site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुध्रिएन भलिबल संघको लापरवाही
फाइल तस्बिर

काठमाडौं । नेपाल राष्ट्रिय भलिबल टोलीका निवर्तमान कप्तान हरिहजुर थापाले चीनमा हुने एसियन गेम्समा स्वास्थ्यका कारण आफूले नखेल्ने घोषणा गरे । गत साता काठमाडौंमा सम्पन्न सातौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा दर्शकमाथि अभद्र व्यवहार गरेका कारण उनलाई संघले कप्तानको जिम्मेवारीबाट मुक्त गरिदिएको थियो ।

हरिहजुरमात्र होइन, उनीसँगै धनबहादुर भट्ट, राजेन्द्र विष्ट र धनपति कुँवरलाई पनि नेपाल भलिबल संघले खेलबाट प्रतिबन्ध लगाएको छ । जसका कारण उनीहरू राष्ट्रिय टिममा पनि छैनन् ।  यहाँ राष्ट्रिय टिममा पर्नु नपर्नुको चर्चाभन्दा पनि एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा भएको घटनाको चर्चा गर्न लागिएको हो ।

नेपाल भलिबल संघ सक्रियताका हिसाबले अग्रपंक्तिमा नै पर्छ ।  तर, प्रतियोगिता आयोजना गर्दा हुनुपर्ने व्यवस्थापनमा भने संघ सधैँजसो चुक्दै आएको छ । संघमा अहिले नयाँ नेतृत्व आएको छ ।  नयाँ जोश, जाँगर छ । तर, काम गर्ने ढर्रा भने अझै पनि उस्तै छ, पुरानै शैली । संघको काम गर्ने शैलीमा कुनै परिवर्तन भएको छैन ।

संघको त्यही पुरानो काम गर्ने शैली र लापरवाहीका कारण उक्त प्रतियोगितामा निरन्तर विवादका घटना घटे । खेलाडी कोर्ट छाडेर दर्शकमाथि हातपात गर्न पुगे । त्यतिमात्र होइन समाचार संकलनका लागि गएका पत्रकारमाथि नै जाइलागे । त्यही घटनाक्रमलाई लिएर संघले तीन खेलाडीलाई प्रतिबन्ध लगाउनुका साथै कप्तानलाई पदबाट बर्खास्त गरेको छ ।

तर, त्यही खेल खेलाउने रेफ्री, प्रतियोगितामा स्वयंसेवकको जिम्मेवारी पाएको व्यक्ति तथा सुरक्षा व्यवस्थापनमा खटिएका व्यक्तिलाई भने कुनै कारबाही भएको छैन ।  यस्तो घटना घटेको यो पहिलोपटक होइन । यसअघि पनि प्रतियोगिताका दौरान विभिन्न विवाद हुँदै आएका छन् । 

जसका कारण क्लबका खेल पदाधिकारी कोर्टभित्र छिरेर रेफ्रीमाथि जाइलाग्नुका साथै नेटमा झुण्डिने, च्यात्ने जस्ता काम भएका थिए । अझै पनि भलिबल संघले प्रतियोगितामा आयोजना गर्दा सुधार गर्नुपर्ने व्यवस्थापन पक्षलाई चुस्त दुरुस्त बनाउन सकेको छैन । 

vollyball21690256461.jpg

एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमै पनि स्वयंसेवक र सुरक्षाकर्मीलाई राम्रोसँग परिचालन गरेको भए । त्यो घटना घट्ने सम्भावना कम हुन्थ्यो । तर, भलिबल संघले त्यसमा विचार गरेन । खेलाडीले दर्शकलाई कुटेको घटना भएको अर्को दिन पुनः खेलाडी पत्रकारमाथि जाइलागे ।

संघले पत्रकारका लागि छुट्याइएको स्थानमा राम्रोसँग ‘मिडियाको ब्यानर/प्लेट’ राखिदिएको भए त्यो घटना नहुन सक्थ्यो । तर, सानो सानो कुरामा संघले गरेको लापरवाहीका कारण सञ्चारकर्मीले तनाव झेल्नुपर्ने अवस्था सिर्जना भएको पत्रकार बताउँछन् ।

जसमा संघका महासचिव रोशन श्रेष्ठले गल्ती भएको स्वीकार गरेका छन् ।

“कसैले अनुशासनहीन काम गरेपछि केही एक्सन त लिनैपर्यो । त्यसकारण भलिबल संघले खेलाडीलाई कारबाही अघि बढाएको हो । यस विषयमा हाम्रो गम्भीर ध्यानाकषर्ण भएको छ,” भलिबल संघका महासचिव श्रेष्ठले भने, “अचानक घटना घट्छ । प्रशिक्षक र हामी आफै पनि खेलाडीलाई रोक्न खोज्दा पनि सकेनौँ । उनीहरू त्यति आवेगमा आए । अब यसमा अरुलाई के भन्ने ? कसलाई जिम्मेवार देखाउनु ? आयोजकको तर्फबाट सम्पूर्ण कुराको आफैँले जिम्मा लिन्छु । अब यस्तो कुरा नदोहोरिनका लागि हामी सचेत रहनुपर्छ ।”

प्रतियोगितामा भएको के थियो ?

असार २५ गते सोमबार गण्डकी प्रदेशविरुद्धको खेलका दौरान आर्मीका केही खेलाडी दर्शकदीर्घामा रहेका समर्थकलाई हातपात गर्न जाइलागेका थिए ।  दर्शकले अपशब्द बोलेको र पानीको बोतल प्रहार गरेको भन्दै आर्मीका खेलाडी अनुशासन र संयमता गुमाएर हातपातमा उत्रिए । आर्मीका धनबहादुर भट्टले त समर्थक बसेको स्थानमा पुगेर मुक्का बर्साउन पनि भ्याए । 

धन समर्थक बसेको स्थानमा पुगेर हातपात गर्दा खेलका दौरान सुरक्षा व्यवस्था चुस्त बनाउन खटिएका प्रहरी र संघले खटाएको स्वंयमसेवक मुकदर्शक जस्तै बने । उनीहरुले धनलाई रोक्न सकेनन् ।

धनको पछि–पछि राजेन्द्र बिष्ट पनि खेलाडी परिवर्तनको नम्बर बोर्ड बोकेर दर्शकदीर्घामा पुगेका थिए । उनीहरुलाई आर्मीका प्रशिक्षकलगायत अन्य अफिसियलले तानेर कोर्टमा ल्याएका थिए । यो झगडा साम्य बनाउन भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द्रसहित पदाधिकारी नै कोर्टमा आउनु परेको थियो । जसकारण खेल करिब आधा घण्टा रोकिएको थियो ।

“मलाई नाम त थाहा छैन । तर, जर्सी नम्बर ६ ले मुक्का प्रहार गरे र सिभिल ड्रेसमा रहेकी एक महिलाले लात्ता प्रहार गरिन् । बोतल हानेको रे भन्ने सुनेको हुँ । तर, मैले हानेको थिइनँ र हामीबाट कसैले पनि बोतल हानेका थिएनन् । तर, उनीहरु खेलाडी परिवर्तन गर्ने नम्बर बोर्ड बोकेर पिट्न आए,” आर्मीका खेलाडीबाट हातपातमा परेका रामजीप्रसाद डीसीले बाह्रखरीसँग भने ।

यो घटनाको दुई दिनपछि आर्मीका ब्लकर दुर्गा खड्काले आफूहरुबाट गल्ती भएको भन्दै माफी मागे । यसपछि असार ३० गते नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका आर्मीका हरिहजुर थापालाई भलिबल संघले पदबाट हटाउने निर्णय गर्यो । दर्शकलाई मुक्का प्रहार गरेका धनलाई ६ महिना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध गर्यो । र, धनलाई साथ दिएका राजेन्द्र बिष्ट र धनपति कुँवरलाई संघले समान तीन महिना खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

356597342_1245941722746881_3768379969270691608_n1690256478.jpg

संघका महासचिव रोशन श्रेष्ठका अनुसार उक्त दिन डीएसपीको कमान्डमा करिब १०० जना सुरक्षाकर्मी कभर्डहलमा खटिएका थिए । यसबाहेक, आयोजकले प्रतियोगिताका लागि खटाएका स्वयंमसेवक पनि थिए । तर, खेलाडीले उग्र रुप लिँदा कसैले पनि उनीहरुलाई नियन्त्रणमा लिन सकेनन् ।

हातपातमा उत्रिने खेलाडीलाई कारबाही गरेको संघले प्रतियोगिताको सुरक्षाको जिम्मेवारी पाएका सुरक्षा प्रमुखलाई भने कुनै कारबाही गरेको छैन । महासचिव श्रेष्ठ उक्त घटनामा आयोजक पनि व्यवस्थापनमा चुकेको स्वीकार्छन् ।

“हामी व्यवस्थापनका चुकेको स्वीकार गर्नुपर्छ । त्यसकारण हामीले अबदेखि संघले पनि सुरक्षाको अझ राम्रो व्यवस्था गर्नुपर्यो भन्ने कुरा ल्याएका छौँ । म्याचमा कति सर्पोटर छन्, कस्तो–कस्तो किसिमको सर्पोटर आउँछन् । खेलका दौरान बोतल हान्ने दर्शकहरुको निगरानी गरेर कुनै अप्रिय घटना हुन नदिनु आयोजकको जिम्मेवारी हो । तर, दर्शकहरुले पनि पालना गर्नुपर्ने कुराहरु हुन्छन् ।”

पत्रकार नै असुरक्षित

खेलाडीको यो बलजफ्ती प्रवृत्ति यहीँ रोकिएन । शनिबार फाइनलका दिन हेल्प नेपालका खेलाडी संघले तोकिदिएको प्रेस क्षेत्रमा बसेका पत्रकारमाथि नै जाइलागे । हेल्प नेपालका अमृत क्षेत्री प्रेस क्षेत्रमा रहेका खेलपाटीका फोटोपत्रकार विशाल पन्थमाथि हातपातका लागि पुगेका थिए । तर, प्रेस क्षेत्रमा रहेका अन्य पत्रकारहरु र नेपाल प्रहरीले अमृतलाई रोकेका थिए ।

किन पत्रकारमाथि जाइलागे अमृत ?

नेपाल पुलिस क्लब र हेल्प नेपालबीचको फाइनल खेल हेर्नका लागि अमृतका श्रीमती र छोरी पत्रकारका लागि छुट्याइएको मिडिया क्षेत्रमा बसेका थिए । खेलपाटीका पन्थले मिडियाकर्मीलाई बस्ने स्थान नपुगेको भन्दै उनीहरुलाई दर्शकदीर्घामा बस्न आग्रह गरे । योसबै कोर्टमा रहेका अमृतले नियालिरहेका थिए । आफ्नो श्रीमती र छोरीलाई उठाउन खोजिएको भन्दै उनी हानिएर पत्रकार भएतर्फ आए । र, पन्थलाई गुन्डागर्दी शैलीमा धम्की दिन लागे ।

अमृतले आएर ‘के निहुँ खोज्या हो ? त्यो मेरो बुढी हो, चिन्या छस् ?’ भन्दै धम्क्याएको पन्थ बताउँछन् । उनले सामाजिक सञ्जालमा एक लामो पोस्ट लेख्दै घटनाको विस्तृत जानकारी समेत दिएका छन् । तर, महासचिव श्रष्ेठ भने यो कुनै ‘इस्यू’ नभएको बताउँछन् ।

“स्थानको अभावका कारण त्यो कठिनाइ देखिएको हो । आयोजकको तर्फबाट मैले माफी मागिसकेँ । शनिबारको कुरामा लिएर हामीले सम्बन्धित सबै पक्षसँग छलफल गरिसकेका छौँ । यो कुनै इस्यू हैन । त्यो अब उठाइराख्नु पर्ने विषय हैन ।”
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro