
काठमाडौं । नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कांस्यसहित टिम उपविजेता भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए ।
महिला ६८ केजीमाथि कराते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए । प्रदीप बैजाली मगरले यू–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान एक स्वर्ण तथा टिम कुमुतेमा रजत जिते ।
नेपालमा भएको सातौँ संस्करण र भुटानमा भएको आठौँ संस्करणमा भने नेपाल टिम च्याम्पियन बनेको थियो । श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगतामा भारत टिम च्याम्पियन बन्यो ।
भारतले २३ स्वर्ण, २४ रजत र १२ कांस्य जित्यो । तेस्रो स्थानको श्रीलंकाले १६ स्वर्ण, २० रजत र २३ कांस्य हात पार्यो । तीन स्वर्ण, सात रजत र १४ कांस्य जितेको बंगलादेश चौथो भयो । कुल ६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान एक रजत र सात कांस्यसाथ पाँचौँ र एक रजत र एक कांस्यसाथ भुटान छैटौँ भए ।