लेख छापिने गरेको छ । पछिल्लो अंकमा उनले  'बिरामी आफू उपचारको लागि जाँदा कतिले मरे हुने कामना गरे’ भनेका छन् । तर, हजारौंले सुस्वास्थ्यको र शीघ्र सञ्चो होस् भन्ने कामना पनि त गरे होलान् । उनले कतै त्यो लेखेका, सम्झेका छैनन् । यो पंक्तिमा व्यक्त उनको मनोभावको 'द्वेष' नेपाली राजनीतिमा पनि उनी विम्बित पार्दैछन् कि ? यसैको प्रतिच्छाया संसद् बैठकमा समेत पारिएको हो कि ? उत्तर त उनीसँगै होला ।                         
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro