
काठमाडाैं । कच्चा तेलको मूल्य यो वर्ष ब्यारेलको ७० डलर हारहारीमा रहने प्रक्षेपण गरिएको छ । मध्यपूर्वमा बढ्दो तनावका बावजुद पर्याप्त आपूर्ति र मागबारेमा अनिश्चितताका बीच कच्चा तेलको मूल्य सन् २०२५ को बाँकी समय प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा कम रहने पूर्वानुमान सार्वजनिक गरिएको छ ।
मध्यपूर्वका हटस्पटहरूमा र वरपर आपूर्ति अवरोधहरू नभएसम्म तेलको मूल्य कम हुने लगानी बैंकहरूको भनाइ छ ।
ओपेक प्लस समूहबाट बढ्दो आपूर्ति दैनिक चार लाख ११ हजार ब्यारेलको मासिक शीर्षक आंकडा जत्तिकै उच्च छैन । गर्मीमा माग बलियो रहे पनि शरद ऋतुमा बजारमा अत्यधिक आपूर्ति सिर्जना हुने अनुमान गरिएको छ ।
गर्मीले उच्च आपूर्ति हुनसक्ने तर लामो समयदेखि चलिरहेको व्यापार र आर्थिक अनिश्चितताहरूले मूल्यहरूलाई असर पार्नसक्छ । फलस्वरूप धेरैजसो विश्लेषकहरूले तेलको मूल्य यो वर्ष ब्यारेलको न्यूनतम ६० देखि ७० डलरभन्दा तल रहने अनुमान विश्लेषकहरूको छ ।
“हाल तेलको सामान्य मूल्य ७० डलर हारहारीमा हुनेछ । तर, बजारको अत्यधिक आपूर्तिले ६० डलर हारहारीमा राख्ने देखिएको छ”, टर्टोइज क्यापिटलका वरिष्ठ पोर्टफोलियो प्रबन्धक रोब थमेलले यस हप्ता बीएनएन ब्लुमबर्गलाई भनेका छन् ।
तेलको मूल्य हामीले सोचेको ७० डलरको सामान्य मूल्यमा फर्कन बजारलाई साँच्चै सन्तुलित गर्न आवश्यक भएको उनको तर्क छ ।
“यसको अर्थ अन्य स्थानहरूमा तेल उत्पादन घट्नेछ अथवा प्रभावकारी रूपमा वर्षको दोस्रो आधामा मानिसहरूले अपेक्षा गरेको भन्दा बढी तेलको माग बढ्ने सम्भावना छ”, स्याक्सो बैंकका कमोडिटी रणनीति प्रमुख ओले हान्सेनले भने ।
उनका अनुसार बढ्दो उत्पादन र आर्थिक वृद्धिको चिन्ताबीचमा कच्चा तेलले वर्षको दोस्रो सत्रमा प्रतिकूल परिस्थितिको सामना गर्न सक्छ ।
ओपेक प्लसले अत्यधिक उत्पादन गर्ने कोटामा ठगी गर्नेहरूलाई दण्डित गर्ने र उच्चलागतका उत्पादकहरूबाट बजार हिस्सा पुनः प्राप्त गर्ने प्रयासमा उत्पादन बढाउने प्रयास जारी राखेको छ । जसले अन्ततः कम मूल्य हुने अपेक्षाका बीचमा उत्पादन घटाउनुपर्ने हुनसक्ने हान्सेनले साप्ताहिक कमोडिटी टिप्पणीमा भनेका छन् ।
द वाल स्ट्रिट जर्नलको जुन सर्वेक्षणअनुसार गोल्डम्यान स्याक्स, मोर्गन स्टेनली र जेपी मोर्गनलगायत प्रमुख लगानी बैंकहरूले यस वर्ष ब्रेन्ट क्रुडको मूल्य औसतमा ब्यारेलको ६६.३२ र डब्ल्युटीआई क्रुडको औसतमा ६३.०३ हुने अपेक्षा गरेका छन् ।
जुनमा प्रतिक्रियाहरू मे महिनाको सर्वेक्षणको तुलनामा थोरै बढी थिए । तर, विश्लेषकहरूले आधारभूत कुराहरूलाई मूल्य निर्धारणको लागि प्रमुख रूपमा हेरिरहेका छन् । अहिले यी आधारभूत कुराहरूले अमेरिकी भन्सार नीतिहरूसँग अनिश्चित आर्थिक सम्भावनाहरूको बीचमा अत्यधिक आपूर्तिलाई औंल्याउँछन् ।
जुनमा रोयटर्स सर्वेक्षणले पनि मूल्य पूर्वानुमानमा थोरै वृद्धि देखाएको छ । सन् २०२५ मा ब्रेन्टको औसत मूल्य प्रतिब्यारेल ६७.८६ हुने देखिएको छ । मे महिनामा अपेक्षित ६६.९८ प्रतिब्यारेलबाट बढेको छ । डब्ल्यूटीको औसत ६४.५१ हुने अपेक्षा गरिएको छ । मे महिनामा प्रति ब्यारेल ६३.३५ बाट बढेको छ ।
यदि, गर्मीमा माग निराशाजनक भएमा अत्यधिक आपूर्तिले बजारलाई ओझेलमा पार्छ भने ओपेकले उत्पादन वृद्धि रोकेर मूल्यहरू तल राख्न प्रयास गर्ने सम्भावना छ ।
जुलाई ९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारस्परिक करहरूमा लगाएको ९० दिनको समय अन्त्य भएकाले अर्को हप्ताले विश्वव्यापी अर्थतन्त्र र तेलको मागमा केही अनिश्चितता हटाउनसक्ने विश्लेषकहरूले बताएका छन् ।
रुस–युक्रन युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर ब्यारेलको १४० डलरसमम पुगेको थियो । बढ्दो तेलको भाउले विश्वबजारमा महंगीसमेत बढाएको थियो ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ब्यारेलको ६५ देखि ६९ डलरको हारहारीमा छ । इरान र इजरायबीचको युद्धले कच्चा तेलको मूल्य बढेर ब्यारेलको ८० डलर पुगेको थियो ।