site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
जिल्ला सभामा ‘कमिसन काण्ड’ र ‘सुन काण्ड’मा राजीनामा माग 

भ्रष्टाचारका केही घटनामा प्रहरीले अनुसन्धान थालेपछि दुईचार दिन ताली पाएका गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगै अर्थमन्त्री प्रकाशशरण महतले समेत ‘सुन तस्करी’का मामिलामा भने अहिले गाली खान थालेका छन् । हिन्दी सिनेमामा बेलाबेला देखिने 'बर्ना उठ जाएँगे' वाला दृश्य र संवाद सम्झाउने गरी नेकपा (एमाले)ले फेरि राजीनामा मागेर संसद् बन्द गर्न थालेको छ । यसपटक विपक्षी एमालेले त गृहमन्त्रीको राजीनामा मागेको थियो सत्तारुढ नेपाली कांग्रेसका एक नेताले त अर्थमन्त्रीको समेत मागि दिएछन् । एमाले नेताहरूअनुसार यति ठूलो तस्करी गृहमन्त्रीको मिलेमतोबिना हुनै सक्तैन । 

एमालेकै नेताले भनेपछि पत्याउन पर्ने कारण पनि छ । किनभने उनीहरू यस मामिलाका मर्मज्ञ हुन् । आफ्नो नेता गृहमन्त्री हुँदा सुन तस्करी चरममा पुगेको घोषणा एमाले नेताले टुँडिखेलमै गरेका थिए ।  तिनको दाबी पुष्टि गर्ने प्रमाण पनि थियो । परी थापा नेतृत्वको संसदीय समितिले दिएको प्रतिवेदन । पछि टुँडीखेलमा ‘भ्रष्ट’ घोषणा गरिएका नेता एमालेमै फर्केर फेरि गृहमन्त्री बने भने घोषणा गर्ने नेता चाहिँ मन्त्रीकै सल्लाहकार । यो अलि हजम नहुने भए पनि भएकै कुरा हो । यस्तो ‘ऋषि मन’ अन्त कहाँ पाइएला र !

जेहोस्, यसको मर्मको पारख मर्मज्ञहरूले नै गरून् । हामी जनताका लागि त 'के हो मैना ? के हो के हो?'

Dabur Nepal
NIC Asia

अर्थमन्त्री महतले कांग्रेसका सासद रिसाउनुको कारण पनि खोलेका छन् । ती सांसद स्वास्थ्य व्यवसायी हुन् रे । बिमाको रकम मागेका र नपाएपछि रिएका हुन् रे ! हो होइन उनै जानून् ! दलका नेताको जुँगाको लडाइँमा धेरै टाउको किन दुखाउनु ? । संसद् चले पनि के नै पो हुन्छ र ? बरु, मैले ४० वर्ष पहिलेको एउटा घटना सम्झेँ । 

‘कमिसन' खातामा जम्मा गर्दा उल्टै खप्की

नेपाली कांग्रेस समर्थक हाम्रो समूहले २०३९ सालको स्थानीय चुनावमा तनहुँ जिल्ला पञ्चायतमा १७ मध्ये १० स्थानमा जित्यो । के के न गरौँला भन्ने उत्साह थियो । चुनावमा भ्रष्टाचारविरोधी नारा दिएकाले अगिल्लो जिल्ला पञ्चायतले भन्दा बेग्लै गर्ने दबाब पनि थियो । निर्वाचन लगत्तै भएको जिल्ला सभामा दमौलीको ‘कुख्यात घडेरी काण्ड’मा चर्कै बहस पनि भयो । 

जिल्ला पञ्चायतमा २० लाख वार्षिक अनुदान जान्थ्यो सरकारबाट । त्यसबाट तनहुँका ४५ वटै गाउँ पञ्चायतमा योजना वितरण गर्नुपर्थ्यो । यस्ता योजनामा पाइप, जस्ता, सिमेन्टजस्ता निर्माण सामग्री किन्न जाँदा पञ्चहरूलाई धेरै फजिती हुन्थ्यो । त्यसैले उनीहरूको पनि रायअनुसार योजनाका लागि आवश्यक निर्माण सामग्री जिल्ला पञ्चायतले नै एकमुष्ट खरिद गरेर दिने निर्णय गरियो । यसो गर्दा गाउँ पञ्चायतहरूलाई सजिलो हुने, खर्च जोगिने र गुणस्तर पनि कायम हुने ठानिएको थियो । 

सामान खरिद गर्न गोप्य बोलपत्रमार्फत घटाघट गराउन सूचना प्रकाशित गरियो । तर, सबैले एउटैजस्तो दरभाउ राखेर बोलपत्र दिएछन् । एक एकवटालाई बोलाएर छलफल गरे घटाउन सक्छन् भन्ने सुझाव जानकारले दिए । त्यसरी नै बोलाउँदा उनीहरूले भने हामी ८ प्रतिशत कमिसन दिन सक्छौँ तर कारखानाले तोकेको भाउ घटाउन मिल्दैन । 

केही नलागेपछि हामीले भन्यौ - जिल्ला पञ्चायतको खातामा जम्मा गरिदेऊ । स्थानीय विकास अधिकारीले मलाई सुटुक्क भने - हजुरहरूले नदुखेको टाउको दुखाउने हुनुभयो !

जिल्ला सभा भयो । सभापतिको वक्तव्यमा निर्माण सामग्री खरिदको कमिसन जिल्ला सभा कोषमा जम्मा गरेको सगर्व उल्लेख गरियो । लागेको थियो जिल्ला सभासद्हरूले धन्यवाद देलान् । तर, जिल्ला पञ्चायतका कर्मचारी र पुराना सदस्यहरूलाई त्यसले घोचेछ । केहीले चर्को विरोध गरे । कमिसन यसभन्दा धेरै हुनुपर्छ पो भने । बाँकी पैसा खाएको आरोप पो लगाए ।

जिल्ला सभामा हो हल्ला भयो । स्थानीय विकास अधिकारीले मलाई हेरेर मुन्टो हल्लाए । देख्यौ त भने झैँ । अति भएपछि हाम्रा साथीहरू पनि बहसमा उत्रे । पहिलेदेखिकै छानबिन गर्ने भन्न थालेपछि सामसुम भयो । हामी चेत बाबा कासी ! 

अर्को वर्षदेखि जिल्ला पञ्चायतले पाइपजस्ता पनि किनेन । कमिसन पनि जम्मा गर्न परेन । 
सुन समातिएकै काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग र हामीमाथि ‘कमिसन लुकाएको’ आरोपमा समानता त नहोला नि ? भए नै पनि हामीले निर्माण सामग्री किन्नै बन्द गरेजस्तै त नहोला नि होइन ?   

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro