काठमाडौं । नेपाली सिनेमाको बजार कत्रो हो ? अथवा नेपाली चलचित्र उद्योगका कतिवटासम्म सिनेमाले राम्रो व्यापार गर्न सक्छन् ? कतिसम्मको व्यापार सम्भव छ नेपाली बजारमा ? कुनै फर्मुला प्रयोग गरेर यसको जवाफ तथ्यांकमा त नआउला, तर बजार मापनको केही आधार होला ?
कलाकार तथा निर्माता दीपकराज गिरी सिनेमा स्वयंले बजार निर्धारण गर्ने बताउँछन् । देश र सिनेमा उद्योगअनुसार चलचित्रको बजार हुने उनको भनाइ छ । सिनेमा कल्चरले बजार निर्धारणमा प्रभाव पार्ने दीपक बताउँछन् ।
“कुनै पनि देशको सिनेमाको बजार कति छ भन्ने कुरा त्यो देशको सिनेमा कल्चर कस्तो छ, थिएटर, सिनेमासँगको त्यहाँका मानिसको सामीप्यताले अर्थ राख्छ,” दीपक भन्छन्, “सिनेमाले मान्छेलाई हलमा जाने बानी पारेको छ अथवा छैन, प्रत्येक देशअनुसार यो फरक हुन्छ । हरेका देशका नागरिकको सिनेमासँगको लगाव फरक छ ।”
जहाँ सिनेमासँग जति धेरै लगाव छ, त्यहाँका चलचित्रले त्यति नै बढी पैसा कमाउने दीपकको तर्क छ । “भारतमा पनि त्यहाँ प्रत्येक सिनेमा उद्योगअनुसार सिनेमाको बजार छ । बलिउडमा समग्रले ४ देखि ६ प्रतिशतले सिनेमा हेर्छन् होला, तर साउथमा ५० प्रतिशतले सिनेमा हेर्छन् । मराठीमा पनि ३०÷३५ प्रतिशत मानिसले सिनेमा हेर्छन्,” दीपक अगाडि थप्छन्, “सिनेमासँग आम नागरिक कसरी जोडिएका छन्, सिनेकर्मीले सिनेमा कल्चर विकास गर्न कस्तो भूमिका खेलेका छन् भन्ने कुराले सिनेमाको बजार निर्धारण हुन्छ ।”
उनका अनुसार नेपालमा राजेश हमाल, भुवन केसीका पालामा सिनेमा कल्चर राम्रो थियो । बीचमा त्यस्तो अवस्था रहेन । पछिल्लो समय सिनेमा कल्चर पुनः विकास हुने क्रममा रहेको उनी बताउँछन् ।
“दर्पण छायालगायत सिनेमा बन्ने समयमा फ्लप सिनेमाले पनि लगानी उठाउँथे । तर, त्यसपछि नेपाली सिनेमाका लागि निकै नराम्रो युग आयो । नेपाली सिनेमा हेर्ने र ! भनेर नाक खुम्च्याउने समय आयो । हिन्दी सिनेमा हेर्न लाइन लागेर जाने समय आयो,” दीपक भन्छन्, “तर, पछिल्लो पुस्ता सिनेमा मेकिङमा आएपछि विस्तारै सिनेमाको बजार फर्किन थालेको छ । नेपाली सिनेमाको बजार पनि राम्रो हुन थालेको छ । यो वर्षको बक्सअफिस रिपोर्ट हेर्ने हो भने पनि करिबकरिब नेपाली र हिन्दी सिनेमाको बजार उस्तैउस्तै देखिन्छ ।”
गएको आर्थिक वर्षमा नेपालमा ५७ स्वदेशी चलचित्र रिलिज गरिए । ती चलचित्रका २७ लाख १६ हजार २१७ थान टिकट बिक्री भएको थियो । त्यसबाट ७६ करोड ७२ लाख ५७ हजार रुपैयाँ ग्रस कलेक्सन भएको छ ।
गएको वर्ष नै नेपालमा ७८ विदेशी चलचित्र प्रदर्शन गरिए । ती सिनेमाका २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्री भएको थियो । त्यसबाट ७९ करोड ४३ लाख चार हजार रुपैयाँ ग्रस कलेक्सन भएको थियो । यो तथ्यांकानुसार नेपाली र हिन्दी सिनेमाको नेपाली बजारमा त्यति ठूलो अन्तर देखिँदैन ।
सिनेमाको बजार बढ्दै गए पनि हिमाली भेगमा हल नै नरहेको र तराईको ठूलो समुदायलाई नेपाली चलचित्रसँग जोड्नै नसकिएको दीपक बताउँछन् । यी भू–भागमा नेपाली सिनेमाप्रतिको लगाव बढाउन सके नेपाली चलचित्रको ठूलो बजार विस्तार हुने उनको धारणा छ । विकट पहाडी क्षेत्रमा पनि सिनेमा हलहरू नहुनु बजार खुम्चिनुको एउटा कारण भएको उनको ठहर छ ।
“नेपाली सिनेमाको बजार बढ्न त सक्छ, तर यसका लागि हामी सबैको संयुक्त प्रयास आवश्यक छ । मेरो वा रामबाबु गुरुङको मात्रै सिनेमा चलेर हुँदैन, धेरै मेकर र कलाकारको सिनेमा चल्नुपर्छ,” उनी अगाडि थप्छन्, “रामबाबुको सिनेमा हेर्न गए पनि राम्रो, दीपकको सिनेमा हेर्न गए पनि राम्रो, प्रदीप भट्टराईको सिनेमा हेर्न गए पनि राम्रो रहेछ भन्ने दर्शकमा हुनुपर्छ ।”
नेपालमा गुणस्तरीय सिनेमा बनाइन्छ भन्ने दर्शकमा विश्वास बढेपछि बजार पनि विस्तार हुँदै जाने उनको भनाइ छ ।
गएको आर्थिक वर्षमा नेपाली सिनेमाको ७६ करोड ७२ लाख ५७ हजार रुपैयाँको व्यापार भयो । सोही समयमा नेपालमा हिन्दी र अंग्रेजी सिनेमाले ७९ करोड ४३ लाख चार हजार रुपैयाँ ग्रस कलेक्सन गरे ।
“नेपाली सिनेमाले मनोरञ्जन दिन्छन्, नेपाली सिनेमा हेर्न जाँदा टिकटको पैसा खेर जाँदैन भन्ने जनविश्वास कायम गर्न सके बजार बढ्छ,” उनी भन्छन्, “नेपाली कल्चर भएका सिनेमा बनून्, जुन कुरा हिन्दी वा अरू सिनेमामा हेर्न नपाइयोस् । हाम्रो आफ्नो कथ्यशैली विकास गर्दै दर्शक थप्दै गएर सिनेमा कल्चर विकास गर्ने हो भने बजार आफैँ बढ्छ ।” यसका लागि कमेडी, लभ, एक्सनलगायत धेरै जानरामा स्तरीय सिनेमा बनाइनुपर्नेमा उनको जोड छ ।