
काठमाडौं । उरुग्वेका रक्षक डियागो गोडिनले फुटबलबाट सन्यास लिएका छन् । आइतबार भेलेज सार्सफिल्ड र हुराकानबीच भएको अर्जेन्टिनी लिगको जारी सिजनको अन्तिम खेलसँगै गोडिनले फुटबलबाट सन्यास लिएका हुन् ।
एट्लेटिको मड्रिडका पूर्व–कप्तान गोडिनले व्यावसायिक करियरमा ६२७ खेल खेले । यसक्रममा उनले ३८ गोल गर्दा १० उपाधि जिते । उनले एट्लेटिको मड्रिडबाट दुई युरोपियन लिग र तीन यूईएफए सुपर कपको उपाधि जितेका थिए ।
“म मेरो निर्णय यसरी नै गर्न चाहन्थेँ । स्वस्थ नै रहेर पनि यो निर्णय गर्नु केही अच्चमित होला । तर, मैले यसबारे केही समयदेखि सोचिरहेको थिएँ,” ३७ वर्षीय गोडिनले एक अर्जेन्टिनी टेलिभिजनलाई भने, “अब मेरो अरु केही प्राथमिकता छन् । मेरो परिवार उरुग्वेमा छ र म भर्खरैमात्र बुवा बनेको छु । म आराम गर्दै अरु कुराहरुमा रमाउन चाहन्छु । र, म सधैँ मैदानमा राम्रो छविसहित बिदा हुन चाहन्थेँ ।”
गोडिनले सन् २००३ देखि उरुग्वेको क्लब सीए केरोबाट करियरको सुरुआत गरेका थिए । उनी सन् २००६ मा नासिओनलबाट खेल्न पुगे र त्यसको अर्को सिजन स्पेनिस क्लब भियारियालमा आइपुगे ।
गोडिन सन् २०१० मा एट्लेटिकोमा अनुबन्धित भएका थिए । जहाँ उनले नौ सिजन बिताउँदा क्लबको कप्तानी पनि सम्हाल्ने अवसर पाए । उनी सन् २०२२ को बीचमा अर्जेन्टिनी क्लब भेलेजमा आएका थिए ।
गोडिनले उरुग्वेबाट चार विश्वकपमा प्रतिनिधित्व गरेका थिए । उरुग्वेबाट १६१ क्याप जितेका गोडिन उरुग्वेले सन् २०११ को कोपा अमेरिका जित्दा टिमको प्रमुख सदस्य थिए ।